रुसी सेनामा भर्ना भएका रोल्पाका एक युवकको युक्रेनी सेनाको ड्रोन आक्रमणमा परी दुखद निधन भएको छ ।
रुसी सेनाको क्याम्पमै रहेका बेला युक्रेनी सेनाले ड्रोनबाट गरेको आक्रमणमा परेर रोल्पाको त्रिवेणी गाउँपालिका–७ गैरीगाउँस्थित रानागाउँका ४४ वर्षीय युवा घनसिंह पुनको मृत्यु भएको परिवारले जनाएको छ ।मृतक पुन तीन महिनाअघि भारत हुँदै रुसी सेनामा भर्ना हुन पुगेका उनको मृत्यु भएको उनीसँगै रहेका रोल्पाका एक र दाङ निवासी अर्का साथीले घरसम्म खबर पुर्याएपछि घनसिंहको मृत्यु भएको पुष्टि भएको हो ।
उनीसँग नेपालका करिब एक दर्जन युवाले सैन्य तालिम लिने तयारीमा थिए । उनका साथीहरू रोल्पा लिबाङका एक जना र आफन्तसमेत पर्ने दाङको घोराहीमा बस्ने अर्का युवाले आफूहरू मुस्किलले बाँच्न सफल भएको तर घनसिंहको आक्रमणमा परेर मृत्यु भएको खबर सुनाएका हुन् ।मृत्यु हुनुअघि उनले एक महिनाको तलब पाएको तर घरमा पठाउन नसकेको बताएका थिए । त्यस अवधिमा उनले अब कमाउन आएकाले चिन्ता नगर्नसमेत बताएका थिए ।
घनसिंहका दाइ नाता पर्ने डम्बर पुनले गत मंसिरमा भारत हुँदै दुबईको बाटोबाट रुस पुगेको बताए । ‘बाहिर गएर कमाइ गर्ने योजनामा भएको जानकारी थियो, तर एकैपटक रुस पुगेर मृत्यु भएको खबर सुन्दा हामी दुःखी भएका छौं,’ उनले भने । आर्थिक समस्यामा परेकाले कमाइ गर्न बाहिर देश जान खोजेको तर त्यहाँ पुग्न पनि पैसा नभएको उनले बताउने गरेको डम्बरको भनाइ छ ।
घनसिंहले रुस जानकै लागि ११ लाख रुपैयाँ ऋणसमेत लिएका थिए । परिवारले मृतक पुनको शव नेपाल ल्याउन र क्षतिपूर्तिको व्यवस्था गरिदिन नेपाल सरकारसँग आग्रह गरेको छ
रुस पुग्नुअघि उनी दुई वर्ष कतार बसेका थिए । चाहेजस्तो कमाइ नभएपछि फर्केर दाङमा मोबाइल पसल चलाएका थिए । त्यसअघि उनले रोल्पाको लिबाङमा समेत मोबाइल पसल सञ्चालन गरेका थिए । सानैमा बुबा आमा गुमाएका उनका कान्छा भाइ कमल वैदेशिक रोजगारीमा खाडीमा छन् भने दुई छोरी र एउटा छोरा पढाउन श्रीमती दाङमा छिन् । घटनापछि घर र गाउँ नै शोकमग्न भएको त्रिवेणी गाउँपालिका–७ का वडाध्यक्ष भानबहादुर घर्तीमगरले बताए । उनले गैरकानुनी तरिकाले रशिया पुगेका वडाका दुई युवा भने फिर्ता आइसकेको बताए ।
प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेले जिल्लाबाट रुस वा अन्य गैरकानुनी तरिकाले विदेश पुगेकोहरूको तथ्यांक संकलन गर्नुपर्ने बताए । उनले गैरकानुनी तरिकाले कानुनले जान नदिएको मुलकमा पुगेर अफ्ठेरो व्यहोर्नुभन्दा पहिले नै नजान आग्रह गर्नुपर्ने बताए । कान्तिपुर बाट..