अच्युत रेग्मी काठमाडौँ
सरकारले उपत्यकाका सबै मोटरबाटो चाँडो कालोपत्र गर्न निर्देशन दिए पनि विष्णुमति करिडोरमा भने अहिलेसम्म कालोपत्र हुन सकेको छैन । महानगरीय ट्राफिक प्रहरी महाशाखाको सक्रियतामा गत वर्ष चैतदेखि उपत्यकाभित्रका मुख्य करिडोर खुलाउने काम भए पनि खुलाइएका करिडोर कालोपत्र नहुँदा सवारी ओहोरदोहोरमा समस्या हुँदै गएको छ ।
महाशाखाले उपत्यकाको ट्राफिक व्यवस्थापन तथा प्रदूषण नियन्त्रण कार्ययोजनाअनुसार विसं २०७५ चैतदेखि उपत्यकाको विभिन्न खोला किनारमा करिडोर निर्माण कार्य थालेको थियो । वैशाखमा निर्माण भएको नयाँ बसपार्कस्थित विष्णुमति करिडोर दश महिना पुरा हुँदासम्म कालोपत्र नहुँदा स्थानीयवासीलाई समेत धुलोले समस्या हुँदै गएको छ ।
नयाँबसपार्कस्थित मित्रनगर विकास तथा सुधार समितिका उपाध्यक्ष गङ्गा पन्त विष्णुमति करिडोर कालोपत्र नहुँदा नयाँ बसपार्क क्षेत्रका जनता धुलोमा बस्नुपरेको बताउनुहुन्छ । नयाँ बसपार्क पुलदेखि बालाजू पुलसम्म करिडोर विस्तार भएपनि अहिलेसम्म कालोपत्र भएको छैन । उक्त करिडोर कालोपत्र भए माछापोखरी, बालाजुचोक, बाइपास क्षेत्रको जाममा कमी आउनेछ । दैनिक हजारौँ सवारीसाधन ओहोरदोहोर गर्ने नयाँ बसपार्क क्षेत्रमा धुलोका कारण यात्रुलाई समेत समस्या हुँदै गएको छ ।
नयाँ बसपार्क सञ्चालन गरेको ल्होत्से बहुउद्देश्यीय प्रालिका अध्यक्ष दीपक कुँवर करिडोर कालोपत्र भए सवारी आवतजावतमा सहजता आउने बताउनुहुन्छ । “करिडोर निर्माणका लागि नयाँ बसपार्कले समेत जग्गा प्रदान गरेको छ”, उहाँ भन्नुहुन्छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता, प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठ करिडोर निर्माणसँगै नयाँ बसपार्क कलङ्की क्षेत्रमा हुने सवारी जाममा कमी आउने बताउनुहुन्छ । “करिडोर कालोपत्रका लागि हामीले बारम्बार सम्बन्धित निकायसँग आग्रह गरिरहेका छौँ”, उहाँले भन्नुभयो ।
उक्त करिडोर कालोपत्रको जिम्मा बागतमी सभ्यता एकीकृत विकास समितिले पाएको छ । समितिका आयोजना प्रमुख लिला ढकाल उक्त करिडोर चाँडो कालोपत्र गर्न समिति लागिपरेको बताउनुहुन्छ । “उक्त करिडोर चाँडो सम्पन्न गर्नुपर्छ भन्ने प्रधानमन्त्री कार्यालयको समेत निर्देशन छ, हामी जेठसम्म उक्त करिडोर कालोपत्र गरिसक्छौँ”, उहाँ भन्नुहुन्छ । सडक कालोपत्र गर्न ठेकेदार कम्पनीसँग समेत सम्झौता गर्ने चरणमा समिति रहेको उहाँको भनाइ छ ।
समितिले नयाँ बसपार्कदेखि कालीमाटीसम्मको करिडोर कालोपत्रका लागि रु १२ करोड विनियोजन गरेको छ । उक्त समितिले हाल उपत्यकाका विष्णुमति नदी, नख्खु खोला, धोबी खोला, बल्खु खोला, वाग्मती खोला, हनुमन्ते खोला, मनहरा खोला, कर्मनाश खोला र महादेव खोलाको सभ्यता राख्ने खोलाको किनारामा बाटो निर्माण गर्ने जिम्मा लिएको छ ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौलाले उपत्यकाको बढ्दो यातायातसँगै सडक विस्तारलाई सरकारले विशेष ध्यान दिनुपर्ने बताउनुभयो । “टोखा, बानियाटार, नयाँ बसपार्क, बालाजु, शोभा भगवती हुँदै कालीमाटी निस्कने विष्णुमति करिडोर चाँडै निर्माण भए चक्रपथ क्षेत्रको आधा ट्राफिक जाम कम हुन्छ”, उहाँ भन्नुहुन्छ । यातायात व्यवस्था विभागका अनुसार हाल देशभर झण्डै रु ३६ लाख सवारीसाधन सञ्चालनमा छन् भने काठमाडौँ उपत्यकामा मात्र ११ लाखको हाराहारीमा सवारीसाधन सञ्चालनमा छन् ।रासस