मुग्लानी खबर मंसिर १६
पेट्रोलियम पदार्थको खपत बढ्दा चालू आर्थिक वर्षको पहिलो चार महिनामा ६८ प्रतिशतले आयात बढेको छ ।
व्यापार निकासी प्रवर्द्धन केन्द्रको तथ्याङ्क अनुसार साउनदेखि कात्तिकसम्म पेट्रोलियम पदार्थको आयात ६८ प्रतिशतले वृद्धि भएको हो । चालू आर्थिक वर्षको सो अवधिमा कुल ६९ अर्ब ७ करोड ५८ लाख रुपैयाँको पेट्रोलियम पदार्थ आयात भएको छ । पेट्रोलियम पदार्थको यो आयात गत वर्षको सोही अवधिको तुलनामा ६८ दशमलव २ प्रतशतले बढेको हो ।
गत आर्थिक वर्षको सोही अवधिमा ४१ अर्ब ७ करोड १५ लाख रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको थियो । पेट्रोलिय पदार्थको माग बढ्दै गएपछि आयात बढेको नेपाल आयल निगमका अधिकारीहरूले बताएका छन् ।
निगमका नायव कार्यकारी निर्देशक नागेन्द्र साहले पेट्रोलियम पदार्थको माग ह्वात्तै बढेको बताए । मागको दर निरन्तर बढ्दो क्रममा रहेको र भण्डारण क्षमता न्यून रहेको भन्दै उनले अबका दिनमा पेट्रोलियम पदार्थ सहज आपूर्तिमा समस्या आउन सक्ने बताए ।
व्यापार निकासी तथा प्रवर्द्धन केन्द्रका नायव कार्यकारी निर्देशक सुयश खनालले पेट्रोलियम पदार्थको उच्च आयातले नेपालको वैदेशिक व्यापार घाटा बढाउनमा मदत पुर्याएको बताए । नेपालको वैदेशिक व्यापार घाटा वृद्धि हुनुमा सबैभन्दा बढी भूमिका पेट्रोलियम पदार्थको रहेको उनको भनाइ थियो । चालू आर्थिक वर्षको पहिलो चार महिनामा नेपालको वैदेशिक व्यापार घाटा साढे खर्ब नाघेको छ ।
नेपालमा आयातित वस्तुमध्ये सबैभन्दा बढी आयात पेट्रोलियम पदार्थको हुने गरेको छ । कुल आयातको करीब १५ प्रतिशत आयात पेट्रोलियम पदार्थको रहेको केन्द्रको तथ्याङ्कमा उल्लेख छ ।
गत आर्थिक वर्षमा पेट्रोलियम पदार्थको कुल आयात १ खर्ब ७२ अर्ब ८८ करोड ४९ लाख २४ हजार रुपैयाँ बराबरको भएको केन्द्रको तथ्याङ्कमा उल्लेख गरिएको छ । नेपालको आयात व्यापार मुख्यरूपमा भारत र चीनसँग हुँदै आएको छ । त्यसबाहेक फ्रान्स, युएई, थाइल्याण्ड, इण्डोनेसिया, मलेसिया लगायतका देशसँग हुँदै आएको छ ।
त्यस्तै क्यानडा, भितनाम, अर्जेन्टिना दक्षिण कोरिया लगायतका मुलुकसँग पनि आयात व्यापार हुँदै आएको व्यापार निकासी तथा प्रवर्द्धन केन्द्रले जानकारी दिएको छ ।