कुनै बेला दुःखपीडाका गीत गाउँदै हिँड्ने गाइने दाइ हिजोआज जहाँतहीँ भेटिँदैनन् । पछिल्लो समय सारङ्गी बजाउने पेशा लोप हुँदै जान थालेको छ । युवाले सारङ्गी बजाउने पेशा नअपनाउँदा सारङ्गी बजाउने पेशा लोप हुन थालेको हो । एक समय थियो । न रेडियोको पहुच थियो, न त टेलिभिजन नै । त्यतिबेला कतै घटना, दुर्घटना भए त्यसलाई बयान गरेर गाइने दाइले गीत गाउँथे । विभिन्न गाउँमा पुगेर देश विदेशमा भएका घटना दुर्घटनाका खबर दिन्थे । लाहुरे दाइले बेहोरेका दुःख कष्टलाई गाथा बनाएर सुनाउँथे ।
बाटो हिँड्दै गरेको गन्धर्वलाई घर–घरमा बोलाएर गीत गाउन लगाइन्थ्यो । मन खोलेर गन्धर्वलाई दान, दक्षिणा र सिदा दिइन्थ्यो । तर, अहिले न गन्धर्व सारङ्गी गाउँधरमा भिरेर गाउँ–गाउँमा पुग्छन्न् त न युद्धगाथा, कर्खा र घटनाबारे वर्णन गर्छन् । कुनै जमना गन्धर्व जातिका व्यक्तिलाई गाइने दाइ भनेर चिनिन्थ्यो । अहिले समय फेरिएको छ । उनीहरु आफंैलाई गाइने भन्न मन पराउँदैनन् । अर्कोतर्फ घर–घरमा गएर गीत सुनाउने गाइनेलाई सम्मान होइन्, हेय गरिन्छ । उनीहरुलाई सम्मान दिइँदैन । म लाग्ने जस्तो व्यवहार गरिन्छ । पहिलेका बुढापाखाले केही रुपमा राम्रो व्यवहार गर्ने भए पनि नयाँ पुस्ताले आफूहरुलाई हेय गर्ने गरेको लामो समयदेखि सारङ्गी बजाउँदै आएका धर्मलाल गन्धर्वले बताउनुभयो ।
सारङ्गी बजाउनेलाई समाजले पनि हियाउने भएकाले सारङ्गी बजाउनेको सङ्ख्या घट्दै गएको उहाँले बताउनुभयो । “पहिले पहिले सारङ्गी बजाउनेलाई सम्मान हुन्थ्यो”, उहाँले भन्नुभयो, “तर अहिले हियाउँछन्, त्यसैले पनि घर–घरमा गएर सारङ्गी बजाउने पेशा लोप हुँदै गएको छ ।” त्यस्तै पहिले आफ्नो परिश्रमअनुसार दक्षिणा दिने गर्ने भए पनि अहिले त्यो संस्कारको अन्त्य भएको उहाँले बताउनुभयो ।
तुलसीपुर–४ रक्षाचौरका अजय गन्धर्व १७ वर्षको हुनुभयो । उहाँले जन्मेदेखि नै सारङ्गी कहिल्यै बजाउनु भएन । त्यस्तै सोही ठाउँका ३४ वर्षीय फोजबहादुर गन्धर्वले पनि कहिल्यै सारङ्गी बजाउनु भएन । कारण हो, सारङ्गी बजाउने वित्तिकै समाजले हेर्ने दृष्टिकोण । सारङ्गी बजाउनेलाई समाजमा गाइने भनेर हेप्ने प्रवृत्ति भएकाले आफूले सारङ्गी बजाउने पेशा नगरेको बताउनुभयो ।
गन्धर्व समुदायका युवानै सारङ्गी बजाउने पेशाप्रति आकर्षित नहुँदा पेशा नै लोप हुने अवस्थामा छ । गन्धर्व समुदायको परम्परागत पेशा नै सङ्कटमा पर्न थालेको छ । नेपाली संस्कृतिको महत्व र वीरताको गाथा बोेकेको सारङ्गी बाजालाई संरक्षण गर्न आवश्यक रहेको भए पनि राज्यले पनि संरक्षणमा ध्यान नदिएको गन्धर्व समुदायका अगुवा सुनिल गन्धर्वले बताउनुभयो ।
अहिले तुलसीपुरको गणेशपुरमा २५० घर गन्धर्व समुदायको बसोवास छ । तर, चार÷पाँच जनाले मात्रै अहिले सारङ्गी बजाउँछन्, त्यो पनि कहिलेकाहीँ । गन्धर्व जातिको सारङ्गी बजाउने पेशा संरक्षण गर्न राज्यले उचित कार्यक्रम ल्याउनुपर्ने गन्धर्व अगुवा सुनिलले बताउनुभयो । सारङ्गीको संरक्षणका लागि सारङ्गी सङ्ग्रहालय निर्माण गर्नुपर्ने बताउनुभयो । दाङमा करीब ९०० गन्धर्व समुदायको बसोवास छ ।
रासस