काठमाडौँ, मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि दफावार छलफल सकिएको छ । प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिमा जारी विधेयकको दफावार छलफल सकिएको समितिका सभापति जयपुरी घर्तीले जानकारी दिनुभयो ।
उहाँका अनुसार विधेयकमाथि संशोधन दर्ताको दफावार छलफल सकाइएको हो । “दफावार छलफलका क्रममा केही निर्णय गर्न बाँकी रहेका छन्” उहाँले भन्नुभयो, “आगामी बैठकमा ती निर्णयलाई टुङ्ग्याइने छ ।” विधेयकमा २२ सांसदले ७७ बुँदामा संशोधन दर्ता गराउनुभएको थियो । समितिमा संशोधन दर्ता गराउनुभएका समिति सदस्य तथा सांसदले आ–आफ्नो सुझावसमेत दिनुभएको थियो ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव डा सञ्जय शर्माले संशोधनकर्ताले दिएको सुझावका आधारमा विधेयक तयार गर्ने बताउनुभयो । समिति सदस्य रामकुमारी झाँक्रीले विश्वविद्यालयले अनुसन्धान र प्राज्ञिक क्षेत्रमा प्रशंसनीय काम गरेको व्यक्तिलाई मात्र मानार्थ उपाधि दिनुपर्ने सुझाव दिनुभयो । विधेयकमा उल्लेखित सांस्कृतिक तथा समाजसेवीलाई समेत मानार्थ उपाधि दिइने प्रावधान हटाइएको छ ।
समिति सदस्य गगन थापाले विदेशी नागरिकलाई पनि संरक्षक समितिको सदस्य, विश्वविद्यालयको पदाधिकारीमा राख्न सकिने व्यवस्था हुनुपर्ने बताउनुभयो । विधेयकमा विदेशी नागरिकलाई पनि संरक्षक समितिका सदस्य र पदाधिकारी रहने व्यवस्था गरे पनि केही समिति सदस्यले विदेशी नागरिकलाई नराख्न सुझाव दिनुभएको थियो । “हाम्रा देशका राम्राराम्रा प्राध्यापक विदेशस्थित विश्वविद्यालयमा रहेका छन्” थापाले भन्नुभयो, “हामीले पनि विश्वविद्यालयको संरक्षक समिति र पदाधिकारीमा बाहिरका प्रतिष्ठित प्राध्यापकलाई राख्नुपर्दछ ।”
सरकारले विज्ञान र प्रविधिको छुट्टै विश्वविद्यालय स्थापना गर्नका लागि विधेयक ल्याएको हो । पचासी प्रतिशत विज्ञान र प्रविधि तथा १५ प्रतिशत अन्य विषय पढाइ हुने व्यवस्था रहेको विश्वविद्यालय मकवानपुरको थाहा नगरपालिकास्थित चित्लाङमा र केन्द्रीय कार्यालय काभ्रेपलाञ्चोकमा रहनेछ । RSS
–––