नेपाल क्रिकेट सङ्घ (क्यान) ले थाइल्यान्डमा हुने एसिसी पूर्वी क्षेत्रीय पुरुष ट्वेन्टी–ट्वेन्टी क्रिकेट प्रतियोगिताका लागि टोली घोषणा गरेको छ । क्यानले आगामी फागुन १५ देखि २३ गतेसम्म हुने उक्त प्रतियोगिताका लागि १४ सदस्यीय टोलीको घोषणा गरेको हो ।
ज्ञानेन्द्र मल्लको कप्तानीमा उपकप्तान दीपेन्द्रसिंह ऐरी, पारस खड्का, विनोद भण्डारी, आरिफ शेख, करण केसी, सन्दीप लामिछाने, अभिनाश बोहोरा, सुशन भारी, कुशल मल्ल, पवन सर्राफ, भुवन कार्की, सन्दीप जोरा र किशोर महतो रहेका छन् ।
भुवनको चार वर्षपछि टोलीमा पुनरागमन भएको छ । सन् २०१३ मा पहिलोपटक राष्ट्रिय टोलीमा परेका उनले पछिल्लो पटक सन् २०१७ मा बङ्गलादेशमा भएको इमर्जिङ एसिया कप खेलेका थिए।
आइसिसी विश्वकप क्रिकेट लिग दुई खेलेका शरद भेषवाकर, सुवास खकुरेल, रोहितकुमार पौडेल र कमलसिंह ऐरी टोलीमा छैनन् । पवन, सन्दीप र किशोरलाई मौका दिइएको छ । नेपाली टोलीको प्रशिक्षकको जिम्मेवारी जगत टमाटालाई दिइएको छ । प्रतियोगितामा आयोजक थाइल्यान्डसहित नेपाल, सिङ्गापुर, हङकङ र मलेसियाले प्रतिस्पर्धा गर्नेछन् ।