
काठमाडौ, गोकर्णेश्वर नगरपालिकामा साहित्य, संगित र कलाको मिश्रणबाट अभिव्यक्त हुने सृजना,गजलको व्यापकता,मर्म र गहिराइलाई आत्मसाथ गर्दै गजलको फाँटलाई बृहत् बनाउने उदेश्य अनुरुप संचालन गरिएको बृहत् प्रतियोगितात्मक गजल महोत्सव सम्पन्न भएको छ।
गोकर्णेश्वर नगरपालिका नगर प्रमुख दिपक कुमार रिसालको सभाध्यक्षता र वरिष्ठ साहित्यकार तथा चलचित्र निर्माता यादव खरेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बिशिष्ट अतिथिहरूमा प्रतिनिधि सभा सदस्यहरु सन्तोष चालिसे, अम्बिका बस्नेत,शान्ती श्रेष्ठ,प्रदेश सभा सदस्यहरुमा बिमल ठकुरी, छिरिङ दोर्जे लामा,पुर्ब प्रतिनिधिसभा सदस्य कृष्ण बहादुर राई,पुर्व मन्त्री रामेश्वर फुयाल, गोकर्णेश्वर नगर उप प्रमुख सान्नानी लामा,चलचित्र बिकास बोर्डका अध्यक्ष भुवन केसी लगायत रहेका थिए।विशेष अतिथीहरुमा प्रमुख प्रशासकिय अधिकृत बैकुण्ठ प्रसाद सापकोटा,युवा तथा खेलकुद शाखा प्रमुख दन्डपाणी शर्मा,नगर प्रबक्ता नारायण बहादुर सुवेदी रहेका थिए भने विभिन्न वडाका वडा अध्यक्षहरु,वडा सदस्यहरु,साहित्य प्रेमी,बुद्धिजीवी लगायतको बाक्लो उपस्थिति रहेको थियो।
नेपाली साहित्यमा कलम चलाउनुहुने साहित्यकारहरूको हौसला बढाउन नेपाली गजल प्रतियोगितामा संभवत सबै भन्दा ठूलो धनराशि पुरस्कार घोषणा गरिएको प्रतियोगितामा करिब ४० जना गजलकारहरुले वाचनमा भाग लिएका थिए।करुण थापा, प्रभाती किरण र धनेन्द्र ओझाको तीन सदस्यीय निर्णायक मन्डल रहेको गजल प्रतियोगीतामा प्रथम पुरस्कार दिपिन सिजापतीले नगद रु. ६० हजार र प्रमाणपत्र, दोस्रो पुरस्कार मुना बोहराले नगद रु.४० हजार र प्रमाणपत्र,तेस्रो पुरस्कार प्रज्ज्वल अधिकारीले नगद रु ३० हजार र प्रमाणपत्र हात पार्न सफल भएका छन। त्यसैगरी सान्त्वना पुरस्कार प्राप्त गर्नेहरुमा भिजन गुरागाईं,जगत बहादुर खड्का,लक्ष्मण ढकाल,संयोग बस्याल र प्रकाश समीर रहेका छन उनीहरुले जनही नगद २० हजार र प्रमाणपत्र प्राप्त गरेका छन भने अन्य ३२ जनालाई जनही रु ३ हजार र प्रमाणपत्र प्रदान गरिएको थियो।
गोकर्णेश्वर नगरपालिकाको आयोजनामा भएको उक्त कार्यक्रममा बोल्दै नगर प्रमुख तथा कार्यक्रमका सभा अध्यक्ष दिपक कुमार रिसालले यो नगरपालिका चर्चित ख्यातिप्राप्त दिग्गज साहित्यकारहरु र नेपाली साहित्यमा उल्लेखनीय योगदान पुर्याउनु भएका कबि रमेश बिकल,भैरव अर्याल, कञ्चन पुडासैनी जस्ता मूर्धन्य साहित्यकारहरूको पावन भुमि रहेको जनाउदै नेपाली साहित्यलाई मलजल गर्नु नगरपालिकाको कर्तव्य रहेको बताएका थिए।उनले सोचेको भन्दा अन्त्यन्तै ठूलो मात्रामा गजल प्रतियोगितामा सहभागिता जनाउनुका साथै युवा पुस्ता पनि सामेल भएको देख्दा खुशी ब्यक्त गर्दै नेपाली साहित्यकारहरूलाई एउटा पल्याटफर्म दिन सफल भएको बताए।बिगतका दिनहरुमा पनि विभिन्न बिधामा प्रतियोगिता गर्दै आएकोमा आगामी दिनहरुमा समेत निरन्तरता दिने प्रतिबद्धता जनाएका थिए।
नगर प्रमुख रिसालले यस प्रतियोगितात्मक गजल महोत्सवलाई सफल बनाउन अनवरत लागि पर्नु भएका सम्पुर्ण टिमहरु, उपस्थित सम्पूर्ण व्यक्तित्वहरु साहित्यकारहरु,दर्शक श्रोताहरू लगायत सम्पुर्णलाई धन्यबाद ब्यक्त गरेका थिए।