खाडीमा नेपाली महिलाहरुले के गर्छन?कहाँ बस्छन कसरी बस्छन? के बिग्रीएका महिला मात्र बिदेश गएका हुन्छ्न?के त्यहाँ गएका महिलाहरु सुरक्षित फर्किन्छन?के नेपाली महिलाहरु दुनियाँका ओछ्यान तताउदै हिडेकै हुन्छन त?के नेपाली महिलाहरु बिदेशी नागरिकहरु सङ दारुको नसामा गतिछाडा भएकै हुन त? के महिलाहरु बिदेशमा कसैको गर्लफ्रेन्ड नै बन्न आएका हुन वा बन्नैपर्छ?यदाकदा सामाजिक संजालमा देखिने फोटो भिडियोहरु र एकरात बाहिर बाँस बस्दा महिलामाथि औला ठड्याउने नेपाली समाजमा हुर्केका हामी भित्र यस्ता सयौ प्रश्नहरु उब्जिनु कुनै नौलो होईन।दुईचार जना औलामा गन्ति गर्न सकिने गतिछाडा महिलाहरुका बेलाबखतका हर्कत र गतिछाडा पराकाष्ठा देख्दैमा सुन्दैमा सम्पुर्ण महिलाहरुलाई एउटै नजर बाट हेर्न कत्तिको न्यायोचित होला?
आजको युगमा विश्वकै सबैभन्दा कम प्रतिव्यक्ति आय भएको मुलुकको रुपमा चिनिने हाम्रो देश “नेपाल” परम्परागत कृषि प्रणालीमा आश्रित भएको,अल्प-विकसित र बेरोजगारी दिन-दुगुना रात चौगुना बढ्दै गईरहेको छ। गत आर्थिक वर्ष ०७५/७६ मा मुलुकले विदेशबाट करिब पौने ९ खर्ब रेमिट्यान्स भित्र्याए पनि त्यसको मूल्य भने अकल्पनीय रूपमा तिर्नुपरेको छ । सो वर्षभरि ८ खर्ब ७० अर्ब रेमिट्यान्स भित्रिएको नेपाल राष्ट्र बैंकको तथ्यांक छ । युरोप, अमेरिका र अस्ट्रेलियामा पुगेर पि आर अनि ग्रिनकार्डको पछी दौडने र उतै घरवास जोडेर बस्ने गैरआवासीय नेपालीहरुको कारण होईन, तपाई हामी जस्तै हरियो पासपोर्ट बोकेर खाडीमा छिरेका नेपाली दाजुभाई तथा दिदिबहिनिहरुले मरूभूमीमा गरेको परिश्रमको प्रतिफल हो। महिला र पुरुषको बारेमा जति नै मन्थन वा बहस गरे पनि फरक यौनांग मात्र हो । शक्ति र पहुँचको निम्ति तोकिएको सीमा रेखा होइन। प्रकृतिले सृष्टिलाई निरन्तरता दिन उत्पन्न गरेको दुई उत्पादक तत्व मात्र हुन्- पुरुष र नारी । धेरै पटक भनिने गरिएको एउटै रथका दुई पाङ्ग्रा हुन् यी नरनारी । समयको परिवर्तन सँगसँगै मान्छेका सोच, विचार,चिन्तन र जीवनशैलीमा हुँदै गइरहेको परिवर्तनको सत्यलाई नकार्न सकिँदैन । एक्काइसौँ शताब्दीलाई समीक्षा गर्ने हो भने हाम्रो समाज र राष्ट्रमा पहिलेको तुलनामा आकाश र जमिनको फरक आएको छ । ईतिहासलाई फेरि स्मरण गरेर हेर्दा हामी ढुङ्गे युगबाट बल्ल मात्र मान्छे भएका हौं, भन्ने अनुभूति हुँदाहुँदै पनि पहिलेको समाज र अहिलेको समाजलाई तुलना गरेर हेर्दा मुलुक सामाजिक रूपान्तरणमा फड्को मारेको अवस्था छ । परिवर्तनसँगै मान्छेका सोचाइ र दृष्टिकोणमा पनि आमूल परिवर्तन आइसकेका छन् । यसलाई कसरी मर्यादित र व्यवस्थित तुल्याउने भन्ने प्रश्न भने उठिरहेको छ । आज आम नेपाली नारी विभिन्न युग र शताब्दीको कालखण्ड पार गर्दा पनि पित्तृसत्तात्मक सोच र चिन्तनको सङ्कुचित घेराबन्दीबाट उम्किन सकेका छैनन्। बेलाबखत नारी उन्मुक्तिको बहानामा हरेक आन्दोलन भए पनि वास्तविकतामा खासै फेरबदल आएको छैन भन्दा फरक नपर्ला । कुनै युग किन नहोस् नारीहरू पितृसत्तात्मक अवस्थाबाट माथि उठ्न सकेको छैन। आजको दिदिबहिनिहरु घरको झ्याल खोलेर सहर, गाउँ, गाउँभन्दा पारिको डाँडो, डाँडापारिका देश र देशभन्दा पर रहेका महासागर, त्यहाँभन्दा पनि परका सहर-गाउँ हेर्न चाहन्छन । सत्य भनाई संसारका सबै मान्छे महिलाले नै जन्माएका हुन, त्यसैले राजनीति र घरबाहिरको दुनियाँमा पनि उत्तिकै महिलाको चासो हुनु पर्छ। काल्पनिक सत्ययुगमा समेत देवीहरू कमजोर देवगणका अन्तिम सामर्थ्य हुन्थे । ‘यत्र नार्यस्ते पुज्यन्ते, रमन्ते तत्र देवता’ अर्थात् जहाँ नारी पुजिन्छन्, त्यहाँ देवता रमाउँछन् भन्ने श्लोक पढ्ने हाम्रो पूर्वीय समाजमा आज पनि हामी महिलालाई लक्ष्मी र देवी भनेर पुज्ने गरिन्छ।
म यहाँ महिलाले के गर्न सक्छन् वा के गर्न सक्दैनन् त्यस बिषयमा बहस गर्न चाहन्न। घरेलु हिंसा के कति छन त्यसलाई पनि आजको प्रंसगमा जोड्ने छैन, हत्या हिंसा, ठगी चोरी, वा मिडियाले भने झै देह ब्यापार गर्नेहरु देखी आफ्नै दाजुभाई द्धारा भारतिय बजारमा पशुको भाउमा बिक्री भएर नारकीय जीवन जिउन बाध्य पारिएका दिदिबहिनिहरूको बारेमा पनि मेरो अध्यनले भ्याए सम्म कुनै दिन लेख्ने छु । बिश्वभर ८० लाख युवा बिदेशमा भएको तथ्य बाहिर आए पनि कुन कुन देशमा कति जना हुनुहुन्छ,त्यसको तथ्याङक म सँग नभएकोले यहाँ चर्चा गर्न सक्दिन, तर स्वयं खाडी कार्यरत भएकोले यहाँको बारेमा मैले बुझेको कुरालाई लेख्न गइरहेको छु। अझै पनि हाम्रो समाज खाडीमा परिश्रम गर्ने हाम्रो दिदिबहिनिहरुलाई हेर्ने दृष्टिकोण छ,किन युरोप अमेरीका बसेर फर्कने दिदबहिनिहरु र खाडीमा बाच्नकै लागी संघर्ष गरेर फर्केको दिदिबहिनीहरुलाई फरक-फरक तराजुमा राखेर तौलने गरिन्छ। त्यसको केहि अंश मात्रै दर्शाउने प्रयत्न गर्दै छु, आसावादि छु यस लेख पढे पछी खाडीमा बालुवा खोस्रेर भाग्य खोज्दै हिडेका हाम्रो दिदिबहिनिहरुलाई अलिकति भए पनि राहत मिल्ने छ, अनि हाम्रो समाजमा खाडीमा काम गर्ने दिदिबहिनिहरुलाई पनि युरोप अमेरिकाको ग्रिनकार्ड होल्डर दिदिबिहिनीहरुलाई जत्तिकै स-सम्मान नजरले हेर्न सकिनेछ। रोजगारदाता ( कम्पनीको) अपवाद छोडेर समग्र देशको नजर बाट हेर्ने हो भने खाडीमा नेपालीहरुको अवस्था सन्तोषजनक र सम्मान जनक छ। स्वतनत्रता, र सुरक्षाको प्रत्याभूति भएको छ। कहिलेकाहीँ सोच्ने गर्छु गणतन्त्र नेपालमा होईन खाडी राष्ट्रमा चाही आएको छ । कुनै बेला घरेलु कामदारको रुपमा आउँदा निकै कठिन समस्या भोग्न परे पनि नेपाल सरकारले प्रतिबन्ध गरे यता भने न्युन छ। तर आज पनि हाम्रो समाजमा कसैको आश्रयमा नबसि आफ्नो दश नङ्ग्रा खियाएर खाने हाम्रो दिदिबहिनिहरुलाई कसरी हेरेको छौ? मलाई शंका लाग्छ आज पनि अविवाहित केटि खाडीमा आयो भने भोलि स्वदेश फर्केर उसको बिहे हुन्छ। मेरो अनुमानमा बिदेशमा जाने अधिकांश दिदिबहिनिहरु परिवारिक कुनै न कुनै समस्याका कारण सम्बन्ध अन्त्य भएको छ। माईतीको सम्पत्ति दाजुभाईले कब्जा गरेर बसेका छन, बिवाह भएको घरबाट लोग्नेले लखेट्यो अब कहाँ जाने? देशमा रोजगारीको अवसर छैन, खाली पेट कहिले सम्म बाँच्न सकिन्छ, यहा ताउलोमा जाउलो नपाकेको महिनौ हुदा सम्म पनि एक गाँस खाना सोध्ने नैतिकता त गुमे कै अवस्थामा एउटा महिलालाई हामी अनाचारी नजरले हेर्छौ, साच्चिकै भन्नेहो भने हामीले अन्धविस्वासको चस्मा खोल्न पर्ने हो । बाउ बाजेको सम्पत्तीमा कब्जा गर्ने हामी दाजुभाई हौं। एउटा दाजुले कन्यादान गरेर अर्को दाजुकै हातमा दिएको हुन्छ, तर उसले महिलालाई पुज्नु पर्ने हो तर किन वेघरवार बनाएर सडकमा पुर्याउछ? जब हाम्रो घरमा बिना तलबको नोकर झैं गरी अहोरात्र खटिनु परेकोले उमेर नपुग्दै सुन्दरता ह्रास आयो भने हामी नराम्रो देख्न थाल्छौ, बिदेशमा तिन चार पत्रा मेकअप गरी चाउरिएको छाला छोपेर अर्धनग्न कामुकताको साथ हिड्ने युवति सँग तुलाना गर्छौ, भनिन्छ नि, होटेलको मिठो खान पल्केकोलाई घरको खानामा कुडो गनाउछ, हो त्यसै गरी बाहिरी सुन्दरताले भरिएको महिला सँग नजिकिएर घरमा भएकी भित्री सुन्दरताकी खानीलाई त्यागिदिन्छौ। “ मेरो एक जना साथी थियो सानै देखी काठमाण्डौमा बसेर पढेको म बिदेश आउने जाने क्रममा भेट भइरहन्थ्यो। उ मेरो बचपनको मिल्ने साथी भएकोले सवै कुरा शेयर हुन्थ्यो । एक दिन उसले आफ्नो प्रेमिका भन्दै एउटा फोटो देखायो निकै सुन्दर शहरकी भएर होला सुकीला कपडामा जिन्स पाईन्ट लगाएकी थिईन मैले सोधे कहिले बिहे गर्छौ, अनि बिहेमा मलाई निम्तो दिनु नि , उसले भन्यो साथी उनि मेरो केटी साथि हुन शहरकी बिहे चाही गर्दिन, किन भन्दै प्रश्न गरे पछि उसले भन्यो यिनीहरुलाई हाम्रो घरमा स्विकारदैनन्। तिमीलाई थाहै छ बाहुन परिवार न पर्यो समाजमा कुरा काट्छन, उसको कुरा सुनेर म सोच्न बाध्य भए, हामी कति सभ्य छौं,शहरकी खुला किताव जस्ति स्वभाव अनि पाइन्ट लगाउने केटि प्रेमिका बन्न योग्य हुन्छिन तर जीवन साथी बनाउन सकिदैन। कुनै अपरचित केटिले पारदर्शी वस्त्र लगाएको देख्यौ भने आखाँ ठुला पार्छौ तर सोहि वस्त्र आफ्नी जीवन साथीले लगाईन भने डिभोर्स सम्म पुग्छौ। आफ्नो स्वार्थ पुरा गर्नको लागी भने नानाथरीका मिठा कुरा गर्छौ, तर बिहे गर्ने कुरा गर्ने हो भने मुन्टो बटार्छौ, नाक खुम्च्याउछौ।
नारी हुन स्वयं देवी ,आमा छोरी बहिनी श्रीमती !!
शृष्टिकर्ता स्तनपान र जिवनदान कति कति!!
पढेउ बढेउ ज्ञानी बनेउ जन्मेर त्यही द्वार बाट,
धिक्कार भोगी बन्यो त्यही द्वारको भ्रष्ट तिम्रो मति!!
हामी भुलिरहेका छौ, महिलाको योनि बाट जन्मलिए पछी उनिहरुको वक्षस्थल बाट निस्कने दुधले हामी आफ्नो भोक,प्यास मेटाएका हौं, जब हामी यौवन अवस्थामा पुग्दा बित्तिकै महिलाको यहि दुई अंगको खुब चाहाना राख्छौं। प्राप्त गर्न सफल भयो भने आफ्नो पुरूषार्थको गर्व गर्दै जुगाँमा ताउ लागाउछौ, असफल भयो भने अप्रिय घट्ना घटाउन पछी पर्दैनौ जस्तै;- बलात्कार ,एसिड प्रहार अनि हत्या आदी, खाडीमा हाम्रो दिदिबहिनीहरु देह ब्यपार गरेर बसेका छैनन्। यहाँ रोजगार दाता कम्पनीले महिला र पुरुषको लागी भनेर अलग-अलग मापदण्ड बनाएको छैन, सबै उहि समयमा ऊठेर समान काम गर्नु पर्दछ। वर्गीय समाजमा हरेक चिजलाई वर्गीकृत गरेर हेरिन्छ बोलिन्छ, हामी आफ्नो स्तर भन्दा तल झरेर कुरा काट्ने गर्छौ। त्यो भन्दा फरक छ, हामी नेपाली दाजुभाईहरु पनि वास्तविकता नबुझी अनावस्यक टिका टिप्पणी गरिरहेका देख्दा मन खिन्न हुन्छ। हुन त मैले यति भनिरहदा मेरै बारेमा नकारात्मक टिप्पणी नआउला भन्ने होईन, तर ऐंसेलु खाने चाहना राख्नेले काडाको घोचाईको पनि सामाना गर्ने हिम्मत साध्नु पर्छ । यहा केहि ब्यक्तिहरुको टिप्पणीले मेरो कलमको निप भाचिने छैन म डराएर बिचल्लित हुने छैन। मेरो एउटै मात्र चाहाना हो की हाम्रो दिदिबहिनिहरुलाई पनि दाजुभाई हरुलाई जस्तै स-सम्मान नजरले हेरियोस, ऊनिहरु पनि दुई साल खाडीमा पसिना बगाएर गाऊ फर्कदा हामी जस्तै शिर ठाडो पारेर हिडडुल गर्न सकुन, दाजुभाईहरु दुई साल अरब वसेर घरमा पुगे पछी जे जति सम्मान पाउछन त्यो भन्दा बढी सम्मान गरियोस। बहुरुपी नारी पुज्य र आदर्णीय हुन्छिन्, एउटा नारी कसैको आमा, कसैको चेली, कसैको जिवन साथि हुन्छिन्। त्यसैले सबैलाई सम्मान गरौ। उनि हाम्रो आमा,छोरीचेली हुन आदर गरौ, उनि जवानीको प्रेमीका, अधवैसको सहयात्री र बुढेसकालको नर्स हुन माँया गरौं।
मलाई लाग्दैन गोठमा बाधेर राखेको भैंसीले दाम्लो चुडाउन नसकेर बसिरहेको छ। उ आफैमा निकै शक्तिशाली हुन्छ, चाहाने हो भने त्यो दाम्लो अनि गोठ सबै एकै झट्कामा भत्काएर भाग्न सक्थ्यो, तर उसले यसो गर्दैन किन की उसले आफ्नो नैतिकतालाई बुझेको छ अनि आज्ञाको पालना गरेको छ, उसले बुझेको छ कि मलाई यहि बस भनेर राखेको छ म आज्ञाकारी हुनु पर्छ भनेर बुझेको होला। त्यसैले हरेक मानिसले पनि आफ्नो नैतिकता भुल्नु हुदैंन, आफ्नो स्वार्थ अनि क्रोधलाई पैताला मुनि दबाएर राख्नु पर्छ। बिना प्रमाण अरु कसैको चरित्र हत्या हुने काम गर्न हुदैन। मैले यो भनेको छैन सबै दिदिबहिनि सहि छन। केहि दिदिबहिनिहरु छन ब्यक्तिगत स्वार्थ पुरा गर्न कै लागी बेदेशी नगरिक सँग सम्बन्ध कायम राखेका हुन सक्छन, कहिलेकाही कोर्नेश स्थित डुंगामा पार्कमा उछृङ्खल नाच्दै गरेको भिडियो देखेर जथाभावी बोल्ने गर्छौ, थाहाँ छ, त्यहाँसम्म बाटो देखाउने र हातमा समाएर त्यहाँ सम्म पुर्याउने हामी दाजुभाई नै हौ। कोर्नेश,पार्क वा सार्बजनिक स्थलहरुमा सङ्गै भेटिने हरेक जोडि प्रेमी प्रेमीका हुदैनन्, दाजु भाई दिदिबहिनी हुन सक्छन। बैदेशीक रोजगारको सिलसिलामा काम गर्ने नेपाली दिदिबहिनिहरु सुरक्षित छन् , उनिहरु आफैमा खराब छैनन् केवल खराब छन् भने त्यसको भागीदार तपाई हामी पनि हौं। मैले हरेक पटक भन्ने गर्छु सुखी होईन खुसी हुने कोसिस गरौ। समय वलवान र मुल्यवान छ सदुपयोग गरौ बेर्थै अरुको कुरा काट्ने देखी चरित्रहत्या जस्तो घिनलाग्दो कार्य गरि समय खेर नफालौ। धन्यबाद।।