काठमाडौँ, राष्ट्रियसभामा दुई वर्षे कार्यकाल पूरा गरी आज बिदाइ हुन लाग्नुभएका सांसदले सदनमा आफ्ना अनुभव सुनाउँदै उक्त अवधि उपलब्धिमूलक भएको बताउनुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा उहाँहरुले सत्तापक्ष र प्रतिपक्षको परिपक्व भूमिकाले सभाको गरिमा बढेको अनुभव समेत सुनाउनुभयो ।
बैठकमा बद्रीप्रसाद पाण्डेले यस अवधिमा ‘सानो परिवार, सुखी परिवार’को अनुभव भएको बताउँदै समयमा बैठक सञ्चालन गर्ने काम भएको र दलीय प्रभावबाट मुक्त रहने प्रयास गर्ने काम भएको बताउनुभयो । साथै उहाँले आगामी दिनमा वर्षमा कम्तीमा दुई पटक मतदातासम्म पुग्ने व्यवस्था गर्नुपर्नेमा सदनको ध्यानाकर्षण गराउनुभयो ।
सांसद कालीबहादुर मल्लले गोलाप्रथाद्वारा दुई वर्षे कार्यकाल पूरा गरी बाहिरिनु स्वभाविक प्रक्रिया भएको बताउँदै यस अवधिमा धेरै अनुभव हासिल गर्ने अवसर प्राप्त गरेको धारणा व्यक्त गर्नुभयो । सांसद कमलाकुमारी ओलीले आगामी दिनमा सांसदबीच विभेद हुने गरी बजेट विनियोजन नहोस् भन्ने आग्रह गर्नुभयो । सांसद खेमराज नेपालीले प्रधानमन्त्री केपी शर्मा ओलीको जन्मोत्सवमा केक काटिएको प्रसङ्गमा देखिएको नकारात्मक टिप्पणी नकारात्मक मानसिकताको उपज मात्र भएको धारणा व्यक्त गर्नुभयो ।
सांसद धनकुमारी खतिवडाले छोटो समयमा धेरै महत्वपूर्ण विधेयक पारित भएको बताउँदै सभामा सत्ता पक्ष र प्रतिपक्षको भूमिका विधेयकको छलफल र पारितमा केन्द्रित हँुदा सभाको गरिमा बढ्ने बताउनुभयो । सांसद बलरामप्रसाद बाँस्कोटाले संसद जनताका समस्या समाधानको थलो भएको बताउँदै सभामा अध्यक्षको भूमिकाले सदन प्रभावकारी भएको बताउनुभयो ।
सांसद मीना बुढाले सदनमा जनताका कुरा उठाउन पाएको अनुभव सुनाउँदै यो अनुभवले खुशी भएको बताउनुभयो । सांसद मुक्ताकुमारी यादवले सदनमा यस अवधिमा धेरै काम भएको र गर्न बाँकी रहेका काम आगामी दिनमा सम्पन्न हुने अपेक्षा गर्नभयो । सांसद युटोल तामाङले सभामा जनजातिको कोटा थप गर्नुपर्ने माग गर्नुभयो । सांसद रमेशप्रसाद यादवले अध्यक्षले सभाको मर्यादा बढाउन ठूलो योगदान गरेको अनुभव गरेको बताउँदै धन्यवाद दिनुभयो ।
सांसद राजकुमार कुँवरले यस अवधिमा तितामीठा अनुभव भएको सुनाउँदै घाइते र अपाङ्गताका मुद्दा सदनमा उठाएर धेरै कानून निर्माण गर्न सफल भए पनि अझै केही कानून बनाउन बाँकी रहेको बताउनुभयो । सांसद विन्दादेवी आले रानाले स्थानीय तहका सरकारले लगाएका कतिपय करसम्बन्धी प्रत्यायोजित गरिएको अधिकारका बारेमा सदनको ध्यानाकर्षण गराउनुभयो ।
सांसद सरिता प्रसाईले केही दिनमा निधन हुनुभएका राष्ट्रिसभाका सांसद दुर्गाप्रसाद उपाध्यायप्रति श्रद्धाञ्जलि दिँदै प्रधानमन्त्री ओलीको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभयो । साथै उहाँले सदनमा सत्तापक्ष र प्रतिपक्षबीच सुमधुर सम्बन्धले सदन अगाडि बढेकामा खुशी व्यक्त गर्नभयो ।
सांसद हरिचरण शिवाकोटीले आफू कृषि क्षेत्रको सामान्य व्यक्तिले सिंहदरबार, सरकार र दुवै सदनका बारेमा जान्ने मौका पाएको बताउँदै सदनमा प्रतिपक्ष दलको सिर्जनात्मक कार्यले सदनको गरिमा बढेको अनुभव सुनाउनुभयो । राष्ट्रियसभामा गोलाप्रथाद्वारा दुई वर्षे कार्यकाल पूरा गरेका एक तिहाइ (१९ जना) सांसदको समयावधि आज समाप्त हुँदैछ । RSS
–––