मुग्लानी खबर- कार्तिक १९
केशव चापागाईं दोहा कतार
कहिले नुनको अभावमा कहिले भुटुनको अभावमा त कहिले खानैको अभावमा सुदुर पश्चिमको बिकट जिल्ला दार्चुलाको मार्मा गाउँपालीका-६ शेरीमा जन्मिएर आफ्नो जिवनका दु:ख कष्ट जति सबै नियालेका इश्वर सिंह महता अहिले आफ्नो जन्मथलो प्रदेस नं ७ को चिनारी पप्लेटमा राखेर आफ्नो शरीर भन्दा ठूलो साइकल बोकी देशै भरी प्रदेस ७ को पर्यटकिय स्थलको परिचय दिदै हिडिरहेका छ्न।
अभावै अभावको पहाड माथी आफ्ना पिता र कान्छो भाइ बिरामी भए पछी १३ वर्षकै उमेरमा भारत कमाउन पसेका महताले मन हुँदाहुँदै पनी ५ कक्षा भन्दा धेरै पढ्न पाएनन।अभावले नै जिन्दगीको पाठ सिकाएको महतालाई फेरि साउदी अरब लत्यायो।महताको साउदी अरबमा भोगेको बेग्लै कथा छ।उनले साउदीमा नगरपालिकाको फोहोर फाल्ने गाडीचालकको काम पाएका थिए । आफू गएको कम्पनीमा भनेअनुसारको काम नपाएपछि उनी फोहोर फाल्ने चालक बनेका थिए । एकदिन फोहोर संकलकले गाडीमा फोहोरसँगै एक महिलाको शव देखेको बताए ।
‘म झस्किएँ । अब पुलिसले लाने भयो भनेँ,’ उनले भने, ‘गाडीबाट ओर्लिएर हेर्दा हातखुट्टा भाँचिएको अवस्थामा १६/१७ वर्षकी महिला रहिछन् ।’ कानमा रुई हाल्दा मान्छे मरेको वा बाँचेको थाहा हुन्छ, जिउँदो मान्छे चल्छ वा अनुहार चलाउँछ भन्ने सुनेका उनले रुई उनको कानमा छिराए । जिउँदो रहेको पत्ता लाग्यो । बोल्न नसक्ने अवस्थाकी उनले नेपाली बुझिन् । घर ‘पुर’ मात्रै भन्न सकेकी उनलाई फोहोरकै गाडीबाट अस्पताल पुर्याइयो ।
अलिअलि बोल्न सक्ने भएपछि उनले कुरा खोलिन् । घर उदयपुर भनिन् । यो सन् २०१२ तिरको कुरा थियो । दलालले विदेश पठाइदिन्छु भनी १३ वर्षकै उमेरमा भारत लगेछ । उसले खेलाइखेलाई अर्कैलाई बेचिदिएछ । उसले पनि खेलाइखेलाई साउदी पुर्याएछ । ‘साउदीमा सामूहिक बलात्कारको सिकार भएपछि घटना लुकाउन उनलाई हातखुट्टा भाँचेर मरेको भन्ठानी फोहरमा फालिदिएका रहेछन्,’ उनले भने, ‘अहिले म नेपाली चेलीलाई खाडी नपठाऔं भन्ने सन्देश लिएर हिँडेको छु ।’
यस घटनाले बिचलित बनेका महतालाई अभावकै बाबजुत पनि समाज सेवा गर्ने,म जस्तै अरु नेपालीले दु:ख नपाउन के गर्ने भन्ने सोच आइसकेको थियो तर पारिवारिक समस्याका बाबजुत आफ्नो मुखमै माड नभए पछी त्यसताका महताको सपना सपनामै मात्र सिमित भयो।साउदीको ६ वर्षे बसाई पछी फेरि समस्या र सपनालाई एकै साथ लिएर महता कतार हानिए।
भनिन्छ नी मान्छे जुन ठाँउमै गए पनि खप्पर त संगै नै जाने हो।कतारमा पनि चालककै काम भए पनि भने जस्तो कम्पनी भेटिएन।समस्या र सपना संग लडिरहेका महतालाई कतारमा रहेको कम्पनीले समेत भनेजस्तो पारिश्रमिक दिएन।न त मासिक तलब नै भनेको समयमा दिन्थियो।जेहनतेहन ४ वर्ष गुजारेर कतार बाटै मेची महाकाली सेवा समाज गठन गरि संस्थापक अध्यक्ष भई नेपालकै माया संगाल्दै नेपालमै केही गर्ने मनसायले महता आफ्नै देश फर्की आए।
महताले नेपाल फर्के पश्चात् नेपालीले बिदेसमा पाएको दु:ख,नेपाली चेलीले बिदेश भोग्नु परेको समस्यालाई देशै भरी सचेतना फैलाएर युवा-युवतीहरुले देशमै केही गरौ बिदेश पलायन नहोउ भन्ने सन्देस दिने मनसायले अनि प्रदेस नं ७ को पर्यटकिय स्थलको परिचय बोकेर नेपाल साइकल यात्रामा निक्लिने अठोट गरे।तर अभाव र समस्याले निरन्तर प्रहार गरिरहेको महतालाई दार्चुलाले पनि यथेस्ट सहयोग गरेन।आफ्नै गाउँठाउँ चिनाउन मुलुकका हरेक जिल्ला र स्थानीय तह पुग्छु भन्दा आफ्नै मार्मा गाउँपालिकाले उनलाई सिफारिस दिएन । दार्चुलाको महाकाली नगरपालिका ४, खलंगाबाट गत भदौ १४ बाट साइकलयात्रामा निस्किएका उनलाई प्रदेश ७ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले सिफारिस दियो ।
घर छाडेर यात्रामा निस्किएका उनी झन्डै दुई महिना अवधिमा चारवटा प्रदेशका ३९ जिल्ला घुमिसके । दार्चुलाको अपि हिमाल र मालिकार्जुन धाम, बैतडीको निङला शैली मन्दिर, डडेलधुराको उग्रतारा देवी मन्दिर, कञ्चनपुरको दोधारा–चाँदनी झोलुंगे पुल, बाजुराको बडीमालिका मन्दिर, बझाङको सुर्मा भवानी मन्दिर, कैलालीको घोडाघोडी ताल, अछामको वैद्यनाथ मन्दिर र डोटीको शैलेश्वरी मन्दिरको तस्बिर लिएर उनी निस्केका छन् । आफ्नो प्रदेश चिनाउन र प्रचारप्रसार गर्नलाई उनी रहर वा बाध्यता केही होइन भन्छन् ।
‘मैले कसैसित एक पैसा मागेको छैन । माग्नेवाला पनि छैन । विदेश रहँदा अलिअलि कमाएको छु,’ उनले भने, ‘मलाई नेपालको माया छ । मेरो प्रदेशको माया छ । आफ्नै खर्चमा हिँडेको छु ।’ देशमै रहेर समाज सेवामा लाग्ने बताएका उनले अब विदेश नजाने अठोट लिए । ‘विदेशमा बस्दा धेरै दु:ख पाएँ । नेपाली नारीले कति दु:ख पाएका छन्,’ उनले भने, ‘देख्ने/भोग्नेलाई मात्रै थाहा हुन्छ । त्यही कथा बोकेर म नेपाल फर्केको हुँ ।’
महताले नेपाल साईकल यात्रा पछी देशमै बसेर आफू संस्थापक अध्यक्ष रहेको मेची महाकाली सेवा समाज मार्फत समाज सेवा गर्ने ठूलो उदेश्य रहेको बताए।हाल मेची महाकाली सेवा समाजले झापाको बिर्तामोडमा निशुल्क सिलाइ बुनाइ तालिम केन्द्र पनि संचालन गरेको छ।