समकालीन नेपाली आख्यान लेखनमा राजन मुकारुङले फरक पहिचान बनाइसकेका छन् । उपन्यास ‘दमिनी भीर’ले मदन पुरस्कार पाएपछि उनको चर्चा झन् बढ्यो । तर, यसको अर्थ के होइन भने उनी विवादरहित रहे । उनको उपन्यासमाथि अनेक टीकाटिप्पणी गरिए । तर, आफ्नो विचारमा राजन निरन्तर अडिग रहे । यस्तै आरोप र टीकाटिप्पणीबारे उनीसँग नयाँ पत्रिकाका शिखर घिमिरेले कुरा गरेका छन् । आफूमाथि लाग्ने आरोपमा मुकारुङले यसरी प्रस्टीकरण दिए:
आरोप – १ : पछिल्लो समय तपाईं ‘पहिचानको आन्दोलन’मा लाग्नुभएको छ । पहिचान भनेको खस क्षेत्रीलाई गाली गर्नु मात्र हो भन्ने कुरालाई यो आन्दोलनको मूल मर्मजस्तो बनाउनुभएको छ । तपार्इंलाई काठमाडौंसम्म ल्याएका त तिनै खस क्षेत्रीले होइनन् र ? तर तपाईं उनीहरूकै विरोध गर्नुहुन्छ ।
मैले कतै नाइजेरियन लेखिका चिमामान्दा अदिचीको अन्तर्वार्ता पढेको थिएँ । उनले भनेकी थिइन्, ‘नाइजेरियामा हुँदासम्म मलाई कालो छु भन्ने थाहै भएन, अमेरिका आएपछि मात्रै थाहा पाएँ । नाइजेरियामा हुँदा त वरपरका सबै आफूजस्तै देखेकी थिएँ । मलाई लागेको थियो– संसारै यस्तै हो ।’
मेरो हकमा पनि ठ्याक्कै यही लागू हुन्छ । जतिवेलासम्म म काठमाडौं आएको थिइनँ, मलाई हामी सिमान्तमा पारिएका छौँ भन्ने नै थाहा थिएन । मेरो वरपर सबै आफूजस्तै देखेको थिएँ । हाम्रो पहिचानमा कुनै समस्या छ भन्ने पनि हिजो भोजपुरमा हुँदासम्म थाहा थिएन । तर, काठमाडौं आएपछि बल्ल थाहा भयो– हामीमाथि राज्यसत्ताले ठूलो अन्याय गरिरहेको छ । त्यसैले, पहिचानको आन्दोलन खस क्षेत्रीविरुद्धको होइन, सत्ताविरुद्धको हो । अब फरक के भने सत्तामा उनीहरूकै हालीमुहाली छ, त्यसैले यो आन्दोलन उनीहरूविरुद्धको जस्तो लाग्नु स्वाभाविक पनि हो ।
अर्को कुरा, हामीले पहिले सानो स्वरमा यो आवाज उठायौँ, हामी विभेदमा पारिनुहुन्न भन्यौँ । तर, अचम्म ! ठूलो स्वर नगरेसम्म हाम्रो स्वर नै सुनिएन ।
आरोप -२ : ठीकै छ, तपाईंहरूले पहिचानको आन्दोलन गर्नुभयो । तर, परिवर्तनचाहिँ आफूबाटै गर्नुभएको छैन त । तपाईंकै कुरा गर्दा, किन नाम फेर्नुभएन ? राजन त खसक्षेत्री नाम होइन र ?
हो, यो एउटा समस्या छ । तर, हामीले यो नाम अहिले पाएका होइनौँ । पहिले यो नाममा आउँदा आफूलाई सिमान्तकृतमा छौँ भन्ने नै थाहा थिएन । जुनवेला म काठमाडौं आएँ, त्यतिवेला म यही नाममा गर्व गर्ने भइसकेको थिएँ । त्यो मेरो अनभिज्ञता रहेछ, मेरो नाममाथिका मेरा सपना अनयासै छाड्नुपर्ला भन्ने मैले सोचेकै थिइनँ । मलाई त काठमाडौं आउँदा लाग्थ्यो– सत्तामा हाम्रो पनि समान पहुँच छ । यहाँ आउँदाका सपनाहरूको अझै माया लाग्छ । तर, अचानक हामी एउटा लडाइँमा होमिनुपर्ने भयो । यो लडाइँमा लाग्दा हामीले नाम फेर्नु पर्ने कुरामा धेरै ध्यान दिनै सकेनौँ ।
आरोप- ३ : लेखक भएकै कारण पनि तपार्इंको सोच फराकिलो हुनुपर्ने हो । तर, तपाईंहरू एउटा सानो गुटमा रमाउनुहुन्छ । आफ्नो गुटका लेख रचनालाई मात्र राम्रो भन्नुहुन्छ, अरूको पढ्दैनपढी आलोचना गर्नुहुन्छ ।
सबैभन्दा पहिले हामीले बुझ्न जरुरी छ– गुट कसैले पनि चाहेर जन्मिने होइन । विचार, आन्दोलन र उठबसले गुटको सिर्जना हुन्छ । गुटभन्दा पनि समूहको जन्म हुन्छ । जसको विचारधारा मिल्छ, संस्कृति र वर्तमान परिपे्रक्षका यावत् कुरा मिल्छन्, त्यो समूह हो । जसको सोच मिल्छ र मिल्छन् जीवनका गोरेटाहरू ।
जस्तो कि हामी अहिले पहिचानको पक्षमा लेखिरहेकाहरूको सम्बन्ध पहिलेदेखि यहाँ माक्र्सवादी, प्रगितिशील भनिएकासँग मिल्छ । हामीले सत्तासँग आफ्ना माग राखेका छौँ । त्यसैले, सत्ताको भजन गाउनेसँग हाम्रा कुरा नमिल्नु सामान्य हो, स्वाभाविक हो ।
केचाहिँ बिल्कुल होइन भने हामी आलोचनाका लागि आलोचना गर्छौं । म पनि कसैको रचना नपढी त्यसमाथि आलोचना गर्दिनँ । तर, जब यहाँका प्रज्ञा प्रतिष्ठान ‘अछुतले अछुत भएकोमा गर्व गरोस्’जस्ता कवितालाई मञ्चमा वाचन गर्न लगाउँछन्, तब हाम्रो आलोचना सुनिनु स्वाभाविक हो ।
हामीले र मैले पनि अहिलेसम्म कसैको व्यक्तिगत कुरामा गाली गरेको छैन, तर समाजका नराम्रा प्रवृत्तिमाथि चाहिँ प्रश्न उठाएका छौँ । तर, यसलाई बुझेर वा नबुझेरै पनि आरोप लगाइएको छ, हाम्रो आलोचना गरिएको छ । जसले राम्रो लेखेको छ, उसको प्रशंसा हामीले गरेका छौँ तर यसलाई त्यति ध्यान दिएर हेरिएको छैन । हामीमाथि अनावश्यक आरोप मात्र लगाइएको छ ।
आरोप – ४ : तपाईं विचारमा प्रष्ट हुनुहुन्न । पहिले तपार्इं माओवादी पक्षधर हुनुहुन्थ्यो, पछि अशोक राईको पार्टीमा लाग्नुभयो । अब त त्यही पार्टी पनि पहिलेजस्तो रहेन । अहिले तपाईं अन्योलमा हुनुहुन्छ ।
यो आरोप मलाई बारम्बार लाग्ने गरेको छ । त्यसको मैले खण्डन गर्दै आएको पनि छु । अशोक राईको पार्टी निर्माण हुनुभन्दा १४ वर्षपहिले हामीले सिर्जनशील अराजकताका नाममा आन्दोलन गरेका थियौँ ।
स्वाभाविक रूपमा मैले जे सोच्ने गरेको थिएँ, त्यसैलाई अजेन्डा बनाएकाले म माओवादी आन्दोलनसँग जोडिएँ । झन् गोपाल किराँतीले चलाएको खम्बुवान मुक्ति आन्दोलन र यसका गतिविधिसँग म नजिक हुने नै भएँ । खम्बुवान र लिम्बुवान मिलेर किराँत मुक्ति मोर्चा बन्यो, जुन मेरै सोचको अवधारणासँग मिल्थ्यो । अनि त म झन् यसको नजिक भएँ । नेपालमा राजनीतिक आन्दोलनकै रूपमा माओवादीले जातीय मोर्चा निर्माण गर्न थाल्यो, विभिन्न जातिलाई संगठित ग¥यो । यसले मलाई झन् माओवादीनजिक बनायो, भावानात्मक रूपमा पनि । तर, विडम्बना पहिलो संविधानसभाबाट माओवादीले देशलाई निकास दिन सकेन । उसले आफूले उठाएका काम गर्न सकेन । सबैभन्दा ठूलो पार्टी भएको नाताले त्यसको जिम्मेवारी माओवादीले लिनुपथ्र्यो । तर, उसले आँखा चिम्लियो ।
त्यसपछि यो पार्टीप्रति मेरो मोहभंग भयो । यहीबीचमा अशोक राईले पार्टी खोल्नुभयो । उहाँको विचार र पार्टीले लिएको अजेन्डासँग मेरो सहमति भयो । हाम्रो सोच र विचार मिलेपछि म अशोक राईको पार्टीमा संगठित भएँ । देशले त्यसपछि संविधानसभाको दोस्रो निर्वाचन ग¥यो, भूकम्प गयो । यो हामीले भोगेको महाविपत्ति हो । त्यसपछि नाकाबन्दी भोग्यौँ । यसबीचमा म धेरै समय देशबाहिर रहेँ । मैले मेरा विचार राखिरहेको थिएँ । कति कुरा यहाँ आएनन् । आखिर म त्यस्तो ठूलो मान्छे पनि होइन, जसले बोलेका कुरा बाहिर आइहालून् । मैले भन्न खोजेकोचाहिँ के हो भने अहिले म दोधारमा छैन, कुन पार्टीमा लाग्ने भन्ने छैन । मेरो एउटै माग भनेको पार्टीको भिजन हुनुपर्छ भन्ने हो । प्रस्ट रूपमा पार्टीको उद्देश्य बाहिर आउनुपर्छ भन्ने हो, त्यसका लािग म संघर्ष गरिरहन्छु । तर, अन्योलमा रहन्न ।
आरोप – ५ : अरू त कुरै छाडौँ, तपाईंको आफ्नै दाइ श्रवण मुकारुङसँग पनि कुनै कुरा मिल्दैन ।
हो, हामी दाजुभाइ भए पनि उहाँको र मेरो सैद्धान्तिक तथा वैचारिक मतभेद छन् । मैले जे पक्षमा कुरा उठाइरहेको छु, त्यसमा उहाँको विचार मिल्दैन । कसैसँग विचार नमिल्नु वा सैद्धान्तिक तर्क नमिल्नु सबै सम्बन्ध सकिनु होइन । के पनि हो भने उहाँले गरेका राम्रा कामको मैले समर्थन गर्दै आएको छु, सम्मान गरिरहेकै छु । पारिवारिक रूपमा हामी दाजुभाइ नै हौँ, यो सम्बन्ध सधैँ सुमधुर रहिरहनेछ ।
आरोप – ६ : तपाईंको अर्को समस्या हो– तपाईं घमन्डी हुनुहुन्छ । अरूलाई मान्छे नै गन्नुहुन्न । झन् मदन पुरस्कार पाएपछि त तपाईंले पहिले सम्मान गर्दै आएका ‘दाइ’हरूलाई पनि वास्ता गर्नुहुन्न ।
यो चाहिँ पूर्ण रूपमा ममाथि लगाइएको गलत आरोप हो, आक्षेप हो । ममा यस्तो बानी कहिल्यै भएन । अब सम्भवतः कहिल्यै हुने पनि छैन, किनकि म आफूलाई त्यस्तो मान्छे मान्छु, जसले अरूलाई गन्छ । तर, आफूलाई सर्वेसर्वा हुँ भन्ने सोच भएकाले मलाई यस्तो आरोप लगाएका हुन सक्छन् ।
योचाहिँ किन हो भने नयाँ पुस्ताले पुरानो पुस्तासँग प्रश्नै गर्नुहुन्न भन्ने प्रवृत्तिको विरोधी हुँ । म नयाँ पुस्तासँग जोडिन चाहन्छु, उनीहरूका कुरा सुन्न चाहन्छु । तर, म के चाहन्नँ भने कुनै पनि नयाँ पुस्ताको मान्छेले आफूभन्दा अग्रजको झोला बोकोस्, झोले बनोस् । उसले त आफूलाई मन पर्ने मान्छेसँग पनि प्रश्न गर्ने सामथ्र्य जुटाउन सक्नुपर्छ । दास बन्ने प्रवृत्तिको विरोध गर्दा ममाथि यस्तो आरोप लागेको हो भने लागिरहोस् ।
आरोप – ७ : तपाईंको लेखनमा पनि विचार प्रष्ट हुँदैन । ‘दमिनी भिर’मा पनि यही समस्या छ ।
यो चाहिँ कुनै पनि कृतिलाई कसरी पढिन्छ भन्नेमा निर्भर हुने कुरा रहेछ । दमिनी भिरमा धेरै पात्रका बीचमा विचलन भएको छ । मलाई लाग्छ, यो कुराले धेरैलाई डिस्टर्ब गरेको होला । तर, हामीले हाम्रो समुदायमा मात्र होइन, देशको राजनीतिमा पनि यही समस्या भोगेका हौँ । यसलाई कसैले पनि नकार्न सक्दैन । अब मैले जुन भूगोलको कथा लेखेँ, त्यहाँका पात्रको मनोदशा नै त्यही थियो । मैले जे देखेँ, त्यही लेखेँ । पहिलो संविधानसभा, दोस्रो संविधानसभा र अहिलेको अवस्थामा आइपुग्दा माओवादीमा देखिएको समस्या र मैले लेखेको कुराको तालमेल मिलेको छजस्तो लाग्छ । बीचमा यस्ता विचलनका कुरा आएकाले उपन्यासमा विचार प्रष्ट भएन भनिएको होला । तर, के हो भने उपन्यासको अन्त्य जसरी भएको छ, त्यसले उपन्यासलाई पक्कै विचारमा प्रष्ट बनाएको हुनुपर्छ ।
आरोप – ८ : तपाईसँग लेखनका लागि फराकिलो दायरा छैन । एउटै मिथ र भूगोलमाथि काम गरिरहनुभएको छ ।
यो चाहिँ सत्य हो । तर, यो आरोप होजस्तो पनि मलाई लाग्दैन । किनकि एउटा लेखकले आफ्नो ज्ञानमाथि काम गर्ने हो । आफ्नो भूगोल, समुदाय र विचारमाथि सिद्धहस्तमाथि काम गर्ने हो । म एउटै मिथ र भूगोलमा किन पनि काम गरिरहेको छु भने त्यसमाथि यसअघि खासै लेखिएको छैन, काम नै भएको छैन । यसको लेखनको सुरुवात भएकाले पनि भन्नुपर्ने कुरा अझै धेरै बाँकी छ । त्यसैले पनि अहिले यो समुदाय र मिथमाथि काम गर्नुपर्ने हुन्छ । मसँग बाहिर जानका लागि समय पनि छैन । यसलाई सम्भवतः पाठकले पनि बुझ्नुभएको छ ।
आरोप – ९ : तपाईं आफ्नो आलोचना पचाउनै सक्नुहुन्न । कतिसम्म आक्रोशित हुनुहुन्छ भने कुनै पनि समीक्षकको कुरालाई खण्डन गर्न हतार गरिहाल्नुहुन्छ ।
मेरो सिर्जनामाथि भएका स्वच्छ समीक्षा र समीक्षकका विषयमा सायद मैले त्यस्तो आक्रोशित भएर कहिल्यै प्रतिक्रिया दिएको छैन, खण्डन गरिहालेको पनि छैन । तर, केचाहिँ हो भने आलोचना गर्नेले एउटा आधारमा गर्नुपर्छ, एउटा धरातलमा रहेर गर्नुपर्छ । आलोचना तथा खण्डनका लागि पनि तत्व चाहिन्छ, इलिमेन्ट्सको खाँचो पर्छ । सतही र व्यक्तिवादी भएर गरिएको आलोचना मलाई मन पर्दैन, त्यसको म खण्डन गर्छु । यस्तो हुनुको कारण अर्को पनि होला– म प्रतिरोधी स्वभावको छु । त्यसैले पनि म खण्डन गर्न अगाडि बढ्छु होला । तर, यसको अर्थ के होइन भने म यत्तिकै बहकाउमा लागेर कसैको विरोध गर्छु र यत्तिकै बहकाउमा लागेर गरिएको विरोधमा तटस्थ रहन सक्छु ।
आरोप – १० : तपाईं चर्चाका लागि उपन्यासतिर लाग्नुभयो । आफूलाई साहित्यमा डोर्याएको कविता विधालाई छाड्नुभयो। योचाहिँ मेरो कारणले होइन, मैले चटक्कै कवितालाई छाडेको पनि छैन । विभिन्न कार्यक्रममा गइरहेको छु, कविताप्रति मेरो सम्मान र श्रद्धा घटेको पनि छैन ।
तर, आजभोलि साथीभाइहरू पनि मलाई कविताका कार्यक्रममा बोलाउँदैनन् । प्रकाशक पनि कविता छाप्दैनौँ, उपन्यास लेख भन्छन् । उपन्यास लेखेकैले यो उपन्यासतिर लाग्यो भन्नेहरू पनि छन् । यी सबै परिस्थितिका कारण म कवितामा नभएको जस्तो देखिएको हो । त्यसमाथि आफूले लेखेको आवाज धेरैले सुन्ने भएकाले पनि आफ्ना मुद्दा ‘मास’मा पु¥याउन उपन्यास लेख्नुपर्ने भयो । यो सबै हुँदाहुँदै पनि मैले कविता छाडेको छैन, कविताका कार्यक्रममा गइरहेको छु । कविताकै विषयमा लेखिरहेको छु । नयाँ पत्रिकाबाट- See more at: http://www.enayapatrika.com/2016/08/84326#sthash.xBvgMp5W.dpuf
प्रकाशित मिति: आइतबार, भदौ १२, २०७३