नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहको केन्द्रीय कमिटी बैठकले सम्मानजनक पार्टी एकता हुनुपर्ने निर्णय गरेको छ ।
राजधानीमा शुक्रवार सम्पन्न २ दिने बैठकपश्चात् पार्टी निर्णय सार्वजनिक गर्दै नेता रघुजी पन्तले गत २७ असारमा सम्पन्न १० बुँदे सहमति एकताको आधार मान्दै निष्कर्ष निकालिएको जानकारी दिँदै ४ बुँदे निर्णयसहित बैठक सकिएको बताए ।
हाम्रो अडान सम्मानजनक पार्टी एकता हो,’ १० बुँदे सहमति आधार मानेर एकता प्रक्रिया अगाडि बढाउने निर्णय भएको बताउँदै पन्तले थपे, ‘यसका लागि प्रयास जारी राख्ने सहमति भएको छ ।’
बैठकले १० बुँदे सहमतिको भावनाविपरीत वरिष्ठ नेता नेपालमाथि अनेकौं टिप्पणी गरिएकोमा आपत्ति जनाएको छ । पार्टी एकताका लागि वार्ता चलिरहेको समय अध्यक्ष केपी शर्मा ओली पक्षबाट हुने अधिवेशन र सदस्यता नवीकरण रोक्न माग समेत बैठकले गरेको छ ।
बैठकमा नेपाल पक्षका केन्द्रीय सदस्यले पार्टी विधानअनुसार ७० वर्ष पुगिसेकेका अध्यक्ष ओलीले सक्रिय राजनीतिबाट विश्राम लिनुपर्ने आवाज उठेको छ । केन्द्रीय सदस्य दिनेश राईले ७० वर्ष पुगिसकेका अध्यक्ष ओलीसहितका नेताले सक्रिय राजनीतिबाट विश्राम लिनुपर्नेमा जोड दिए ।
ओलीले आत्मालोचना गर्नुपर्ने अडान
बैठकमा ओलीले संविधान र लोकतन्त्रविरोधी कार्य गरेकाले सार्वजनिक रूपमा आत्मालोचना नगरे पार्टी एकता नगर्ने सुझावसमेत आएको छ । संविधान र लोकतन्त्रविरुद्ध ओलीले २–२ पटक प्रतिनिधिसभा विघटन गरेपछि सार्वजनिक आत्मालोचना गर्नुपर्ने राईको जोड छ ।
पार्टी एकता गर्दा सम्मानजनक अवस्थामा मात्रै एकता गर्नुपर्ने दबाब नेपाललाई छ । बैठकमा आफ्नो धारणा राख्दै अधिकांश केन्द्रीय सदस्यले सम्मानजनक अवस्थामा मात्रै एकता गर्नुपर्ने सुझाव दिएका छन् । बिहीबार २३ र शुक्रबार ३२ केन्द्रीय सदस्यले आफ् ना धारणा राखेका छन् । आगामी २४ साउनमा एमाले अध्यक्ष ओली पक्षको केन्द्रीय कमिटी बैठक बस्दैछ ।
बैठकले गर्ने निर्णयका आधारमा अगामी रणनीति तय गर्ने नेपाल पक्षका नेताले जनाएका छन् । केन्द्रीय कमिटी बैठकमा सबै सदस्य आफ्ना धारणा राख्न नपाउँदै बीचमै बैठक स्थगित गरिएको हो । नेपाल पक्षको स्थायी कमिटी बैठक बसेर थप अगामी रणनीति तय गर्ने छ ।
सम्मानजनक एकता
केन्द्रीय सदस्य दिलु पन्तले बैठकमा अधिकांश नेताले सम्माजनक एकता पक्षमा आवाज उठाएको बताइन् । ओलीसँग कुनै पनि हालतमा आत्मसमर्पण गर्न नहुने उनीहरूको धारणा छ ।
पटक–पटक जनविरोधी तथा पार्टी विधानविपरीत कार्य गरेकाले ओलीले आत्मालोचना गर्नुपर्ने आवाज बैठकमा उठेको उनले सुनाइन् ।
‘पार्टी एकताको पक्षमै हामी छौं तर आत्मसमपर्ण गर्न नहुने आवाज बैठकमा उठेको छ । पटक–पटक जनता विरोधी तथा पार्टी विधानविपरीत कार्य गर्नेले सार्वजनिक रूपमा आत्मालोचना गर्नुपर्ने हुन्छ,’ पन्तले भनिन्, ‘१० बुँदे पार्टी एकताको प्रस्तावको जगमा त्यसमा परिमार्जन गर्दै सम्मानजनक एकता हुनुपर्ने आवाज उठेको छ ।’
गतिविधि रोक्न सकिँदैन : ज्ञवाली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्षले एकताको नाममा पार्टी गतिविधि रोक्न नसकिने स्पष्ट पारेको छ । वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको केन्द्रीय कमिटी बैठकले एकताका लागि छलफल भइरहेकाले तत्काल अधिवेशन, नवीकरणलगायत गतिविधि रोक्न माग गरेपछि ओली पक्षले स्पष्ट पारेको हो ।
ललितपुर च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा शुक्रवार बसेको स्थायी कमिटी बैठकमा पार्टी विधान संशोधनबारे छलफल भएको छ । एमाले सचिव एवं प्रवक्ता प्रदिप ज्ञवालीले बैठकपश्चात सञ्चारकर्मीसँग कुरा गर्दै पार्टी गतिविधि जारी रहने बताए । पार्टीको नियमित काम चल्ने र एकताका लागि कुनै गतिविधि नरोकिने बताउँदै उनले गतिविधि रोक्न आएका सुझाव पार्टी हितविपरीत रहेको औंल्याए ।
विधान संशोधनमा समेट्नुपर्ने विषयमा स्थायी कमिटी सदस्य, प्रदेश नेता, विधान संशोधन समिति र राजनीतिक प्रस्ताव तयार पार्न गठित समिति सदस्यसँग छलफल भएको छ । विधान संशोधन प्रस्ताव तयार भएपछि सबै तहमा अध्ययनका लागि तयारी समेत गरिएको छ । राजधानी दैनिकमा खबर छ ।