प्रधानमन्त्री केपी शर्मा ओलीले उच्च मनोबल र आपसी एकताले कोरोना भाइरसको महामारीलाई रोक्न आह्वान गर्नुभएको छ ।
विश्वव्यापीरुपमा फैलिएको कोभिड–१९ र त्यसविरुद्ध नेपाल सरकारले चालेका कदम र सचेतनाबारे आज साँझ राष्ट्रका नाममा सम्बोधन गर्दै देशमा सङ्क्रमण भित्रिन नदिने, सचेतना जगाउने, निगरानी र क्वारेन्टाइनको प्रबन्ध मिलाउने र सङ्क्रमितको उपचारको व्यवस्था मिलाउने रणनीति लिई सरकारले शुरुको अवस्थाबाट नै विशेष तयारी गर्दै आएको पनि जानकारी गराउनुभयो ।
उक्त सम्बोधनको पूर्ण पाठ ः
आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू,
आज म आफ्नो स्वास्थ्यको बारेमा होइन, जनस्वास्थ्यको बारेमा विमर्श गर्न तपार्इंहरुसामु उपस्थिति भएको छु । अहिले यतिखेर कोरोना भाइरसको महामारीबाट उत्पन्न जटिल अवस्थाको कारण सिङ्गो विश्व, इतिहासकै सर्वाधिक कठिन मोडबाट गुज्रिरहेको छ । विश्वका अधिकांश मुलुकहरू यस महामारीको सङ्क्रमणबाट आक्रान्त भएका छन् । सुखद पक्ष, अहिलेसम्म यस सङ्क्रमणको प्रत्यक्ष प्रभाव हाम्रो देश नेपालमा देखिएको छैन । तर हामी पनि यस जोखिमबाट ढुक्क हुने अवस्थामा भने छैनौँ ।
नागरिकको स्वास्थ्य र सुरक्षालाई मैले सधैँ उच्च प्राथमिकतामा राखेको छु । कोरोना भाइरस सङ्क्रमणको सम्भावित जोखिम र यसबाट उत्पन्न हुनसक्ने प्रभावका बारेमा चिन्तित रहेकाले प्रारम्भदेखि नै स्पष्ट कार्ययोजना बनाई काम गर्न मैले निर्देशन दिँदै आएको छु । देशमा सङ्क्रमण भित्रिन नदिने, सचेतना जगाउने, निगरानी र क्वारेन्टाइनको प्रबन्ध मिलाउने र सङ्क्रमितको उपचारको व्यवस्था मिलाउने रणनीति लिई सरकारले शुरुको अवस्थाबाट नै विशेष तयारी गर्दै आएको छ । यस क्रममा मेरै नेतृत्वमा पाँचवटा तयारी बैठकहरु सम्पन्न गरी छिमेकी चीनको उहान शहरबाट विद्यार्थीहरुको उद्धार र क्वारेन्टाइनको व्यवस्था गरिएको सबैलाई जानकारी नै छ ।
दोस्रोपटक मिर्गौला प्रत्यारोपणका लागि अस्पताल जानुअघि मैले, मेरो अनुपस्थितिमा कार्य गर्न उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा उच्चस्तरीय निर्देशक समिति बनाई समस्या समाधानको नीतिगत नेतृत्व गर्ने व्यवस्था मिलाएको थिएँ । साथै, मुख्यसचिवको नेतृत्वमा रहेको कार्यान्वयन समितिमार्फत गरिएका निर्णयहरु कार्यान्वयन गर्ने व्यवस्था पनि मिलाएको थिएँ । यिनै संयन्त्रमार्फत सरकारले प्रदेश सरकार र स्थानीय तहसँग समेत समन्वय गरी आफ्ना प्रयासहरू एकीकृत ढङ्गबाट अगाडि बढाउँदै आएको छ ।
दिदीबहिनी तथा दाजुभाइहरु,
महामारीसँग जुध्न सजिलो छैन । हामीले केही समयका लागि आफ्ना व्यवहार र दैनिकीमा परिवर्तन गर्न जरुरी भएको छ । यसले जनजीवनमा केही असहजता ल्याउन सक्छ, हाम्रा आनीबानी र दैनिक व्यवहारलाई असर पार्न सक्छ । तर सम्भावित सङ्क्रमणलाई परास्त गर्न हामीसँग यसबाहेक अर्को विकल्प पनि छैन । तसर्थः तपार्इंहरुले भरोसा गर्नुभएको प्रधानमन्त्रीको हैसियतले म आग्रह गर्दछु–
ड्ड सरसफाइमा उचित ध्यान दिनुहोस् साबुन पानीले पटकपटक हात धुने र स्यानिटाइजर प्रयोग गर्ने गर्नुहोस् ।
ड्ड भीडभाडबाट टाढै रहनु होस् ।
ड्ड सकेसम्म घरमै बस्नुहोस् ।
ड्ड अत्यावश्यक वस्तुको अधिक सञ्चय नगर्नु होस् ।
ड्ड हल्ला र अफवाहहरूबाट भ्रमित र प्रभावित नहुनुहोस् ।
ड्ड चिकित्सक, विज्ञ तथा प्राविधिकहरुको सल्लाहलाई पालना गर्नुहोस् ।
ड्ड धैर्यवान् हुनुहोस् र संयमता अपनाउनुहोस् र
ड्ड सावधान हुनुहोस् तर आतङ्कित नहुनुहोस् ।
सङ्क्रमित मुलुकबाट नेपाल आएका सबैले आफू बच्न, आफ्नो परिवारलाई बचाउन र समुदायलाई सङ्क्रमणबाट जोगाउन कम्तीमा १४ दिन घरमा क्वारेन्टाइनमा बस्नुपर्छ । सबै दिदीबहिनी तथा दाजुभाइहरुले यस अप्ठ्यारो घडीमा जिम्मेवार नागरिकको भूमिका निर्वाह गर्नुहुनेछ भन्ने मैले विश्वास लिएको छु ।
सङ्क्रमणको रोकथाम, नियन्त्रण र उपचारका लागि सरकारले कुनै कसर बाँकी राख्ने छैन । यसका लागि देशभरका अस्पतालबाट सेवा प्रदान गर्ने, पर्याप्त औषधि र उपकरणको प्रबन्ध गर्ने, आवश्यक जनशक्तिको व्यवस्था गर्ने कार्यलाई उच्च प्राथमिकतामा राखिएको छ । यस कार्यमा प्रत्यक्षरूपमा संलग्न रहने चिकित्सक, नर्स, स्वास्थ्यकर्मी र सुरक्षा निकायलगायत जनशक्तिलाई उचित प्रोत्साहनसहित उच्च मनोबलका साथ परिचालन गर्ने व्यवस्था मिलाइएको छ ।
विद्युतीय माध्यमबाट प्रवाह गर्न सम्भव हुने निजी क्षेत्रका सेवाहरू सम्बन्धित कर्मचारी र सेवा प्रदायकले घरबाटै प्रदान गर्न प्रोत्साहित गरिनेछ । तर सबै सरकारी कर्मचारीहरू र अत्यावश्यक सेवामा कार्यरत निजी क्षेत्रका समेत कर्मचारीहरूले यथावत् रूपमा आ–आफ्नो कार्यालयमा उपस्थित भई नियमित कामकाज गर्नुहुनेछ ।
सार्वजनिक सेवा प्रवाहका लागि आवश्यक पर्ने निजीसहित सबै प्रकारका सवारीसाधनहरू आवश्यकताअनुसार सञ्चालन गर्ने व्यवस्था मिलाइएको छ ।
निजी क्षेत्र समेतको सहयोगमा खाद्यान्नलगायत अत्यावश्यक उपभोग्य सामग्रीको नियमित आपूर्ति हुने व्यवस्था मिलाइएको छ । तर अप्ठ्यारो समयको फाइदा उठाउँदै कृत्रिम अभाव सिर्जना गर्ने, जम्माखोरी तथा कालोबजारी गर्ने, खाद्यवस्तुमा मिसावट गर्ने जस्ता आपराधिक काममा कोही संलग्न भएको पाइएमा प्रचलित कानूनबमोजिम कडाभन्दा कडा कारवाहीसमेत गरिने स्पष्ट पार्दछु, ।
विश्वव्यापी यो महामारीले समग्र अर्थव्यवस्थामा पारेको असरका सम्बन्धमा अर्थ मन्त्रालयले सूक्ष्म अध्ययन गरिरहेको छ । अर्थव्यवस्थामा परेको र पर्नसक्ने प्रभावको विश्लेषण गरी अर्थतन्त्रमा सङ्कुचन आउन नदिन सरकारले छिट्टै उपयुक्त कार्यक्रमहरू ल्याउने नै छ । उद्यमी तथा श्रमजीवी– श्रमको संसारका सबै सहयात्रीहरुमा यस महामारीले सिर्जना गर्नसक्ने प्रतिकूलताप्रति सरकार संवेदनशील छ र त्यसलाई संबोधन गर्ने नै छ ।
दिदीबहिनी तथा दाजुभाइहरु,