दोहा : याक्थुङ/लिम्बु जातिहरुको साझा संस्था किरात याक्थुङ चुम्लुङ कतारले, नेपालीहरुको राष्ट्रिय चाड तथा याक्थुङ/लिम्बु जातिहरुको महान चाड “चासोक तङनाम -५०८४” गत शुक्रबार अर्थात २७ डिसेम्बर -२०२४ दिन भब्य मनाइएको छ ।
संस्थाका अध्यक्ष सागर तुम्बाहाङ्फे लिम्बुको सभापतित्व रहेको उक्त कार्यक्रममा नेपाल आदिबासी जनजाति महासंघ कतारका अध्यक्ष डि.एन. मगरको प्रमुख आतिथ्यता रहेको थियो ।
किरात याक्थुङ चुम्लुङ कतारका प्रमुख सल्लाहकार हर्क खजुम लिम्बु, विशेष सल्लाहकार डम्बर लिबाङ लिम्बु,डम्बर खाजुम लिम्बू र र राजेन्द्र सम्याङखाम लिम्बु द्वारा कार्यक्रमका सभापति र प्रमुख अतिथिलाई किराती फेटा अर्पण गरिएको थियो ।
औपचारिक रुपमा अगाडि बढेको कार्यक्रममा संस्थागत परिचय, स्वागत मन्तव्य र कार्यक्रमको औचित्य बारेमा वरिष्ठ उपाध्यक्ष बिबस मादेन लिम्बुले जानकारी गराए ।
कलाकार हरु छत्र लिम्बु,कविता राइ मादेन लिम्बु, शिव लिम्बु,राधा लिम्बु,रिकेस श्रेष्ठ, सरु प्रजा लगायतका कलाकार द्वारा स्वागत गीत पस्किएका थिए ।
प्रमुख सल्लाहकार हर्क खजुम लिम्बु,वरिष्ठ उपाध्यक्ष राम लङ्बा लिम्बु र उपाध्यक्ष राज आङ्ला लिम्बुद्वारा "चासोक पुजा " गरिएको थियो ।
"लिम्बू भाषामा ‘चासोक’ को अर्थ न्वागी र ‘तङ्नाम’ को अर्थ उत्सव वा चाडपर्व हुन्छ । लिम्बूहरूलाई उनीहरूकै भाषामा याक्थुङ्वा भनेर चिनाउने गरेका छन् । किरात समुदायअनुसार मानिस, जीवजन्तु तथा चराचुरुङ्गी लेकतिरबाट बेँसीतिर बसाइँ सर्ने समय भएको र अन्नबाली भित्राइएको खुसीयालीमा यो पर्व मनाउने गरिन्छ ।
चासोक तङ्नामलाई लिम्बूहरूले परिश्रमको फल खाने उपयुक्त समय मानी ‘तागेरा निङ्वा युमालाई’ चढाएर पूजाअर्चना गरी खाने चलन छ । यो पर्व प्रत्येक वर्ष संसारभरी छरिएर रहेका भूमिपुत्र भेला भएर विशेष पूजाअर्चना गरी मनाउने गरेका छन् ।
प्रमुख अतिथि डि.एन. मगरले मन्तव्य राख्दै सात समुन्द्र पारी कतार प्रबासमा रहेर पनि आफ्नो भाषा,धर्म,रितिरिवाजलाई जगेर्ना गर्दै कियाचु कतारले आयोजना गरेको "चासोक तङनाम येले तङ्बे ५०८४ सभ्य र भब्य रहेको बताए ।
मगरले ब्यानरमा उल्लेखित सब्द "लिम्बुवान स्यायत्तता हाम्रो प्रतिबद्धता'' लाई कार्यन्यन गर्न सबैजना एकजुट हुनैपर्ने बताउदै चासोक तङनाम पर्व एकदमै सफलतापुर्वक सम्पन्न भएको जानकारि गराए । उनले "पालाम" गीत पनि प्रस्तुत गरेका थिए ।
कार्यक्रममा गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतार,मात्री संस्थाका प्रतिनिधि हरु, विभिन्न बैचारिक,जिल्लागत सामाजिक संघ - संस्था पत्रकार लगायत लिम्बु तथा गैर लिम्बु हरुको बाक्लो उपस्थिति सहित मन्तव्य रहेको थियो ।
कार्यक्रममा नेपाल आदिवासी जनजाती महासंघ अन्तर्गत पर्ने सबै मातृ संस्थाहरुद्वारा एकमुष्ठ बिभिन्न खानपिन सहित कोसेली प्रदान गरेका थिए साथै,युमा साम्यो महासभा कतारले पनि कोसेली प्रदान गरेका थिए ।
दोहामा रहेर साङ्गीतिक यात्रामा निरन्तर लागिरहेका करिब चार दर्जन भन्दा धेरै कलाकारले "धान नाच" (पालाम) केलाङ (च्याब्रुङ नृत्य) सहित लिम्बू तथा नेपाली भाषाका गीत पस्किदा दर्शकहरु खुब झुमेका थिए ।
संस्थाका महासचिव बिरेन मादेनले सहजिकरण गरेको कार्यक्रमलाई सभापतित्व गरिरहेका संस्थाका अध्यक्ष सागर तुम्बाहाङ्फे लिम्बुले समग्रमा कार्यक्रम सफलता पुर्वक सम्पन्न पार्नको निमित्त उपस्थित सबैमा धन्यबाद व्यक्त गर्दै कार्यक्रमको समापन गरेका थिए ।
"आफनो भाषा, धर्म, लिपि, संस्कार, संस्कृती तथा साहित्य र पहिचानको संरक्षण, सम्बर्द्धन र प्रबर्द्धन गर्दै सामाजिक कार्यमा समर्पित रहने उदेश्यले “लिम्बुवान स्वायत्तता, हाम्रो प्रतिबद्धता” भन्ने मुल नारा सहित कतारमा सन् -२००२ मा स्थापित किरात याक्थुङ चुम्लुङले “चासोक तङनाम” सहित दोहामा रहेर विभिन्न सामाजिक आर्थिक कार्यहरु निरन्तर गर्दै आइरहेको छ ।