मुग्लानी खबर बैशाख ६
कुनै समयमा ११९ वटा विमान राखेर दिनको ६०० भन्दा बढी उडान गर्ने जेट एयरवेजले उडान रोक्ने निर्णय लिएपछि त्यहाँ काम गर्ने १६ हजार कर्मचारीको भविष्य अन्योलमा परेको छ । तीमध्ये धेरै कर्मचारीले महिनौंदेखि तलब पाएका छैनन् ।
जेट एयरवेजका लागि बुधवार राति अमृतसरबाट मुम्बईको उडान नै अन्तिम रह्यो र उसले सबै कामकारवाही रोकिएको घोषणा गरिसकेको छ । ऋणमा चुर्लुम्म डुबेको जेट एयरवेजमा आपतकालीन लगानी आउने स्थिति नदेखिएकाले जेटले इन्धनका लागि तथा अन्य सेवा सञ्चालनका लागि पैसा तिर्न नसकेको भन्दै सबै काम रोकेको हो ।
यसै हप्ताको आरम्भमा एयरलाइनसँग जम्मा सात विमान थिए ।
जेट एयरवेजका कर्मचारीले बिहीवार नयाँ दिल्लीको जन्तर मन्तरमा विरोध प्रदर्शन गरे अनि मुम्बईस्थित मुख्यालयअगाडि भेला भए ।
मुम्बईमा जेट एयरवेजको विमानस्थल एजेन्ट २३ वर्षीया जोया शेखले यो महिनाको तलब कुरिरहेको बताइन् । ‘के भइरहेको छ भन्ने कुनै स्पष्ट कुरा थाहा छैन । एयरलाइन व्यवस्थापकले हामीलाई लगानीकर्ताको योजनाको प्रतीक्षा गर्न भनेको छ,’ उनले भनिन् ।
जेट एयरवेजका पाइलटहरूले आफूलाई चार महिनादेखि तलब नदिइएको गुनासो गरेका छन् । नयाँ दिल्लीमा बिहीवार सयौं कर्मचारीहरू युनिफर्ममा भेला भएका थिए । जेटका विमान कर्मचारीले लगाउने पहेंलो ड्रेसमै उनीहरूले प्रदर्शन गरेका थिए । उनीहरूले प्रधानमन्त्री नरेन्द्र मोदीलाई यस विषयमा हस्तक्षेप गर्न अपील गरेका थिए । केहीले ‘जेट एयरवेज बचाऊ, हाम्रो परिवार बचाऊ’ भनी लेखिएका प्लेकार्ड बोकेका थिए ।
‘मेरा बच्चाहरूले औषधि मागिरहेका छन् । हामी कहाँ गएर भीख माग्ने ? हामीले सरकारलाई नभन्ने हो भने कसलाई भन्ने त ?’ जेट एयरवेजका ब्यागेज ह्यान्डलर राजेन्दर कुमारले बिलौना गरे ।
नयाँ दिल्लीस्थित ट्राभल एजेन्टहरूले जेट एयरवेजको काम बन्द हुँदा भारतभित्र र बाहिर जाने फ्लाइटको मूल्य र उपलब्धतामा असर परिरहेको बताए ।
उड्डयन नियमन संस्थाले यात्रुहरूका चिन्तालाई सम्बोधन गर्ने प्रयास गरेको छ । ‘हाम्रो प्राथमिकता भनेको हाम्रो उड््डयन प्रणालीको सुरक्षा, सहजता र सुलभता हो । हामीहरू एयरलाइन्स र विमानस्थलहरूलाई सहयोग गरी टिकटको मूल्य स्थिर र प्रतिस्पर्धात्मक राख्न तयार छौं,’ डीजीसीएले ट्वीट गर्दै लेख्यो ।
जेट संकटमा परेपछि अन्य एयरलाइन्स कम्पनीका लागि अवसर खुलेको छ । जेटले विमान उडाउन छोडेपछि उनीहरूले विमानस्थलहरूमा थप स्लट पाएका छन् । जेटले ओगटेका स्लटहरू अन्य एयरलाइन्सलाई विमान र कर्मचारी संख्याका आधारमा वितरण गरिने नागरिक उड्डयन मन्त्रालयका एक अधिकारीले नाम नबताउने शर्तमा बताए ।
यसरी स्लट पाएपछि एयरलाइन कम्पनीले उड्डयन सीजन वा ६ महिनाका लागि त्यो स्लट राख्न पाउँछ र जेट उड्ययन सीजनको अन्त्यसम्ममा बौरियो भने उसले फेरि आफ्नो स्लटमा दाबी गर्न पाउँछ, उनले बताए ।