मुग्लानी खबर १७ पुस
बेरोजगारीको चरम वृद्धिले उकुसमुकुस त्यसैमाथी विभिन्न प्राकृतिक सामाजिक र आर्थिक समस्याले ग्रस्त युवाहरु दिनानुदिन खाडी लगाएत बिश्वका विभिन्न मुलुकमा पलायन हुनु कुनै नौलो होइन।
भन्छन गरिब भएर जन्मिनु भन्दा गरिब भएर मर्नु पाप हो र कायर पनि।दिनानुदिन बढ्दै गएको महङ्गी भ्रष्टाचारले थिलोथिलो भएको अवस्थामा दैनिकी गुजाराको जोहो गर्न बाध्य भएका नेपालका विभिन्न जिल्लाबाट खाडी राष्ट्रहरुमा कार्यरत लाखौ युवायुवतीहरुको भिडमा हामी करिब आधा दर्जन युवाहरु पनि थाप्लो भरिको ॠण मन भरिका पिडा मुटुभरीका बेदनाहरु बोकेर मुग्लान आएको पनि बर्षौ बितिसकेको छ।तर हरेक परदेशीएका युवाहरुका मनमा यस्तै साझा प्रश्नहरुले हरेक प्रहर मन मस्तिष्कमा सल्बलाई रहन्छन- हामी आफ्नो मुटु भन्दा प्यारो देश नेपाल छोडेर किन पलायन हुनुपर्यो? किन देशबाट दिन प्रतिदिन बिस्थापित हुनेको संख्या बढ्दो छ?के बिश्वमा नाम कमाएका बहादुर नेपालीका सन्तती यसरी नै दासी जस्तै भएर बाच्नु पर्ने हो त? यो क्रम कहिलेसम्म चल्ने होला?यो माहोल कस्ले निम्त्यायो?किन निम्त्यायो?कहिले रोकिएला?सत्ता र शक्ति फेरिए तर जनताको जिवनस्तर किन फेरिएन? कहिले हामी आफैमा आत्मनिर्भर भएर देशमै केही गर्ने? मुलत: यस्ता हजारौ प्रश्नले एउटा सचेत नागरिकलाई हरपल घोच्नु स्वभाबिक हो र यिनै प्रश्नको उत्तर खोज्ने जिम्मा पनि हाम्रै कर्तव्य भित्र पर्दछ। यी प्रश्नलाई जताबाट जतिसुकै केलाए पनि घुमाई फिराई जुनसुकै कोणबाट हेरेपनि अन्तिम उत्तर त्यही हो बेरोजगार,भ्रष्टाचार ,अन्याय अत्याचार ,बेथिती र सरकारमा बसेका ठेकदारहरु सङ दुरदृष्टी तथा क्लिएर भिजन नहुनु,देशमा भएका अनगिन्ती श्रोत साधन र सम्पदाको उचित संरक्षण, सम्बर्द्धन र प्रबर्द्धन गर्न नसक्नु।उचित रुपमा नेपालमा भएका बेरोजगार युवाहरुलाई स्वरोजगार बनाउन तिर ध्यान नजानु,भएका विभिन्न कल कारखानालाई सहि तरिकाले संचालनमा ल्याउन नसक्नु।
समाजमा ब्याप्त भ्रष्टाचार र गरिबिको समाधान र न्यूनीकरण गर्न हरेक नेपालीहरुको कर्तब्य हो।त्यसको लागि हरेक सचेत नागरिकले आफ्नो क्षेत्रबाट खबरदारी गर्नुपर्दछ। प्रवासमै रहेर पनि एउटा जिम्मेवारी नागरिक बन्नुपर्छ देशमा ब्याप्त रहेका विभिन्न गतिबिधिहरुलाई प्रदाफास गरि न्यायालयको ढोकासम्म पुर्याउनु पर्दछ र दोषिलाई कार्वाही र पिडितलाई न्याय दिलाउनुपर्छ।अन्याय, अत्याचार, भ्रष्टाचार मुक्त मुलुक निर्माण गरि सुखी समृद्ध तथा समुन्नत नेपालको निर्माणको लागि खबरदारी र सहयात्री बन्नुपर्दछ भन्ने नितान्त बिचार सहित संचालित अनलाईन मिडिया मुग्लानी खबर संग समर्पित हुँदै निरन्तरता अगाडी बढेको पनि करिब तिन बर्ष भएको छ।
हामिले सन २०१९ लाई बिदाई गरि सन २०२० लाई स्वागत गरिसकेका छौ।बिगततिर एकपटक फर्केर हेर्दा मेरा मुग्लानमा बसेर मुग्लानी खबरलाई फलाउन फुलाउन अनवरत रुपमा समर्पित सहकर्मिहरुलाई सम्झिन चाहान्छु।उहाँहरुकै अतुलनीय योगदानले आज सन २०२० सङ्गै नयाँ रौनक, नयाँ योजना र गहिरो बिचार सङ अगाडी बढ्न पाएका छौ।यो तीन बर्षको अबधि भित्र विभिन्न सत्य तथ्य घटनाहरु विभिन्न ब्यक्तिका बिचारहरु, सामाजिक, राजनितिक, खेलकुद,साहित्य र सास्कृतिक क्षेत्रमा संघर्ष गरि सफलता प्राप्त गर्न सफल सक्षम सबल र देशलाई सहि र समृद्धशिल बाटोमा डोर्याउन सक्ने खुबी भएका ब्यक्तिहरुका बिचारहरु सम्प्रेषण गर्ने काम भए। सबै ब्यक्तिहरुका बिचारहरु उत्तिकै ओजनदार,उत्साही र प्रेरणादायी रहेका छन र समाज परिबर्तनमुखी थिए।
देशलाई समृद्धि तिर लैजान र जनताका हरेक सुखदुख मिडियाले पनि बुझ्न सक्नुपर्छ भन्ने हाम्रो पनि सोचाई हो।मिडिया समस्याको ओकालत मात्र होइन न्यूनीकरण र समाधानमा पनि अहम भुमिका खेल्न सक्छ भन्ने विभिन्न किसिमका संचालित कार्यक्रमले छर्लङ्ग बनाईसकेको छ ।पत्रकारिता गरिब दुखी अन्याय र अत्याचारमा पिल्सिएका ब्यक्तिहरुको दरिलो आवाज पनि हो।त्यसैक्रममा अनलाईन मिडिया मुग्लानी खबर मार्फत पनि केही सामाजिक सहयोगी काम समेत भएका छन।अझै यसलाई चुस्त दुरुस्त र तीन करोड नेपालीको मन जित्ने बिस्वास लिएर अनबरत रुपमा सुचारु गरि विभिन्न गतिबिधिहरु भैईरहेका छन।यो तीन बर्षको अबधिमा जति प्रगतिहरु भए सबै हाम्रा पाठकबृन्द,शुभेच्छुक ,अभिभावक ,सल्लाहकार र सहयोगी मनका धनी मनका सद्भावले भएको हो र आगामी दिनहरुमा पनि यहाँहरुको यो माया निरन्तर रहनेछ र यो माया र भरोसालाई खेर जान दिनेछैनौ अझै दरिलो बन्नेछौ अवस्यपनी एकदिन लक्षमा पुग्ने निस्चित छ।