नेपालमा कोरोना बिरुद्धको अभियान आज मंगलबारदेखि लकडाउन सुरु भएको छ ।
विशेषतः लकडाउन मानिस आवतजावत रोक्नका लागि गर्ने व्यवस्था हो । यो कफ्र्यु होइन, कफ्र्यु भने सुरक्षा चुनौतीका लागू गर्ने व्यवस्था हो । लकडाउन आमसर्वसाधारणको स्वास्थ्यलाई ध्यानमा राखेर लागू गरिएकाले यो उल्लंघन नगर्न सरकारले आव्हान समेत गरेको छ ।
संक्रामक रोग ऐन, २०२० अनुसार केन्द्रीय सरकार तथा प्रदेश सरकारले लकडाउनको निर्णय गरेको हो । हाल सोही ऐनअनुसार लकडाउनको निर्णय भएको हो ।
लकडाउनको अवस्थामा औषधि तथा खाद्य सामग्री किन्नसमेत दिने निर्णय गरिएको छ । निश्चित समयमा खाद्यान्न तथा तरकारी पसलसमेत चलाउन दिने सरकारको निर्णय छ । लकडाउनमा कफ्र्युमा भन्दा केही लचकता हुन्छ । अत्यावश्यक सेवाका सवारीसाधन भने दुवै अवस्थामा अनुमति लिएर सञ्चालन हुन पाउँछन् ।
अत्यावश्यक सेवाको क्षेत्रमा काम गर्नेले सवारीसाधन प्रयोग गर्न पाउनेछन् । जसमा स्वास्थ्य, सुरक्षाका सवारीसाधन सञ्चालन हुन पाउँछन् । खाद्य वस्तु, खानेपानी, दूध, विद्युत्, दूरसञ्चार, सूचना तथा सञ्चार, भन्सार, क्वारेन्टाइन तथा फोहोरमैलाका कर्मचारी काममा जान पाउनेछन् । अत्यावश्यक सेवामा आबद्ध अन्य सरकारी कार्यालयसमेत खुल्नेछन् ।
उद्योगअन्तर्गत औषधि तथा स्वास्थ्य उपकरण, खाद्यवस्तु, खानेपानी, दूध र इन्धनसम्बन्धी उद्योग सञ्चालन हुनेछन् । संक्रामक रोग ऐन, २०२० अनुसार नियम उल्लंघन गरे ६ महिनासम्म कैद हुन सक्छ ।