सुर्खेत, गोरखापत्रलाई सरकारको गुणगान मात्र नभई तथ्यमा रहेर आलोचना गर्न सरोकारपक्षले सुझाव दिएका छन् । गोरखापत्र संस्थानको पश्चिम क्षेत्र कोहलपुर संस्करणद्वारा आज वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा वक्ताहरुले सरकारलाई आवश्यक परेका बेला खबरदारी गर्न सुझाव दिए ।
वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख मोहनमाया ढकालले गोरखापत्रले ठूलाकै आवाजलाई बुलन्द गर्ने गरेको पाइएको बताउनुभयो । “मिडियालाई आवाजविहीनहरुको आवाज भन्ने गरिन्छ, गोरखापत्रले पनि ठूलाकै आवाजलाई स्थान दिएको पाइन्छ”, उहाँले भन्नुभयो, “अब गोरखापत्रले साधारण मान्छे, आवाजविहीनहरुको आवाजलाई पनि उत्तिकै स्थान देओस् ।” उहाँले कर्णालीमा भएका विकास र परिवर्तनका थुपै्र मुद्दा मिडियामा आउन नसकेको बताउनुभयो । दश वर्षअघि जुन प्रकारका समाचारले स्थान पाउँथे अहिले पनि कर्णालीबाट तिनै खबर सम्पे्रषण हुने गरेको बताउँदै उहाँले भन्नुभयो, “विकासले गति लिँदैछ, गाउँगाउँमा मोटरबाटो पुगेको छ, आर्थिक क्रियाकलाप बढेका छन्, पर्यटन प्रवद्र्धनले ठूलो फड्को मारेको छ, तैपनि समाचारमा अभावै अभावका विषयले मात्र स्थान पाउने गरेका छन् ।”
मध्यपश्चिमाञ्चल विश्वविद्यालय पत्रकारिता तथा आमसञ्चार विषयका संयोजक एवं उपप्राध्यापक युवराज शर्माले गोरखापत्रलाई मोफसलको पत्रकारिताको शिक्षक बन्न सुझाव दिनुभयो । उहाँले गोरखापत्रको भाषाशैली खस्कँदै गएको तथा राजनीतिक समाचारलाई बढी स्थान दिने गरेकाले त्यसमा सुधार ल्याउनुपर्ने बताउनुभयो ।
उद्योग वाणिज्य सङ्घ सुर्खेतका महासचिव लक्ष्मण कँडेलले कर्णालीका व्यवसायीका समस्या गोरखापत्रले उजागर गर्नुपर्ने बताउनुभयो । लगानीकर्तालाई कर्णालीमा आकर्षित गराउने दायित्व गोरखापत्रको पनि भएको उहाँको भनाइ थियो । आमसञ्चार तथा पत्रकारिताका विद्यार्थी मधुवन बिसीले गोरखापत्रले सरकार तथा सरकारी निकायलाई खबरदारी गर्नुपर्ने बताउनुभयो । उद्योग वाणिज्य सङ्घका अध्यक्ष धनबहादुर रावतले गोरखापत्रमा भ्रष्टाचार, बेथितिका समाचार देखिन छाडेको भन्दै राज्यका निकायलाई आवश्यक खबरदारी गर्न आग्रह गर्नुभयो ।
नेपाली काँगे्रस सुर्खेतका नेता नारायण कोइरालाले गोरखापत्र सरकारको मिडिया ‘प्रोपोगाण्डा’ गर्ने साधन बन्न नहुने धारणा राख्नुभयो । सरकारका राम्रा कुरा मात्रै लेख्दा ‘सेल्फ सेन्सरसीप’ लागू हुने हुँदा त्यसतर्फ ख्याल गर्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “सरकार र जनताका बीचमा गोरखापत्रले पुलका रूपमा काम गर्नुपर्छ, सुशासनका मुद्दा उठाउनुपर्छ, सार्वजनिक पद धारण गरेका व्यक्तिको हिम्मतका साथ आलोचना पनि गर्न सक्नुपर्दछ ।” त्यस्तै सञ्चारिका समूह कर्णाली प्रदेशका अध्यक्ष टीका विष्टले महिला तथा सीमान्तकृत समुदायका आवाजलाई बढी स्थान दिनुपर्ने विचार व्यक्त गर्नुभयो ।
अन्तरक्रियामा उद्योग वाणिज्य महासङ्घका प्रदेश अध्यक्ष पदमबहादुर शाही, महिला अधिकारकर्मी पवित्रा शाही, अधिवक्ता रमा प्याकुरेल, गीता कोइराला, डा दीपक गौतम, मध्यपश्चिमाञ्चल विश्वविद्यालयका पूर्व डिन पीताम्बर ढकाल, राजनीतिक विश्लेषक अर्जुनबहादुर ऐडीलगायतले मुलुकको जेठो र गौरवमय इतिहास बोकेको गोरखापत्रलाई अन्य निजी अखबारसँग प्रतिस्पर्धी बन्न र वितरण बढाउन सुझाव दिनुभयो ।
गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष कृष्णमुरारी भण्डारीले साजसज्जा, विषयवस्तुका दृष्टिले गोरखापत्रका अन्य प्रकाशनलाई पनि सुधार गर्दै लगिरहेको बताउनुभयो । संस्थानले गोरखापत्रका साथै अङ्गे्रजी दैनिक दि राइजिङ नेपाल, मधुपर्क, युवामञ्च, मुना प्रकाशन गर्दै आएको छ । कार्यकारी अध्यक्ष भण्डारीले उहस् फागुन ७ गतेदेखि कोहलपुरबाट नियमित प्रकाशन गरी प्रदेश नं ५, कर्णाली र सुदुरपश्चिम प्रदेशका विभिन्न जिल्लामा पु¥याइने बताउनुभयो । अन्तरक्रियामा प्राप्त कर्णालीवासीका सुझावलाई समेटेर गोरखापत्रलाई अझ परिमार्जित र पठनीय बनाइने उहाँको प्रतिबद्धता थियो । कार्यक्रममा गोरखापत्रका प्रधानसम्पादक श्रीओम श्रेष्ठ, सल्लाहकार सम्पादक गोपाल खनाललगायत उपस्थित हुनुहुन्थ्यो ।
RSS