गत वर्षमा चिल्ला सडक खोज्नुपर्ने अवस्था रहेको काठमाडौँ उपत्यकामा बिस्तारै खाल्डाखुल्डी हट्दै छन् । उपत्यकामा विस्तारका क्रममा रहेका सडकबाहेक अन्यत्र खाल्डाखुल्डी कम मात्रै देखिन थालेको छ ।
गत साता सोह्रखुट्टे–बालाजु सडकखण्डमा कालोपत्र थप्ने काम (ओभरले) भएको थियो । गत साता नै ललितपुरको पुल्चोकलगायत स्थानमा आवधिक मर्मतको काम भएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनानुसार उपत्यकाका तीनै जिल्लामा खाल्डा पुर्ने र ‘ओभर ले’ को काम अघि बढेको हो ।
मन्त्रालयको जिम्मेवारी सम्हालेसँगै भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले उपत्यकाका सडक खाल्डा पुर्ने कामलाई विशेष ध्यान दिनुभएको देखिन्छ ।
गत वर्ष जेठको अन्तिम वा असार महिनामा हतारमा सडकमा काम हुने देख्दै आएका उपत्यकावासी पनि अहिले दोस्रो चौमासिकमा भएको काम देखेर अचम्ममा पर्न थालेका छन् ।
काठमाडौँ जिल्लामा अहिलेसम्म झण्डै २० किलोमिटर सडकमा कालोपत्र थप्ने काम सकिएको छ । आवधिक मर्मतअन्तर्गत उपत्यकाका मुख्य र भित्री भागका सडकमा गरी कालोपत्र भइरहेको छ ।
यस वर्ष ४१ किमी सडकमा कालोपत्र थप्ने योजनानुसार झण्डै ५० प्रतिशत काम सम्पन्न भएको डिभिजन सडक कार्यालय काठमाडौँले जनाएको छ ।
कुनै पनि सडकको आयु सीमित वर्ष मात्रै हुने भएकाले सडकमा यस किसिमको मर्मत गर्नुपर्ने डिभिजन प्रमुख कुबेर नेपालीले बताउनुभयो । आमनागरिकले खाल्डा नभएको सडकमा मर्मत गरेको भनेर गलतरूपमा बुझ्ने गरेको उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, “सडकमा खाल्डा पुर्नुभन्दा पहिले नै सम्भावित स्थानमा कालोपत्र एक दिनपहिले हुँदा पनि धेरै रकम बचाउन सकिन्छ ।”
डिभिजनले उपत्यकाका मुख्य र सहायक सडकमा गरी आवधिक मर्मत गरिरहेको छ । ‘ओभर ले’ र खाल्डा पुर्ने काम यही महिनाको अन्त्यसम्ममा सम्पन्न गर्ने लक्ष्य लिइएको प्रमुख नेपालीले बताउनुभयो । उपत्यकाका तीनै जिल्लामा एकैपटकमा मर्मतको काम भइरहेकाले आवश्यक सामग्री पनि पर्याप्त नहुने उहाँले बताउनुभयो ।
काठमाडौँ जिल्लामा मुख्य र कतिपय सहायक सडकमा पनि सवारीसाधनको चापका कारण काम गर्ने अवस्था छैन । रातमा काम गर्दा बढी लगानी लाग्ने भए पनि यही समयमा काम गर्नुपर्ने बाध्यता छ ।
उहाँले भन्नुभयो, “कतिपय स्थानमा रातमा समेत सवारीसाधनको चाप हुँदा एकातर्फ काम गर्ने र एकातर्फ सवारीसाधन चल्न दिइने गरिएको छ ।”
काठमाडौँ उपत्यकाका खाल्डाखुल्डीमा यस वर्ष प्रधानमन्त्रीदेखि विषयगत मन्त्रालयले समेत चासो देखाएको पाइन्छ । प्रधानमन्त्रीका विकास समन्वय सल्लाहकार गजेन्द्र थपलियाले दैनिक काम भइरहेका सडक पुगेर अनुगमन गर्दै आउनुभएको छ ।
मन्त्री नेम्वाङ, सचिव देवेन्द्र कार्की र सडक विभागका महानिर्देशक केशवकुमार शर्मा विभिन्न सडकमा पुगेर अनुगमन गर्दै आउनुभएको छ ।