हेमन्त केसी जाजरकोट
जाजरकोट भएर बाहिरी जिल्ला जाने रणनीतिक सडक निर्माण कार्य सुस्त हुँदा स्थानीयवासीलाई सास्ती हुँदै आएको छ । जाजरकोट–ब्युलीढुङ्गा–जुम्ला सडक निर्माण थालेको १२ वर्ष पुगे पनि ८० किलोमिटर सडकको ४० किलोमिटर पनि ट्र्याक खुल्न सकेको छैन । जुम्ला जोड्ने यो सम्भावित रणनीतिक मार्गमा करिब रु २५ करोड खर्च भइसकेको छ ।
अर्को ९० किमि लामो जाजरकोट छेडा–चाँदे–जुम्ला सडकको ३५ किमि मात्र निर्माण भएको छ । बाह्र वर्षअघि काम शुरु भएको उक्त सडकमा रु ३० करोड खर्च भइसकेको छ । त्यस्तै, १४० किमि लम्बाइको जाजरकोट–बारेकोट–चाखुरे–जुम्ला सडकको काम ३० किमिमा सीमित छ । रु २० करोड खर्च भइसकेको सो सडकको निर्माण ठप्प छ । जाजरकोट–जुम्ला जोड्ने यी तीनवटा रणनीतिक मार्गको निर्माण सुस्त छ । उक्त मार्गको पूरा ट्र्याक खोल्न सम्बन्धित निकायले ध्यान नदिँदा समस्या हुँदै आएको हो । बजेट अभाव र सम्बन्धित निकायको चरम ढिलासुस्तीले निर्माणमा चुनौती थपिँदै आएको छ ।
जाजरकोट–डोल्पा अर्थात् भेरी करिडोर र मध्यपहाडी लोकमार्गको निर्माण पनि सुस्त छ । जुम्ला जोड्ने रणनीतिक मार्ग प्रदेश सरकार मातहतमा आएकाले निर्माणमा अन्योल देखिएको सडक डिभिजन चौरजहारीका इञ्जिनीयर कुशल भुसालले बताउनुभयो । विगत वर्षसम्म जे जति निर्माण भए पनि बाँकी कार्य प्रदेश सरकार मातहतका कार्यालयले हेर्ने निर्णय भएको उहाँको भनाइ छ ।
रणनीतिक सडकको बजेटबारे जानकारी नभएको र कार्यालयमा बजेट पनि नआएको उहाँले जानकारी दिनुभयो । डिभिजन कार्यालयमा भेरी करिडोर, लुम्बिनी–रारा सडक र अन्य केही साना सडकका लागि बजेट आएको उहाँले जानकारी दिनुभयो । कार्यालयका अनुसार भेरी करिडोर स्तरोन्नतिका लागि २२ करोड र लुम्बिनी–रारा जोड्ने दुई सडकको सर्भे डिजाइनका लागि रु एक÷एक करोड बजेट आएको छ । भेरी करिडोर सडकको बहुवर्षीय ठेक्काका लागि सम्बन्धित निकायसँग सहमति लिने प्रक्रियामा छ ।
डिभिजन कार्यालयलाई तीन सम्भावित रणनीतिक मार्ग र २८ क्षेत्रीय तथा शहरी सडक निर्माणको जिम्मा थियो । सङ्घीय संरचनासँगै केही सडक प्रदेश र केही स्थानीय तहअन्तर्गत सारिँदा निर्माण सुस्त भएको हो । कुनै सडकमा मनोमानीे सर्भे तथा रेखाङ्कन, कुनैमा कडा चट्टान कटिङ नगर्दा र कुनैमा नाली, तारजाली–वाल, ढल निकास र ग्राभेललगायत स्तरोन्नति नहुँदा अलपत्र परेका हुन् । कर्णाली प्रदेश सरकारले पनि उक्त सडक निर्माणका लागि हालसम्म पहल गरेको छैन । रणनीतिक मार्ग चौडा बनाउने, नाली, तारजाली–वाल, ढल निकास र ग्राभेललगायत स्तरोन्नति गर्ने त परको कुरा, ट्र्याक खोल्ने कार्य नै अलपत्र छ ।
त्यस्तै तीनवटै रणनीतिक राजमार्गको ग्रेडिङ तथा घुम्तीको ‘स्पेस’ नमिलेको र विभिन्न खोलामा पुल हाल्न ढिलाइ भएको जिल्ला समन्वय समितिका प्रमुख मनबहादुर रावलले बताउनुभयो । ट्र्याक खोल्नै करोडौँ खर्च भएका यी सडकमा यातायातका साधन नगुड्दा लगानी खेर गएको उहाँको भनाइ छ । सडक खण्डको गारराङ्सीदेखि नाउलीसम्मको रेखाङ्कन गाडी चढ्नै नसक्ने गरी भएको रावलको भनाइ छ ।रासस