राष्ट्रपति राष्ट्रपति विद्यादेवी भण्डारीले उच्च शिक्षाले अनुसन्धानमूलक र व्यावहारिक शिक्षामा जोड दिनुपर्ने आवश्यकता औँल्याउनुभएको छ । राष्ट्रपति भण्डारीले भन्नुभयो, “विश्वविद्यालयले निरन्तर शैक्षिक जनशक्ति उत्पादन गरिरहेकै छन् । समाज र राष्ट्रको आवश्यकता पूरा गर्न त्यो जनशक्तिले कुनै न कुनै रूपमा योगदान गरिरहेकै छ ।
यद्यपि आवश्यकता र उत्पादनबीचमा सामञ्जस्यको अभाव पनि देखिँदै गएको छ ।” राष्ट्रपति भवन शीतल निवासमा आज विभिन्न विश्वविद्यालयका कुलपति, उपकुलपति तथा पदाधिकारीसँगको भेटका अवसरमा राष्ट्रपतिले विज्ञान र प्रविधिले ल्याएको विश्वव्यापी परिवर्तनका कारण हाम्रा आवश्यकता र समस्या पनि रूपान्तरण भइरहेको सन्दर्भमा परिवर्तनको यो वेगलाई सम्बोधन गर्न सक्षम हुनुपर्ने चुनौती हामी समक्ष उभिएको बताउनुभयो ।
उहाँले समयको यस रूपान्तरणकारी गतिलाई पहिचान गर्ने र त्यसलाई सम्बोधन गर्न सक्ने जनशक्ति हामीले कति उत्पादन गर्न सक्यौँ भन्ने कुराले हाम्रा सफलता वा असफलताको मापन गर्ने उल्लेख गर्नुभयो । प्रकृति र संस्कृतिले सम्पन्न नेपाल भूमिले ज्ञान उत्पादनमा उल्लेख्य योगदान पु¥याउँदै आएको तथ्य पेश गर्दै राष्ट्रपतिले भन्नुभयो, “जनक सभ्यताबाट उपनिषद्हरूको जन्म भयो । शान्तिका अग्रदूत बुद्धले विश्व शान्तिको सन्देश यहीँबाट फैलाए ।
इतिहास, गणित र पुरातत्वमा विश्वस्तरीय योगदान गर्ने विद्वान विदूषिहरू यही भूमिले जन्माएको छ ।” उहाँले इतिहास र सभ्यताको यस बिरासतबाट प्रेरणा लिँदै हाम्रा विश्वविद्यालयले आफूलाई अन्तर्राष्ट्रिय प्राज्ञिक केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो । राष्ट्रपति भण्डारीले आर्थिक उन्नतिका दृष्टिले दुई उदयमान छिमेकी देशहको बीचमा नेपाल अवस्थित रहेको हुनाले हामीले उत्पादन गर्ने जनशक्ति पनि यी छिमेकीसँगसँगै अगाडि बढ्ने किसिमको हुनु ज?री देखिन्छ भन्नुभयो ।
सामाजिक आर्थिक विकास प्रक्रियालाई तीव्रता दिइरहँदा राष्ट्रिय सुरक्षा, देशप्रेम र राष्ट्रियताको भावनालाई अभिवृद्धि गर्ने विषयमा विश्वविद्यालयले ठोस योगदान गर्न सक्ने उल्लेख गर्दै उहाँले यसका लागि सरकारका नीति निर्णय गर्ने निकाय र विश्वविद्यालयका बीचमा समन्वय र सहकार्य आवश्यक रहेको बताउनुभयो । राष्ट्रपतिले भन्नुभयो, “राज्यले शिक्षामा लगानी बढाउनुपर्छ भन्ने विषयमा आमसहमति नै भएको मलाई लाग्दछ ।
शिक्षामा लगानी बढाउनुभनेको युवामा लगानी बढाउनु हो । जसले भविष्यमा मुलुकको नेतृत्व र जिम्मेवारी बहन गर्नेछन् । त्यसैले राज्यले प्रत्येक वर्षको बजेट तर्जूमा गर्दा उच्च शिक्षा, अनुसन्धान तथा विकासमा पर्याप्त बजेट विनियोजन गर्नुपर्दछ ।” मुलुकमा विश्वविद्यालयको सङ्ख्या बढिरहेको सन्दर्भमा विश्वविद्यालयबीच आवश्यक समन्वय र सहकार्य अभिवृद्धि हुन सके प्राज्ञिक उन्नयनमा मद्दत पुग्दछ भन्ने आफूलाई लागेको उहाँको भनाइ छ ।
उच्च शिक्षाका आधारका रूपमा रहेका विद्यालय शिक्षाको गुणस्तर बढाउनका लागि विश्वविद्यालयको भूमिका हुनुपर्ने राष्ट्रपतिको जोड छ । राष्ट्रपतिले विश्वविद्यालयबाट उत्पादित जनशक्तिलाई पलायन हुनबाट रोकेर उनीहरूले आर्जन गरेको ज्ञान र सीपलाई स्वदेशमै सदुपयोग गर्न उपयुक्त वातावरण सिर्जना गर्न आग्रह गर्नुभयो ।