साउदी अरबमा कोरोना भाईरसको प्रभाव तिब्र रुपमा बढ्दै गएपछी साउदी सरकारले कमदारका हितमा केही महत्वपूर्ण बिषयबस्तुमा बिज्ञप्ति जारी गर्दै जानकारी गराएको छ।जसनुसार निम्न बिषयबस्तुहरु रहेका छन।
१. साउदी अरबको मानव साधन तथा सामाजिक विकास मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै साउदी अरबको कानूनले कर्मचारी तथा कामदारहरुलाई उनीहरुको सहमति वेगर वेतलवी विदा दिन नमिल्ने जनाएको छ । कोरोना भाइरसको संक्रमणको परिस्थितिले कामदारहरुले नियमित तरिकाबाट काम गर्ने अवस्था नभएका कारण कम्पनी तथा फर्महरुले वैकल्पिक उपायबाट काममा लगाइ काम सम्पन्न गर्न सक्ने उल्लेख गरेको छ । यसका लागि मन्त्रालयले आवश्यक गाइडलाइनहरु तयार गरी मन्त्रालयको वेभसाइटमा राखिसकेको जनाएको छ । साउदी कानूनमा भएको व्यवस्था पालना गर्न सबै निजी कम्पनी तथा फर्महरुलाई साउदी सरकारले अनुरोध गरेको साउदी प्रेस एजेन्सीले उल्लेख गरेको छ । साउदी श्रम कानूनको अवज्ञा गरी कामदारको इच्छा विपरित विना पारिश्रमिक विदा बस्न वाध्य बनाइएमा सोको उजुरी स्मार्ट फोन भएकाहरूले Ma3an lil Rsd एपमा र अन्य फोन भएकाले १९९११ नम्वरमा गर्न सकिने छ ।
तसर्थ, यहांहरु कार्यरत कम्पनी वा फर्मले यहांहरूको सहमति वेगर वेतलवी विदामा राख्न खोजेको वा राखिसकेको आदि छ भने साउदी सरकारले उपलव्ध गराएको संयन्त्रमा उजुरी गर्नुहुन अनुरोध छ । यसरी यहांहरुले गरेको उजुरीको प्रति यस राजदूतावासको हटलाइन (०५५९३८९६००) मा WhatsApp गरी पठाउनुहुन अनुरोध छ । उजुरीका सम्बन्धमा राजदूतावासले यहांका सम्बन्धित कार्यालयहरुसंग समन्वय गरी समस्या समाधानको पहल गर्नेछ ।
२. साउदी सरकारले कोरोना भाइरसका कारण विभिन्न हिसाबले प्रभावित भएका रोजगारदाता तथा श्रमिकहरुका लागि केही सुविधाका कार्यक्रम ल्याएको छ ।
• साउदी सरकारले आप्रवासी कामदारको आवागमनमा रोकलगाएको मिति देखि ३ महिना सम्मको Work Visa का लागि तिरेको शुल्क रोजगारदातालाई फिर्ता दिने । तसर्थ, रोजगारदाताले कामदारबाट यो अवधिको भीसा शुल्क भनेर कुनै लिन पाउने छैनन् । यसो गरेमा रोजगारदातालाई सरकारले कार्यवाही गर्नेभएकाले कुनै रोजगारदाताले यहांहरुसंग भीसाको शुल्क लिने प्रयास गरेका छन् भने उजुरी गर्नुहोला । राहदानीमा भीसा छाप हानेको छ भने पनि यो अवधि गणना हुने छैन ।
• Exit र Re-entry भीसा लागेका तर आवागमन बन्द भएका कारण प्रयोग नभएका भीसाहरु ३ महिनाको यो अवधिका लागि विना कुनै शुल्क म्याद थप हुने छन् ।
• अकामाको अवधि सकिएका Expatriate हरुले तिर्दै आएको लेभी ३ महिनासम्मका लागि माफ गर्ने एवं अकामा निशुल्क नवीकरण हुनेछ ।
३. कोरोना भाइरसको संक्रमण साउदी अरबमा हरेक दिन बढिरहेको छ । हिजो मिति २०७६।१२।७ (२० मार्च २०२०) का दिन मात्र ७१ जना व्यक्तिमा यो संक्रमण भेटिएको छ । यस मध्ये राजधानी रियाद क्षेत्रमा मात्र ४९ जनामा संक्रमण पाइएको छ । यो संगै साउदी अरबमा यो भाइरसबाट संक्रमितहरुको संख्या ३९२ पुगेको छ ।
४. सामाजिक भेटघाट, विवाह पार्टी, मृत्युभएका स्थानका जमघट, साथिभाइका जमघट, उपभोगका सामाग्री खरीदका समय, अस्पताल र पारिवारिक जमघटहरुका समयमा यो भाइरसको संक्रमण बढी पाइएको साउदी प्रेसले जनाएको छ । अस्पतालका एक जना कर्मचारीमा पनि यो संक्रमण भेटिएको उल्लेख छ । तसर्थ हरेक अवस्थामा सजगता अपनाउनुहुन साउदी अरबमा रहनुभएका नेपाली दाजुभाइ तथा दिदी बहिनीहरुमा अनुरोध छ । साथै, कोरोना संक्रमणका यी जोखिमपूर्ण जमघटहरु नगर्न यहांहरुले नेपालमा भएका आफ्ना प्रीयजनहरु, छरछिमेक तथा साथिभाइलाई पनि सचेत गराइ कोरोना भाइरसको संक्रमण नियन्त्रणमा नेपाल सरकारको व्यापक अभियानमा मद्यत गरिदिनुहुन अनुरोध छ ।
-------------------------
नेपाली राजदूतावास, रियाद ।
२०७६।१२।८
नेपाली राजदुताबास रियादद्वारा जारी बिज्ञप्ति जस्ताको तस्तै: