मुग्लानी खबर १८ पुस
काठमाडौं- नेपाल मेडिकल काउन्सिलले चिकित्सा सेवामा निरन्तर पेशागत उन्नयन (सिपिडी) नियमनलाई वर्ल्ड मेडिकल एसोसिएसनमा पठाउने निर्णय गरेको छ।
काउन्सिलले सिपिडी नियमनको प्रस्तावमा विभिन्न क्षेत्रबाट आएका सुझावसहित परिमार्जन गरी वर्ल्ड मेडिकल एसोसिएसनमा पठाउने निर्णय गरेको हो।
काउन्सिलका अध्यक्ष प्राडा भगवान कोइरालाको अध्यक्षतामा पुस ११ गते बसेको १४ औं पूर्ण बैठकले उक्त निर्णय गरेको काउन्सिलका रजिष्ट्रार डा कृष्ण अधिकारीले जानकारी दिए।
काउन्सिलले सिपिडी लागू गर्ने विषय सार्वजनिक गरेलगत्तै यसको पक्ष र विपक्षमा बहस हुन थालेको छ। सोही आधारमा सिपिडीका विषयमा धेरै सुझाव समेत आएका छन्।
काउन्सिलले सबैतिरबाट आएको सुझावका आधारमा सिपिडी नियमनलाई संशोधन गर्ने र त्यसपछि तयार पारिएको नियमनलाई वर्ल्ड मेडिकल एसोसिएसनमा पठाउने छ। यसरी पठाउँदा एसोसिएसनबाट प्राविधिक सहयोग मिल्ने काउन्सिलका रजिष्ट्रार डा अधिकारीले जानकारी दिए।
सिपिडी कार्यक्रम लागू भइसकेपछि चिकित्सकहरुको ज्ञान र सिप थप परिस्कृत हुनुका साथै चिकित्सक र बिरामी तथा बिरामीका आफन्तबीचको संवाद बढ्ने, समन्वयात्मक सम्बन्ध बलियो हुने, चिकित्सा क्षेत्रमा हुनसक्ने संक्रमणलाई न्यूनीकरण गर्न सहयोग पुग्ने तथा आवश्यकताभन्दा बढी लेखिने औषधि तथा परीक्षणहरु पनि व्यवस्थित हुने अपेक्षा गरिएको छ।
यो कार्यक्रम लागू भएको पाँच वर्ष भित्रमा चिकित्सकहरुले एक सय नम्बर प्राप्त गर्नुपर्ने हुन्छ। काउन्सिलले देशभरि यो कार्यक्रम कार्यान्वयनमा ल्याउनुअघि संघीय संरचनाअनुसार सात प्रदेशका १६ स्थानमा तालिम केन्द्र स्थापना गर्ने भएको छ। यसका लागि काउन्सिलले २ सय १३ जना प्रशिक्षकलाई तालिम दिइसकेको छ। काउन्सिलले सिपिडीका लागि तयार पारेको विषयअनुसारको पाठ्यक्रमसमेत तयार पारिसकेको छ।