नेपाल भ्रमण वर्ष २०२० का अवसरमा चितवनको भरतपुर महानगरपालिका–२९ मा रहेको कविलास रिसोर्टले विशेष प्याकेज ल्याएको छ । आज यहाँ आयोजना गरिएको पत्रकार सम्मेलनमा रिसोर्टका अध्यक्ष बाबुराम उपाध्यायले रिसोर्टले २० प्रतिशत छुट सहित विभिन्न प्याकेज ल्याएको बताउनुभयो ।
उहाँले भ्रमण वर्ष सफल बनाउन निजी क्षेत्रको पनि भूमिका रहेकाले छुटसहितको प्याकेज घोषणा गरिएको जानकारी दिनुभयो । रिसोर्टमा गुणस्तरीय खाना र बस्ने व्यवस्थादेखि मनोरञ्जनका लागि फनपार्क, वाटर पार्क र स्वीमिङ पुल, वनभोज स्थल, धार्मिक कार्यक्रमका लागि सिद्धेश्वर महादेवको मन्दिर समेत रहेको छ ।
उहाँका अनुसार भ्रमण वर्षमा रिसोर्टमा रात बिताउने पाहुनालाई बिहानको खाजा र पौडी खेल्न निःशुल्क गरिएको छ । रिसोर्टले नै सौराहा, जनकपुर, लुम्बिनी, देवघाट, शास्वतधाम, गणेशस्थान, बीसहजारी तालसमेत घुमाउने छ ।
रिसोर्टमा पारिवारिक रुपमा बस्न मिल्ने, आफूले पकाएर खान मिल्नुका साथै पारिवारिक भिल्ला, एकै पटकमा ४० देखि ५० समूहलाई पुग्ने वनभोज, जैविक फार्म हाउसः खेतीपाती, कुखुरापालन, बाख्रापालन, हाँसपालन समेत रहेका छन् । भ्रमण वर्षका अवसरमा होटल एशोसिएशन नेपाल, नेपाल पर्यटन व्यवसायीले समेत छुट दिँदै आइरहेका छन् । करीब रु ६० करोड लगानीमा रहेको रिसोर्ट २५ बिघा क्षेत्रफलमा रहेको छ । रासस