चैत ६ गते कुवेतबाट काठमाडौंकी कोरोना संक्रमित युवतीसँग आएकी दाङकी एक युवतीसहित पाँच जनाको परीक्षण रिपोर्ट नेगेटिभ आएको छ।
दाङको बबई गाउँपालिका निवासी १९ वर्षीया एक युवतीसहित थप चार जनाको परीक्षण रिपोर्ट नेगेटिभ आएको तुलसीपुरस्थित बेलझुण्डी कोरोना विशेष अस्पतालका सदस्य सचिव डा. सर्वेश शर्माले सेतोपाटीलाई जानकारी दिए।
कोरोना विशेष अस्पतालको आइसोलेसनमा उपचाररतः थप एकजनाको भने रिपोर्ट आउन बाँकी रहेको शर्माले बताए।
‘थप एकजनाको रिपोर्ट आज बेलुका सम्म आउँछ कि भन्ने आशा छ,’ शर्माले भने ‘ नेगेटिभ रिपोर्ट आएका पाँच जनालाई भने आजै डिस्चार्ज गरिने छ।’
उनले डिस्चार्ज गरिएपनि उनीहरुलाई घरमा अझैं एक डेढ हप्ता क्वारेन्टाइनमा बस्न सुझाव दिइने जानकारी दिए।
कोराना भाइरसको आशंका गरिएका र बेलझुण्डी अस्पतालको आइसोलेसनमा उपचाररतः सबैको नमुना संकलन गरि स्वाब परीक्षणको लागि काठमाडौंस्थित राष्ट्रिय जन स्वास्थ्य प्रयोगशाला टेकुमा पठाइएको थियो।
पाँच जनाको रिपोर्ट आइतबार बेलुका अबेर आएको भएपनि थप एकजनाको परीक्षण रिपोर्ट भने प्राप्त भइनसकेको डा. शर्माले जानकारी दिए।
बेलझुण्डी अस्पतालको आइसोलेनमा बस्दै आएका ६ जना सबै भारत लगायतका देशहरुबाट आएका मानिसहरु रहेको शर्माले बताए।
बेलझुण्डी स्थित कोरोना विशेष अस्पतालमा सोमवारसम्म ११ जना आइसोलेनसमा बस्दै आएको तुलसीपुर उपमहानगरपालिका स्वास्थ्य महाशाखाका उपसंयोजक विमल केसीले जानकारी दिए।
परीक्षण रिपोर्ट नेगेटिभ आएका पाँच जनाको अवस्था हेरेर सोमवार डिस्चार्ज गर्ने कुरा भइरहेको हुँदा अब बेलझुण्डीमा थप ६ जना मात्रै रहने उनले बताए।
अब त्यहाँ रहने मध्ये ६ जना विरामीहरु दाङको देउखुरी क्षेत्र र धर्ना गाउँका भएको केसीले जानकारी दिए।
उनीहरु सबै छिमेकी देश भारतबाट आएका र सामान्य विरामी अवस्थामा रहेको हुँदा आइसोलेसनमा बस्दै आएको केसीले बताए।