शीतल गिरी दहचोक, (काठमाडौँ), ७ माघ, कवि तथा नियात्राकार जय छाङ्छाका तीन कृति आज विमोचन गरिएको छ । स्रष्टा पदयात्रा २०७३ को तेस्रो श्रृङ्खला अन्तर्गत दहचोकको डाँडामा रहेको काजी कालु पाँडेको समाधिस्थलमा ति कृतिहरुको ऐतिहासिक विमोचन गरिएको हो ।
छाङ्छाका तीन कृतिहरु दोहाको सिधा उडान (नियात्रा संग्रह), यात्रामा कविता (नेपाली र हिन्दी भाषामा लेखिएका कविता संग्रह) र द्याट आई लभ्ड द वल्र्ड (अंग्रेजी भाषा) को स्थानीय अतिथि (नबोलाइएका, त्यही उपस्थित) भरत खत्री र प्रमुख अतिथि (पदयात्री) भूवनहरी सिक्देलले संयुक्त रुपमा विमोचन गरेका थिए ।
नियात्रा संग्रह दोहाको सिधा उडानको बारेमा नियात्राकार जय छाङ्छाले परिचय प्रस्तुत गरेका थिए भने डा. भक्त राईले समीक्षा गरेका थिए । अन्य पदयात्री स्रष्टाहरुले पनि आ–आफ्ना रचनाहरु वाचन गरेर सुनाएका थिए । प्रमुख अतिथि सिक्देलले कार्यक्रमलाई सम्बोधन गर्दै स्थानीय ऐतिहासिक स्थलहरुको परिचय र छन्द कविता वाचन गरेका थिए । यसैगरी कवि डिल्लीराज अर्यालले पृथ्वीनारायण शाहसँग जोडिएको स्थानमा पुगेर सोही विषयको कविता सुनाएका थिए । अर्का कवि नारायण तिवारीले हेलो सरकार शीर्षकमा निक्कै मार्मिक र समसामयिक कविता सुनाएका थिए भने कवि शशि थापा पण्डितले सतीको वकपत्र शीर्षकको कविता सुनाएकी थिइन् ।
कार्यक्रममा पत्रकार डिल्लीरमण सुवेदीले उपस्थित सबैलाई धन्यवाद ज्ञापन गरेका थिए । कार्यक्रमको सभापतित्व गरेका स्थानीय प्रतिनिधि भरत खत्रीले जीवनमै पहिलो पटक वौद्धिक वर्गको कार्यक्रममा सभापति बन्न पाउनु अवसर र अविश्मरणीय घटना भएको बताउँदै स्रष्टाहरुलाई धन्यवाद दिए । सो कार्यक्रमलाई संस्कृति विद् तथा अन्वेषक शितल गिरीले सञ्चालन गरेका थिए ।
स्रष्टा पदयात्राको तेस्रो श्रृङ्खला अन्तर्गत आज ८ जना पदयात्रीहरु काठमाडौँको सितापाइला हुँदै करिब ५ घण्टाको समयमा नागार्जुन नगरपालिकामा पर्ने काजी कालु पाँडेको समाधिस्थलमा पुगेका थिए । सदा झैँ सो ऐतिहासिक स्थलमा एक कार्यक्रमको आयोजना गरी कृति विमोचन र रचना वाचन गरिएको थियो । पदयात्रामा पदयात्रीबाटै साहित्यिक कृति विमोचन भएको नेपाली साहित्य इतिहासमासायदै यो पहिलो अवसर हो । राजधानीमा क्रियाशिल स्रष्टाहरु स्वास्थ्य र सिर्जना भन्ने नारासहित हरेक महिनाको पहिलो शुक्रबार यसरी पदयात्रामा जाने गर्दछन् । aajakokhabar.com