सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री देवेन्द्र पौडेलले एमसिसी संसदबाट पारित हुने दाबी गरेका छन् । उनले भने,‘एक शब्दमा भन्नुपर्दा एमसिसी सदनबाट पास हुन्छ । प्रधानमन्त्रीले पनि यसलाई अघि बढाउन चाहनुभएको छ । प्रमुख प्रतिपक्षी दलले पनि पारित गर्नुपर्छ भनेको छ । त्यसैले पार्लियामेन्टरी सिष्टममा ह्विप लागुहुन्छ । प्रधानमन्त्रीले यसलाई अघि बढाउन चाहनुभएको छ ।’ यद्धपी उनले एमसिसीको कतिपय प्रावधानमा भने आफ्ना रिर्जवेशन छन् ।’
मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले नेपालमा थुप्रै राष्ट्रका सहयोग र अनुदानका कार्यक्रमहरु चलिरहेकोले ती कार्यक्रमहरु संसदबाट पारित नभएको पनि सुनाए । उनले भने,‘डिएफआईडी खासगरी युएनअन्तर्गतका अरु थुप्रै प्रोजेक्टहरु यहाँ सञ्चालित छन् । ती सञ्चालन गर्नको लागि सदनबाट पारित गरेर कानून बनाउनु परेको छैन् ।’
क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले एमसिसी कम्प्याक्टको बारेमा आफूहरुले गहन अध्ययन तथा अनुशन्धान गरेर नै बोलेको पनि स्पष्ट पारे । उनले भने,‘बाहिर सम्झौताको अध्ययन नै नगरी बोल्यो भन्नेपनि छ, तर मैले यो कम्प्याक्ट पूरै अध्ययन गरेको छु । अस्ति भर्खरै अमेरिकी दुतावासले जारी गरेको दश बुँदे निश्कर्षपनि हेरें । ’ उनले उक्त सम्झौतामा निकै शर्तहरु राखिएको भन्दै असन्तुष्टि पोखे । उनले भने,‘ती शर्तहरु जरुरी छैनन् । अनुदान भनेको त निशर्त दिने कुरा हो । नेपालमा ठूलो भुकम्प आयो, किन ग्रान्ट दिएन् ?’
पौडेलले एमसिसी लागु भएको देशमा गरिबी निवारण नभएको पनि जिकिर गरे । उनले भने,‘नेपालमा पनि भयानक प्रगति हुँदैन् । हामी अमेरिकाको ५५ अर्ब नगुमोस भन्ने पक्षमा छौं । नेपालको विकास र समृद्धिमा यसले सहयोग नै पुर्याउँछ । तर, यसमा उल्लेख गरिएका शर्तहरु जायज छैनन् । यसको बारेमा निकै बहस गर्न जरुरी छ ।’ उनले निशर्त अनुदान भैदिएको भए यति धेरै डिबेट नै हुँदैनथियो भन्ने उनको तर्क छ ।
नेता पौडेलले सभामुखमा उम्मेद्धवारी दिएका अग्निप्रसाद सापकोटाले सबैलाई मिलाएर सहमति र एकताकासाथ अघि बढाउन सक्ने विश्वास व्यक्त गरे । उनले भने,‘मैले त उहाँसँग लामो समयदेखि सहकार्य गर्दै आएको छु । उहाँ सुरुमा शिक्षक संगठनमा सक्रिय हुनुहुन्थ्यो । हामी विद्यार्थी कालदेखि नै सक्रिय थियौं । उहाँ भूमीगत राजनीतिमा सक्रिया हुनुभएको नेता हो । कतिपयले उहाँलाई आफ्ना छोराछोरीलाई पढाएर, बचाएर हिँडेको मान्छे पनि भन्ने गरिन्छ । तर, उहाँ त आफन्त, छोराहरु लिएर भुमिगत आन्दोलनमा सहभागी हुनुभएको थियो । उहाँ तीन–तीन पटक सांसदमा निर्वाचित हुनुभयो ।’
उनले सापकोटा योग्यहरुमध्येको योग्य उम्मेद्धवार भएको बताए । उनले भने,‘उहाँ योग्य उम्मेद्धवार हो । शिवमायापनि योग्य उम्मेद्धवार नै हुनुहुन्थ्यो । सुवासजी पनि योग्य हुनुहुन्थ्यो । पार्टीभित्र छलफल भयो । कहिलेकाहीँ आकस्मिकता र संयोगले हुन्छ, अहिले सापकोटाजीको सभामुखमा जीत सुनिश्चित छ ।’ उनले सापकोटालाई सभामुखको सफल कार्यकालको शुभकामना समेत दिए । उनले भने,‘हामी सबैको उहाँलाई साथ र सहयोग रहन्छ । उहाँले अब सबैलाई मिलाएर जानुपर्छ ।’
उनले उपसभामुख कसलाई दिने भन्नेबारे छलफल चलिरहेको पनि सुनाए । सभामुखको चयन भएपछि उपसभामुखकोबारे टुँगो लाग्ने उनको भनाई छ । उनले भने,‘उपसभामुख को हुन्छ ? भन्नेबारे छलफल चलिरहेको छ । कांग्रेसबाट पनि हुन्छ, वा चित्रबहादुर दाईको दलबाट पनि हुनसक्छ । यसबारेमा छलफल भैरहेको छ ।’
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता तथा पूर्व उपप्रधानमन्त्री भीमसेनदास प्रधानले सभामुखमा उम्मेद्धवारी दिएका अग्नि प्रसाद सापकोटाले कसैको पनि आग्रह र पूर्वाग्रहमा काम गर्न नहुने सुझाव दिएका छन् । उनले भने,‘उहाँ सभामुखको साझा उम्मेद्धवार हो । अब उहाँले आग्रह र पूर्वाग्रह त्यागेर काम गर्नुपर्छ । बास्तवमा अघि ऋषिजीले भनेजस्तै उहाँको अग्निपरीक्षा सुरु भयो ।’
उनले व्यक्तिग रुपमा आफ्नो पनि सापकोटासँग राम्रो चिनजान भएको र खुल्लामञ्चको विषयमा साथ दिएको सुनाए । उनले भने,‘उहाँ व्यक्तिगत रुपमा पनि असाध्यै राम्रो मान्छे हुनु्हुन्छ, उहाँले जनताको ईस्युमा साथ दिने प्रखर नेताको छबि बनाउनुभएको छ । हिजो सुवासजीले २ पटक सभामुखको जिम्मेवारी सम्हाल्नुभएको छ । उहाँले जुन किसिमले आफ्नो भूमिका निर्वाह गर्नुभएको थियो, त्यो हामीलाई ठिकै लागेको थियो । तर, पछिल्लो पटक महराजी सभामुख हुनुभयो, उहाँको भूमिका त्यस्तो पाएनौं । सुवासजी त अवरोधलाई पनि छलफलको माध्यमबाट समाधान निकाल्नुहुन्थ्यो । अब अग्निजीले पनि सुवासजीको जस्तै भूमिका निभाउनुहोला ।’ उनले सभामुखमा कसैको उम्मेद्धवारी नपरेकोले सापकोटा सर्वसम्मतीले विजयी हुने बताउँदै उपसभामुखमा कांग्रेसको दाबी हुने बताए । ’
नेता प्रधानले एमसिसीको कम्प्याक्टको सबै कुरा वेबसाईटमा भएकोले नेपालले सबै मापदण्ड पूरा गरेर पाएको दाबी गरे । उनले भने,‘अब यसको लिगल स्टाटस चाहिएको छ । सबैले यसलाई स्विकार्नुपर्छ । अहिलेको सत्तापक्षले पनि यसलाई पास गर्नुपर्छ । यो कम्प्याक्टमा भएका प्रावधानमा केही कमिकमजोरी भए यसबारेमा छलफल गर्न सकिन्छ ।’’ उनले एमसिसीको बारेमा बोल्दा अध्ययन तथा अनुशन्धान गरेर बोल्नुपर्ने सुझाव दिए । उनले भने,‘हिजो अरुण तेस्रो परियोजना बनाउनुपर्छ भन्दा तत्कालिन नेकपा एमालेले विरोध गर्यो, त्यो त्यतिकै कोलाप्स भयो । त्यो लागु भएको भए धेरै राम्रो हुन्थ्यो ।’
एमसिसीमा भारतको पनि सहमति लिनुको कारण नेपालको उर्जा खेर नजाओस भन्ने नै भएको उनको स्पष्टोक्ति थियो । उनले भने,‘साझा दस्तावेजको रुपमा एमसीसीलाई पारित गर्नुपर्छ । नेपालको समृद्धिको लागि एमसिसी चाहिएको छ । कांग्रेस पारित गर्ने पक्षमा छ ।’
उनले सरकारले ल्याउन लागेको सूचना प्रविधि विद्येयकमा आफूहरुको विरोध व्यापक रहेको स्पष्ट पारे । उनले भने,‘दण्ड सजायको प्रावधान नै गलत छ । यो प्रावधान हटाउनुपर्छ । यसो गर्दा सरकारलाई नै फाईदा हुन्छ ।’
राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसीले लामो समयपछि सभामुखको निकास निस्किएको सुनाउँदै नेकपाले योग्य उम्मेद्धवार बनाएको स्पष्ट पारे । उनले भने,‘अब हामीले यसको बारेमा टिकाटिप्पणी गर्न आवश्यक र औचित्य छैन् ।’ सभामुख अत्यन्तै महत्वपूर्ण पद भएकोले सबैलाई मिलाएर लैजानुपर्ने पनि उनको सुझाव छ । उनले थपे,‘उहाँलाई सफल कार्यकालको शुभकामना छ ।’
अध्यक्ष केसीले एमसिसीका शर्तहरु हेर्नुपर्ने बताए । उनले भने,‘हामीले शर्तहरु हेर्नुपर्छ । हिजो महाकाली सन्धि पारित गर्ने बेलामा पनि त्यस्तै ठूलो कुरा गरिन्थ्यो । तर, अहिले कति नाफा लिन सक्यौं त ? हामीले कोशी र महाकाली दिएकै हो, अहिले पनि अपर कर्णाली भारतीय जि.एम.आर. कम्पनीसँग छ, हाम्रो कमजोरीलाई बाहृय शक्तिले खेल्छन्, यहाँको राजनीतिज्ञ र प्रशासनलाई उनीहरुले खरिद गर्छनु ।’ नेपालका अधिकांश जलस्रोत भारतले होल्ड गरेको राखेको छ । उनले जनताको पक्षमा काम गर्न सरकारलाई सुझाव दिए । उनले भने,‘नेताहरुले छलकपटको राजनीतिक गर्नुहुँदैन् । शक्ति केन्द्रले खेल्ने भनेको यस्तैमा हो ।’
नेपालको प्राकृतिक स्रोत र साधनको सही सदुपयोग गर्नुपर्ने उनको जोड छ । उनले भने,‘शक्ति केन्द्रको शुभकामना र आर्शिवाद लिएर राज्यसत्तामा रजाई गर्न खोज्नुहुँदैन् ।’ उनले एमसिसी पारित गर्नुपर्छ भनेर प्रधानमन्त्री र प्रमुख प्रतिपक्षी दलले भनेको सुनाउँदै यसका शर्तप्रति पनि ध्यान दिनुपर्ने सुझाव दिए । उनले भने,‘एनसेलसँग कर उठाउने कुरामा कुनै चिन्ता छैन् । दिनदिनै भ्रष्टाचार बढेको छ । यसप्रति ध्यान छैन् ।’ उनले एमसिसी संसदबाट पारित गर्न जरुरी रहेको औंल्याए । उनले संसदबाट पारित भएको कुरा हिसाबकिताको रुपमा रहने टिप्पणी गरे ।
उनले अहिले माथिदेखि तलसम्म भ्रष्टाचार बढेको सुनाए । उनले भने,‘सिंहदरबारको अधिकार तलसम्म गयो भनिएको छ, तर भ्रष्टाचार तलसम्म पुगेको छ । अहिलेसम्म प्रदेशको न्वारान गर्न सकेका छैनन् । अहिले देशको यस्तो अवस्था हुनुमा सत्तापक्षको मात्रै दोष नभएर प्रतिपक्षीको पनि दोष छ । उसको भूमिकाले गर्दा जनता निराश छन् । अहिले ठूलो भ्रष्टाचारीलाई काँडाले पनि छोएको छैन् ।’
फरक प्रसँगमा उनले उपसभामुखमा आफ्नो पार्टीको कुनै दाबी नरहेको जिकिर गरे । उनले भने,‘हामीलाई यसबारेमा प्रस्तावपनि आएको छैन् । हामीले कसैसँग छलफल पनि गरेका छैनौं ।’ केसीले सरकारले ल्याउन लागेको सूचना प्रविधि विद्येयकका व्यवस्थालाई संशोधन गर्नुपर्ने माग गरे । तर, पत्रकारहरुले पनि जे मन लाग्यो त्यही गर्नपनि नपाउनेतर्फ पनि उनले ध्यानाकार्षण गराए ।
सरकारलाई मात चढ्यो, नेकपाले पद बाँड्नमै समय व्यतित गरेको देखियो ः अध्यक्ष जबरा
राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) का अध्यक्ष पशुपति शमशेर जबराले अग्नि सापकोटा आफ्नो जिल्लाको मान्छे भएकोले सभामुखको कार्यकाल सफल रहोस भन्ने शुभकामना दिएका छन् । उनले भने,‘उहाँ सभामुख भएकोमा म खुशी छु, उहाँ हाम्रै जिल्लाको नेता हो । उहाँलाई बधाई दिन चाहन्छु ।’
एमसिसीको बारेमा अहिले राष्ट्रिय रुपमै चर्चा तथा परिचर्चा भएको सुनाउँदै उनले नेपालले आफ्नो राष्ट्रिय स्वार्थ र हितलाई केन्द्रमा राखेर काम गर्नुपर्ने सुझाव दिए । उनले भने,‘कुनैपनि सहयोग, अनुदान लिँदा हामीले हाम्रो देशको हित र स्वार्थ हेर्नुपर्छ, अहिले चीनबाट सहयोग आएको छ । अमेरिकाले पनि एमसिसीमार्फत सहयोग गर्दैछ । हिन्तूस्तानले पनि सहयोग गर्दै आएको छ । तर, नेपालले आफ्नो राष्ट्रिय स्वार्थ र हित हेर्नुपर्छ ।’
उनले अहिले महत्वपूर्ण कुरा भनेको मुलुक कता जाँदैछ ? भन्ने नै रहेको सुनाए । उनले थपे,‘अहिलेको सरकारलाई जनताले अत्यन्तै ठूलो मौका दिएका थिए । जनताले यो सरकारलाई भारी बहुमत दिएका थिए । तर, यो दुई वर्ष सरकारले सुवर्ण मौकाको दुरुपयोग गरेको छ ।’ सरकारले यो दुई वर्षमा खास के काम गर्यो त? भनेर हेर्दा मुख्य काम गरेको भन्ने केही पनि नदेखिएको उनको आरोप छ । उनले भने,‘बरु, यो बीचमा भ्रष्टाचार बढेको छ । मलाई त कता कता यो सरकारलाई के भान छ भने हामीसँग बहुमत छ, हामीले जे गरेपनि हुन्छ भन्ने मात चढेको छ ।’
नेकपाले अहिलेसम्मको समय पद बाँड्नमै व्यतित गरिरहेको उनको गम्भिर आरोप छ । उनले भने,‘मुलुकको विकासमा सरकारले ध्यान नै दिएन् । उसले मुलुकको हितमा काम गरेको देखिएन् ।’ उनले सरकार आफैंले यो बीचको अवधि कसरी खेर फालेको छ ? भन्ने कुरा उसले नै राम्रोसँग केलाएर हेर्न सुझाव दिए । उनले भने,‘सरकारले आफूले पाएको भारी बहुमतको सदुपयोग गरेको देखिएकै छैन् ।’