नेपाल एकीकरणका अभियन्ता पृथ्वीनारायण शाहको योगदान स्मरण गर्दै आज पृथ्वी जयन्ती मनाइँदै छ ।
गोर्खाली राजा नरभूपाल शाह र रानी कौशल्यावतीका जेठा छोराका रूपमा वि.सं. १७७९ पुस २७ गते जन्मिएका शाह आजभन्दा लगभग ३०० बर्षअघि बाइसे–चौबीसे राज्यहरुका रुपमा नेपाल एउटा बिभाजित अनि ससाना राजारजौटाको देश थियो । यस्तै एउटा सामान्य राज्य हालको गोर्खामा थियो जहाँको राजपरिवारमा पृथ्वी नारायण शाहको जन्म भएको हो, आधुनिक नेपालको संरचना, सपना, साकारोक्ति अनि गोर्खाली बीर सिद्धान्तका प्रतिपादक यिनै महान राजालाई मानिन्छ । भौगोलिक रूपमा नेपाल एकीकरण गरेकाले शाहलाई राष्ट्र निर्माताको उपमा समेत दिने गरिएको छ ।
यद्यपि, उनको आलोचना पनि उत्तिकै हुने गरेको छ ।
आलोचकहरुले एकल जाति–नश्ल, एकल संस्कृति, एकल धर्म र सम्प्रदायको वर्चस्व स्थापित गरेको भन्दै उनी राष्ट्र निर्माता नभएको तर्क गर्ने गरेका छन् ।
पृथ्वी जयन्तीको अवसरमा विगतमा सार्वजनिक बिदा दिइने गरेको थियो । तर, पछिल्ला केही वर्षयता बिदा कटौती भएको छ । यद्यपि, राजनीतिक दलसँगै नागरिकस्तरबाट पृथ्वी जयन्ती मनाइने गरेको छ ।
यस वर्ष पनि राष्ट्रिय प्रजातन्त्र पार्टीलगायतले विविध कार्यक्रम गरी पृथ्वी जयन्ती मनाउँदैछन् । नेपाली सेनाले गोरखाबाट सुरु गरेको पदयात्रा पनि आजै सिंहदरबार अगाडि समापन गरिँदै छ । पृथ्वीनारायण शाहले नेपाल एकीकरणका क्रममा गोरखाबाट काठमाडौंसम्म हिँडेको बाटो हुँदै पदयात्रा गरिएको छ ।
देशको इतिहास पानीमा चलेको पानीजहाज जस्तो हैन्, यहाँ पाइलाहरु मेटिँदैन पृथ्वी नारायणका आवाज अनि दृष्टिहरु आज पनि दिव्योपदेशमा अनि चन्द्रागिरिको डाँडावाट हामी सबैलाई नियाल्दै छन् ।
यि राजालाई नेपालमात्र नभई दक्षिण एसियासम्मनै एउटा दुरदर्शी अनि राष्ट्रियताको प्रतिक नेतृत्वका रुपमा हेरिन्छ । हरेक बर्ष पौष २७ गते पृथ्वी नारायण शाहको जन्मजयन्ति हर्षोल्लास पूर्वक मनाइन्छ । यस दिन केवल एउटा राजाको जन्मदिन मात्र नभई सिंगो नेपालको पहिचान अनि नेपालीपनाको बिगुल फुकिएको र झकझक्याउने दिनका रुपमा पनि लिँदै राष्ट्रिय एकता दिवस मनाईन्छ ।
विक्रम सम्वत् १७७९ मा आजकै दिन अर्थात् पौष २७ मा पिता राजा नरभुपाल शाह र माता कौशल्यावति देवीका प्रथम पुत्र पृथ्वी नारायण शाहले नै आधूनिक नेपालको खाका कोरेका हुन् । पृथ्वी नारायण शाहको पालामा हालको भारत अधिन रहेको तत्कालिन पञ्जाबदेखि सिक्किमसम्म नेपाली भू(भाग रहेको र आजको वर्तमान नेपालभन्दा विशाल नेपाल उतिबेला रहेको थियो ।
२०६२ र ६३ को जन(आन्दोलन अगाडी राजसंस्थाको शासनकालमा काठमाडौ सिंहदरवारको पश्चिमीद्वारको पृथ्वी नारायण शाहको सालिकमा भब्यरुपमा मानिस भेला हुने र फूलमाला अर्पण गरेर मनाईने चलन थियो । गणतन्त्रको शुरुवातसंगै राजसंस्था अनि राज धरोहरप्रतिको अकास्मात वितृष्णाले केही महत्वपूर्ण चलनहरुपनि बगाएर लगेको छ । चाहे त्यो दशैंघरमा गोर्खाबाट ल्याईने फूलपाती होस् या पृथ्वीजयन्ति होस्, नेपाली सभ्यताका एतिहासिक स्वरूप बनाउन सफल साहसी अनि सिङ्गो नेपालका परिकल्पनाकार पृथ्वी नारायण शाहलाई नेपालीहरुले सम्झिन आवश्यक छ । पृथ्वी नारायण शाहका वाणी अनि देश बनाउन गरेका क्रियाकलापहरुका दस्तावेजले नेपाल अनि देशको सुशासनप्रतिको उनको मोहलाई स्पष्ट पार्छ, समग्रमा राष्ट्रिय एकताको सन्देश दिन्छ ।
“घुस लिन्या र घुस दिन्या दुबै राष्ट्रका शत्रु हुन्“
“नेपाल दुई ढुङ्गाबिचको तरुल हो“
यस्ता दिव्योपदेशका दूरगामी तथा अर्थपूर्ण सरल परिभाषा अहिले पनि उत्तिकै सान्दर्भिक छन् ।