चन्द्रकला भण्डारी भद्रपुर
झापाको भद्रपुरमा निजी क्षेत्रबाट सञ्चालित ओमसाई पाथिभरा अस्पतालमा मिर्गौलाका २० बिरामीले नियमित डाइलासिस सेवा लिइरहेका छन् । जेनरल वार्डमा थप ३० बिरामीको उपचार भइरहेको छ । जसमध्ये चार आइसीयूमा भर्ना छन् । चिकित्सक र अन्य स्वास्थ्यकर्मी भने प्लास्टिकको सेतो रेनकोटलाई व्यक्तिगत सुरक्षा उपकरण (पिपीइ)को रूपमा उपयोग गर्दै बिरामीको उपचारमा खटिन बाध्य छन् ।
अस्पतालका निर्देशक बालकुमार पोखरेल व्यक्तिगत सुरक्षाको भरपर्दो व्यवस्थाको अभावमै चिकित्सक र नर्सहरुले कोभिड–१९ सङ्क्रमणको जोखिम मोलेर विरामीको सेवा गरिरहेको बताउनुहुन्छ । सय बेडको सो अस्पतालमा १० वटा आइसियु र दुईवटा भेन्टिलेटर रहेको छ ।
“बजारबाट शुरुमै १५ सेतो रेनकोट ल्याएका थियौँ, त्यसैलाई पिपीइ ठानेर काम चलाइरहेका छौँ”, व्यक्तिगत सुरक्षाका सामग्रीको अभाव खट्किएको बताउँदै अस्पतालका निर्देशक पोखरेल भन्नुहुन्छ, “पिपीइ र ग्लोब्स बजारमा पाइँदैन, सरकारले दिन सकेको छैन ।” उहाँले अत्यावश्यक औषधि र सामानको अभावमा निःशुल्क डाइलासिस सेवासमेत प्रभावित हुने समस्या दर्शाउनुभएको छ । अब सातामा दुईपटक डाइलासिस सेवा पाइरहेकालाई एकपटक मु्स्किलले दिन सकिने अवस्था उत्पन्न भएको उहाँले बताउनुभयो ।
नेपालमा समेत कोभिड–१९ सङ्क्रमण फैलिएपछि झापाका सबै अस्पतालमा रोकथाम र निसङ्क्रमणका लागि सावधानी अपनाउन थालिएको हो । अस्पतालका कर्मचारीले प्रवेशद्वारमै बिरामीको अवस्था र समस्याका बारेमा सामान्य सोधपुछ गर्न थालेका छन् । तर, अस्पतालले इमर्जेन्सी बिरामी भर्ना लिने र उपचार गर्ने क्रम सतर्कतापूर्वक जारी राखेका छन् ।
विर्तामोडको ८०० श्ययाको सुविधासम्पन्न बीएण्डसी टिचिङ अस्पतालमा बिरामीबाहेकका आफन्त र सवारी चालकलाई अस्पताल प्रवेशस्थलमै निसङ्क्रमणका लागि हात धुन लगाउने वा स्यानिटाइजर प्रयोग गर्न लगाउने अनिवार्य व्यवस्था मिलाइएको छ । “हामीकहाँ अहिले सामान्य वार्डमा १०५ जना बिरामी भर्ना छन्”, बीएण्डसी अस्पतालका जनसम्पर्क अधिकृत प्रमिश गिरीले रासससँग भन्नुभयाmे “आईसीयूमा १५ र सघन उपचारकक्षमा १० जनाको उपचार भइरहेको छ । हाडजोर्नी, न्यूरो र गाइनोको शल्यक्रिया पनि चालू छ ।”
कोरोना भाइरसबाट सङ्क्रमित बिरामीलाई छुँदा र उपचार गर्दा सावधानी अपनाउन सकिएन भने स्वास्थ्यकर्मीलाई नै सबैभन्दा पहिला सङ्क्रमण हुने भएकाले व्यक्तिगत सुरक्षा सामान (पिपीइ)को अविलम्ब पर्याप्त व्यवस्था गरिनुपर्ने बीएण्डसी अस्पतालमा कार्यरत डा लक्ष्मण ठाकुरले बताउनुभयो ।
अस्पतालले उच्च ज्वरो आएका बिरामीलाई ढोकाबाटै फर्काउन थालेको गुनासो सामाजिक सञ्जालमा फैलिन थालेको छ । तर, अस्पतालहरुले बिरामी फर्काएको नभएर आफूसँग सम्बन्धित विषयविज्ञ चिकित्सक नहँुदा अर्को अस्पतालमा लैजान सुझाव दिएको बताउँछन् ।
विर्तामोडको मनमोहन सामुदायिक अस्पतालले गाइनो, अर्थोपेडिक, इमर्जेन्सी र सामान्य बिरामीलाई लकडाउनका बेला निर्वाध सेवा प्रदान गरिरहेको जनाएको छ । अस्पतालका निर्देशक रोमणि भट्टराईले आइसीयूमा एक गरी २० बिरामी भर्ना गरेर उपचार भइरहेको बताउनुभयो ।
सय श्ययाको सो अस्पतालमा सात सघन उपचारकक्ष, दुई भेन्टिलेटर र तीन अति सघन उपचारकक्ष (एनआइसीयू) रहेका छन् । “लकडाउन भएको सङ्कटको अवस्थामा उपचार सेवा रोकेका छैनौँ”, मनमोहन अस्पतालका निर्देशक भट्टराई भन्नुहुन्छ, “व्यक्तिगत सुरक्षाका सामग्री नभएका कारण स्वास्थ्यकर्मी डराउँदै काम गरिरहनुभएको छ ।” आफँैले बनाएका ४० पिपीइ स्वास्थ्यकर्मीलाई प्रयोग गर्न दिइए पनि त्यस्ता सामग्री कतिको भरपर्दो हुन् भन्नेमा प्रश्न उठिरहेको उहाँ बताउनुहुन्छ ।
ढोका खुला राख्दा ज्वरो (तापक्रम) ननापी ह्वारह्वार्ती मानिस प्रवेश गर्ने भएको हुँदा कोभिड–१९ को त्रास फैलिएदेखि नै अस्पतालले मुख्य प्रवेशद्वारमा हात धुने र स्यानिटाइजर हातमा दलेर मात्र बिरामीका आफन्तलाई भित्र जान दिने व्यवस्था मिलाएको उहाँले बताउनुभयो । ठूलो जोखिम मोलेर स्वास्थ्यकर्मीले सङ्कटका बेला सेवा दिइरहेको उहाँको भनाइ छ ।
सरकारले जाँच्ने किट र पिपीइ उपलब्ध गराएमा आफ्नो अस्पताल कोरोना भाइरसको उपचार गर्न सक्षम रहेको उहाँले दाबी गर्नुभयो ।
झापाको बीएण्डसी अस्पतालले कोरोना भाइरसको उपचारका लागि सरकारलाई अस्पताल नै दिन तयार रहेको घोषणा गरिसकेको छ । तर, अस्पतालमा हाल पिपीइ, ग्लोब्स र मास्ककै समेत अभाव छ । “कोभिड–१९ जाँच्ने किट र व्यक्तिगत सुरक्षाका लागि पिपीइ सरकारले दिए हामी कोरोना भाइरस सङ्क्रमण भएको हो कि होइन भन्ने जाँच गर्न र कोरोनाका बिरामीको उपचार गर्न तयार छौँ”, बीएण्डसी अस्पतालका मेडिकल डाइरेक्टर निराजन पराजुलीले बताउनुभयो ।
प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले स्थानीय अस्पतालबाट पिपीइ, ग्लोब्स र मास्कको अभाव हुँदाहुँदै उपचार सेवा प्रदान भइरहेको बताउनुभयो । उहाँले अस्पताललाई ढोका बन्द नगर्न, ओपिडीबाहेकका उपचार सेवा नरोक्न र उपचारका लागि आउने बिरामीलाई नफर्काउन निर्देशन दिँदै व्यक्तिगत सुरक्षा सामग्री (पिपीइ)को बन्दोबस्तका लागि पहल भइरहेको जानकारी दिनुभयो ।रासस