मुग्लानी खबर-१२ श्रावण
सन्तोष क्षत्री -दोहा कतार
धौलागिरी कालिका हाइड्रो लिमिटेडमा अध्यक्ष बिनोद कुवरले वैदेशिक रोजगारी तथा ब्यवसायको सिलसिलामा बाहिर रहेका नेपालीले आफू संगै बिदेशी कम्पनीको पुजि नेपाल भित्र्याउन चाहेपनी नेपालको झन्झटिलो प्रक्रियाले समस्या भएको बताएका छन् ।
गण्डकी प्रदेश समन्वय परिषद र परिषद अन्तरगतका जिल्ला संस्थाले आयोजना गरेको "समृद्ध नेपालका लागि जलविद्युत आयोजना" साथमा " जीवन जिउने कलाशैली" सम्बन्धि कार्यक्रममा बोल्दै अध्यक्ष कुवरले बिदेशी कम्पनी नेपालको बिशेष गरि जलविद्युत लगाएतका क्षेत्रमा लगानी गर्न इच्छुक भएपनि सरकारको लामो कागजी प्रक्रियाले आउन नसकेको बताए ।
विभिन्न विवादले अगाडि बढन नसकेको दर्बाङ्ग म्याग्दी खोला जलविद्युत परियोजना स्थानीय ब्यक्तिको लगानीमा आफुहरुले निर्माण गर्न लागेमा सानो काम गर्नको लागि सरकारी कार्यलय घुम्दा घुम्दै महिनै लाग्ने गरेको भन्दै सरकारले लगानी आकर्षण गर्नको लागि कागजी प्रक्रिया सहज गर्नुपर्ने बताए ।
एन आर एन ए आइसिसि प्यासिफिकको सह संयोजक समेत रहेका कुवरले रास्ट्र समृद्ध नभए सम्म ब्यक्ति जती सम्पन्न भएपनि बिदेशमा नेपालीको श्रम र सिपको सम्मान नहुने भन्दै ब्यक्तिगत भन्दा पनि सामुहिक लगानी गर्नुपर्ने बताए । करिब ३० बर्ष देखि दक्षिण कोरियामा ब्यबसाय गर्दै आएका कुवरले जलविद्युत संगै आफुले मोनोरेल र अत्याधुनिक कुखुरा पालनमा लगानी भित्राइ रहेको भन्दै अन्य गैरआबासिय नेपालीलाई आफ्नो मातृभुमीमा लगानी गर्न आग्रह गरे ।
धौलागिरी कालिका हाइड्रो लिमिटेडले संचालन गर्न लागेको २५ मेगावाट क्षमताको दर्बाङ्ग म्याग्दी खोला जलविद्युत आयोजनाको बारेमा जानकारी गराउदै आयोजनाका म्यानेजिङ डाइरेक्टर हर्कमान घर्ती मगरले नेपालमा र विशेष गरि गण्डकी प्रदेशमा जलविद्युतको लागि आकर्षक लगानीको क्षेत्र रहेको भन्दै यसमा लगानी गर्न आग्रह गरे ।
हाल निर्माणधिन आयोजनाको लागी सानिमा बैंकको नेतृत्वमा ६ वटा बैंकले ७० प्रतिशत लगानी गर्ने र ३० बर्षको लागि `टेक अर पे´ अर्थात उत्पादन भएको सबै लिने आधारमा नेपाल बिधुत प्राधिकरण सङ्ग बिधुत खरिद सम्झौता भएको भन्दै आफ्नो परियोजनामा लगानी सुरक्षीत रहेको बताए । आगामी ४ बर्ष भित्र बिधुत उत्पादन गर्ने लक्ष्य सहित म्याग्दीको मालिका गाउँपालिकामा निर्माण गर्न लागिएको आयोजनामा ५ किलोमिटर सुरुङ्ग मार्ग हुने र करिब ५ अरब १५ करोड अनुमानित लागत रहेको बताए ।
इलेक्ट्रोनिक इन्जिनियर समेत रहेर बिगत ३० बर्ष देखि चीन तथा हङकङमा ब्यबसाय गर्दै आएका मगरले आफनै मातृभुमिमा केही गर्नुपर्छ भन्ने सोचले नेपाल आएको बताए ।
कार्यक्रम मानव सेवा आश्रम नेपालका अध्यक्ष एवं रामजी अधिकारीले दैनिक गरिने कामलाई कसरी सकारात्मक सोच राखेर जीवनलाई नै रचनात्मक बनाउन सकिन्छ भन्ने बारे प्रशिक्षण दिएका थिए ।
उत्प्रेरक समेत रहेका अधिकारीले जन जनमा मानवता प्रवर्द्दनका लागि सकारात्मक सोच, सृजनशिलता, रचनात्मकता, मानवीयता र सामाजिक भावनाको विकास सँगसँगै असल नागरिक निर्माण गरि समृद्द एवं मानवीयताको राष्ट्र नेपाल निर्माणको मुख्य अभिष्ट रहेको बताए ।
कार्यक्रममा गण्डकी प्रदेश समन्वय परिषदका अध्यक्ष हंसराज ढकाल क्षत्री जलविद्युतको बारेमा जानकारी गराउन कतार आएको धौलागिरी कालिका हाइड्रो लिमिटेडको टिमलाई धन्यवाद व्यक्त गर्दै परिषदको तर्फबाट १ करोड लगानी रहने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा प्यानलिस्टको तर्फबाट बोल्दै आइ सिसि मानार्थ परिषद सदस्य बिल गुरुङले लामो समय ब्यबसायगरेको अनुभवी समुहको नेतृत्वमा निर्माणधिन आयोजनामा लगानी गर्न अनुरोध गरे ।
सो कार्यक्रमको संचालन गण्डकी प्रदेश समन्वय परिषद कतारका महासचिव रामजी खत्रीले गरेका थिए ।