स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री नवराज रावतले कर्णालीमा एक साताभित्रै कोभिड–१९ को परीक्षण गर्ने ल्याब मेशिन र दक्ष जनशक्ति पठाउने बताउनुभएको छ । चीनबाट खरिद गरी ल्याइएका मेडिकल सामग्री आज प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रलाई हस्तान्तरण गर्दै उहाँले ल्याब मेशिनको परीक्षण गरेर मात्र प्रदेशमा पठाइने बताउनुभयो ।
उहाँले मेशिन परीक्षण गर्नेवित्तिकै काठमाडौँबाट एम्बुलेन्समा पठाउने बताउनुभयो । कर्णालीमा कोरोना भाइरस जाँच गर्ने मेशिन नहुँदा यहाँ आशङ्कित बिरामीको ‘थ्रोट स्वाब’ काठमाडौँ पठाउनुपर्ने बाध्यता छ । राज्यमन्त्री रावतले कर्णालीका लागि आएको मेशिन अन्य प्रदेशका अस्पतालमा नजानेमा ढुक्क हुन आग्रह गर्दै भन्नुभयो, “कर्णालीका लागि आएको मेशिन अन्यत्र जाँदैन, यही साताभित्र दक्ष जनशक्ति मेशिन आइपुग्छ ।”
नेपाल सरकारले चीनबाट खरिद गरी ल्याएका मेडिकल उपकरण सेनाको स्काइ ट्रकमार्फत सुर्खेत ल्याइएको थियो । सुर्खेत विमानस्थलमा राज्यमन्त्री रावतले सामाजिक विकासमन्त्री दल रावलको रोहबरमा प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रलाई गाउन एक हजार, एन ९५ मास्क ४८० थान, आइआर थर्मामिटर १० थान, पञ्जा २० हजार थान र सर्जिकल मास्क १० हजार थान हस्तान्तरण गर्नुभयो । सामाजिक विकासमन्त्री रावलले कोरोना भाइरसको महामारी भित्रिन नदिन प्रदेश सरकारले सतर्कता अपनाइरहेको बताउनुभयो ।
विपद् कोषमा रु १२ लाख सहयोग
कर्णाली प्रदेश सरकारद्वारा कोभिड–१९ को प्रतिकार्य, रोकथाम तथा नियन्त्रणका लागि स्थापित प्रदेश विपद् व्यवस्थापन कोषमा रु १२ लाख ५० हजार सहयोग भएको छ । प्रदेश सरकारको उक्त कोषमा सिटिजन बैंक सुर्खेतले रु सात लाख र नेपाल मगर समुदायद्वारा सुर्खेतमा सञ्चालित संस्थाले रु पाँच लाख ५० हजार सहयोग गरेका हुन् ।
सिटिजन बैंक शाखा सुर्खेतका प्रबन्धक प्रकाश महतले रु सात लाख र मगर समुदायद्वारा सञ्चालित संस्थाको प्रतिनिधित्व गर्दै सचिव गाहाले रु पाँच लाख ५० हजारको चेक कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीलाई हस्तान्तरण गर्नुभएको थियो । रासस