मुग्लानी खबर-१ कार्तिक
दोलखाको शैलुङ गाउँपालिका-३,स्थित शैलुङ रङ्गशालामा कार्तिक १ गतेदेखि प्रथम शैलुङ कप खुल्ला फुटबल प्रतियोगिता हुने भएको छ । प्रतियोगिताको उद्घाटन शुक्रबार ३ नम्बर प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलालद्वारा गरिने मुल समितिका अध्यक्ष दिनेश श्रेष्ठले जानकारी दिए ।
अध्यक्ष श्रेष्ठका अनुसार प्रतियोगिता शैलुङ गाउँपालिकको साझेदारीमा स्टार शैलुङ क्लब, नव शैलुङ लालीगुराँस समाज र खाँडा देवी समाजले संयुक्त रूपमा आयोजना गर्ने भएका छन् ।
स्थानीय खेलाडीहरू कला प्रस्फुटनका साथै संरक्षण र सम्बर्द्धन गर्ने हेतुले आयोजना गर्न लागिएको प्रतियोगितामा खेल फिफा नियम अनुसार खेलाइने आयोजकले बताएको छ।
शैलुङ कपका बिजेताले १ लाख १ सय ११ रुपैयाँ नगद, मेडल प्रमाणपत्र, उपविजेताले ५० हजार ५५ नगद ,मेडल, प्रमाणपत्र र प्रतियोगिताको सेमिफाइनल पुग्ने टीमलाई नगद २० हजार ११ रुपैयाँ पुरस्कार दिईने बताईएको छ ।
त्यसैगरी प्रतियोगिताका उत्कृष्ट गोलकिपर, डिफेण्डर, स्ट्राइकर, सर्वाधिक गोलकर्ताले जनही २ हजार रुपैयाँ र प्रत्येक खेलका उत्कृष्ट खेलाडीले (म्यान अफ द म्याच)लाई १ हजार रुपैयाँ नगद पुरस्कार सम्मान र हौसला सहित प्रदान गरिइने जानकारी दिएको छ ।
प्रतियोगितामा ढुङ्गे युवा क्लब, मागापौवा युवा क्लब, सुनौलो चण्डीडाँडा युवा क्लब, फेदाली क्लब, खाँडादेवी समाज, गौतम बुद्ध क्लब, युनाइटेड ठुलोपाखर युवा क्लब, एक्टिभ बोइज खरिढङ्ग, शैलुङ शिखर स्पोर्ट्स क्लब, मुडे युवा क्लब, स्टार शैलुङ युथ क्लब, काटाकुटी फुटबल क्लब र नवशैलुङ ए, बि गरी १४ टिमले भाग लिएका छन् ।
बिहीबार सहभागी टीमका प्रतिनिधिहरुको उपस्थितिमा गोलाप्रथाद्वारा तयार पारिएको खेल तालिका अनुसार शुक्रबार नवशैलुङ लालीगुराँस समाज ए र ढुङगे युवा क्लब बीच खेल हुनेछ । फेदाली युवा क्लब र काटकुटी फुटबल क्लबले बाई पाएर क्वाटरफाइनलमा स्थान सुरक्षित बनाइसकेका छन् ।