मुग्लानी खबर पौष २५
सरकारले ले मंसिर अन्तिम साता मन्त्रिपरिषद्बाटै एक सयभन्दा माथिका भारतीय नोटमा प्रतिबन्ध लगायो ।
यो निर्णयले नेपालमा भन्दा भारतमा बढि चर्चा पायो । नोटबन्दीको बदला स्वरुप नेपाल सरकारले भारु नोट नचलाउने निर्णय गरेको भनेर भारतीय सञ्चारमाध्यमले ब्याख्या गरे ।
तर, अहिले पुनः भारु चलाउने विषयमा नेपालले नै अग्रसरता देखाएको छ । भारु नोट चलाउन नेपाल राष्ट्र बैंकले भारतीय रिजर्भ बैंक (आरबीआई) लाई पत्रचार गरेको हो ।
त्यसको उत्तर भने अहिलेसम्म नपठाएको राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीले बताए ।आरबीआईले अनुमति दिए नेपालमा बन्देज भनिएका भारतीय नोट चल्ने उनको भनाइ छ ।
मंसिरको अन्तिम साता बसेको मन्त्रिपरिषद्को बैठकले एक सय रुपैयाँभन्दा ठूला दरका भारतीय नोट नचलाउने निर्णय गरेको थियो ।
भारतले २०१६ अक्टोबरमा कालो धनलाई नियन्त्रण गर्ने भन्दै ठूला दरका नोटमा प्रतिबन्ध लगाएको थियो । प्रतिबन्धपछि भारत सरकारले दुई हजार र दुई सय दरका भारु नोट प्रचलनमा ल्यायो । नयाँ नोट अन्य देशमा चलाउन अनुमति भारतले प्रदान गरिनसकेका कारण नेपालमा नचलाइएको डेपुटी गभर्नर सिवाकोटी बताउँछन् ।
‘अब भारतले नै अरु मुलुकमा नचल्ने भनेको पैसा यहाँ ल्याउन दिएर नेपालीलाई फसाउनु त ?’ उनले प्रश्न गरे, ‘नेपालमा ती नोटहरु ल्याउने र प्रहरीले पक्राउ गर्न थालेपछि सरकारले सचेत भएर त्यो कदम चालेको हो ।’
डेपुटी गभर्नर सिवाकोटीले मिडियाले खेदेका कारण पनि ति नोटहरु पुनः चलाउने तयारी भइरहेको बताए ।
भारतसँग सम्बन्ध बिग्रन लाग्यो भनेर पत्रकारले लेखेको भन्दै उनले ‘२ सय र ५ सय रुपैयाँको मात्रै भए पनि चलाउन देऊ’ भनेर भारत सरकारसँग आग्रह गरिएको बताए ।