मुग्लानी खबर मंसिर ५
देशको आर्थिकस्थितीमा सुधार देखिए पनि मूल्यवृद्धिमा भने चाप परेको छ । २०७६ असोजमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ६ दशमलव २१ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ४ दशमलव ६८ प्रतिशत थियो । भदौं महिनामा भने मूल्यबृद्धि ६ दशमलव १६ प्रतिशत थियो ।
समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ७ दशमलव ०४ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ५ दशमलव ५५ प्रतिशत रहेको छ । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत मुख्यतः तरकारी, मासु तथा माछा, फलफूल र मसला उपसमूहको मूल्य वृद्धि उच्च रहेको छ । त्यसैगरी, गैरखाद्य तथा सेवा समूहअन्तर्गत मुख्यतः घरायसी उपयोगिताका वस्तु तथा सेवा, लुगा तथा जुत्ता र शिक्षा उपसमूहको मूल्य बढेको छ ।
काठमाडौं उपत्यकामा सबैभन्दा बढी मूल्यवृद्धि भएको छ भने पहाडमा सबैभन्दा कम चाप परेको राष्ट्र बैंकको तथ्यांकमा देखाइएको छ । काठमाडौं उपत्यकामा ८ दशमलव १४ प्रतिशत, तराईमा ५.७५ प्रतिशत, पहाडमा ४.८९ प्रतिशत र हिमालमा ५.११ प्रतिशत मुद्रास्फीति रहेको छ । गत वर्ष सोही अवधिमा क्रमशः ४.०४ प्रतिशत, ४.३४ प्रतिशत, ६.१० प्रतिशत र ४.२४ प्रतिशत मुद्रास्फीति थियो ।
समीक्षा महिनामा नेपालको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ६.२१ प्रतिशत रहेकोमा भारतमा (अक्टोबर महिनाको) मुद्रास्फीति ४.६२ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा नेपाल र भारतको मुद्रास्फीति क्रमशः ४.६८ प्रतिशत र ३.३८ प्रतिशत रहेको थियो ।
थोक मुद्रास्फीतिको अवस्था
२०७६ असोजमा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ५.१० प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ९.१७ प्रतिशत रहेको थियो । समीक्षा महिनामा खाद्य पदार्थ, यातायात उपकरण तथा पार्ट्स र टेक्सटाइल उपसमूहको थोक मूल्य वृद्धि उच्च रहेको छ ।
बृहत आर्थिक वर्गीकरणको आधारमा समीक्षा महिनामा उपभोग्य वस्तु, मध्यवर्ती वस्तु र पुँजीगत वस्तुको थोक मूल्यवृद्धि क्रमशः ११.९५ प्रतिशत, १.६१ प्रतिशत र २.४६ प्रतिशत रहेको छ । निर्माण सामाग्रीको थोक मूल्य भने २.४१ प्रतिशतले घटेको केन्द्रीय बैंकले जनाएको छ ।
बारही खबरबाट