मुग्लानी खबर कार्तिक ६
नेपाली स्टार लेग स्पीनर सन्दीप लामिछानेको व्यावासायिक क्रिकेट यात्राको निरन्तरता अब अष्ट्रेलीया र बंगलादेशमा पनि जारी हुने भएको छ ।
अष्ट्रेलीयाका घरेलु प्रतियोगिता बिग बाश लिग (बिबिएल) मा मेलबर्न स्टार्स र बंगलादेशको घरेलु प्रतियाेगिता बंगलादेश प्रिमियर लिग (बिपिएल) मा सिल्हेट सिक्सरबाट सन्दीपले खेल्ने पक्का भएको हो ।
सन्दीपले आगामी १० डिसेम्बर देखि बिग बाश लिगको लागि अष्ट्रेलीया लाग्नेछन् । डिसेम्बर १९ देखि फेब्रुअरी १७ सम्म संचालन हुने उक्त लिगमा सन्दीपले सुरुदेखि सहभागिता जनाउनेछन् । यो सँगै सन्दीप एसोसियट्स देशबाट अष्ट्रेलीयाको घरेलु क्रिकेट खेल्ने पहिलो खेलाडि बनेका छन् । रसिद खानले पनि बिबिएल खेलेपनि अफगानिस्तानले टेष्ट मान्यता पाएपछि मात्र उनि बिबिएलमा आबद्ध भएका थिए ।
तथापी बिबिएलको बिचमै अर्थात् सन् २०१९ को जनवरी ५ देखि सुरु हुने बंगलादेश प्रिमियर लिगमा सहभागिता जनाउन बंगलादेश जाने तय भएको छ । सन्दीपले बंगलादेशको प्रतियोगिताको पुरा सिजन खेलेपछि पुनः अष्ट्रेलीया फर्किने तालिका रहेको छ ।
यसरी सन्दीपले बिबिएलको बिचमै बंगलादेश प्रिमियर लिगको पुरा सिजन खेल्नुमा उक्त लिगबाट सन्दीपलाई आकर्षक पारिश्रामीक पाइनु मुख्य कारण रहेको श्रोतले बताएको छ । अष्ट्रेलीयाको लिग भन्दा बंगलादेशको लिगले सन्दपलाई उच्च मुल्यमा आबद्ध गरेको छ ।
यहि अंग्रेजी बर्षको सुरुवातबाट आइपिएलमा दिल्ली डेयरडेभिल्समा आबद्ध भइ उत्कृट प्रदर्शन गरेका सन्दीपले क्यानडाको ग्लोबल टि–२०, वेष्ट इन्डीजको सिपिएल, अफगानिस्तानको एपिएल खेलिसकेका छन् । त्यस्तै दुबईमा आयोजना हुने टि–१० प्रतियोगिताको लागि पनि सन्दीप छानिइसकेका छन् ।
हालै दक्षिण अफ्रिकी लिगको अन्तिम ड्राफ्टमा परेपनि अन्तिम समयमा नाम फिर्ता लिएका सन्दीपले बिबिएल र बिपिएलसँगको समय जुध्ने भएकोले नै नाम फिर्ताको निर्णय लिएको जानकारी प्राप्त भएको छ ।