चितवन : कोरोना सङ्क्रमणका कारण ठप्प रहेको सौराहाको जङ्गल सफारी लजले असार महिनामा ‘पे नाउ गो लेटर अफर’मा ३०० कोठा बुकिङ गरेको छ । सबै होटल बन्द भइरहँदा यो होटलले नयाँ अफरमार्फत आर्थिक वर्षको मसान्तमा बैंकिङ किस्ता र ब्याजलगायतका खर्च गर्न सहज बनाएको हो ।
होटलका कार्यकारी निर्देशक सुमन घिमिरेका अनुसार असार १ देखि ३१ गतेसम्म सामाजिक सञ्जालमार्फत अफर आह्वान गरिएको थियो । आन्तरिक पर्यटक प्रवद्र्धनका लागि गरिएको यो अफरमा स्वदेशी र विदेशमा रहेका नेपालीले बुकिङ गरेका छन् । बढी सङ्ख्यामा वीरगञ्जदेखि बुटवलसम्मका पर्यटक छन् । पोखरा र काठमाडौँका पर्यटकको सङ्ख्या पनि ठूलो रहेको उहाँले जानकारी दिनुभयो । स्थानीयसँगै ठाउँठाउँबाट पत्रकार, लेखक, साहित्यकार, व्यवसायी, कर्मचारी, नेपाल प्रहरी, नेपाली सेनालगायतले सो अफरमार्फत कोठा बुक गरेका हुन् ।
यस योजनाअन्तर्गत पर्यटकले तीन रातका लागि कोठाको मूल्य मात्र रु चार हजार तिरे पुग्नेछ । अन्य समयमा ती कोठाको मूल्य रु १० हजार ५०० हुने गर्दछ । यसको साथै स्वीमिङ पुलको सुविधा पाइनेछ । यस योजनाअन्तर्गत होटलको कोठामा ६२ प्रतिशत छुट दिइएको छ । कोठामा दुई वयस्क र एक बच्चा बस्न पाउनेछन् ।
सो योजनामा कोठा बुक गरेकाले आगामी चैत २८ गतेसम्म प्रयोग गर्नुपर्ने घिमिरेले जानकारी दिनुभयो । उत्साहजनक ढङ्गबाट कोठा बुकिङ भएको जनाउँदै उहाँले यसले आफूलाई हौसला मिलेको बताउनुभयो । उहाँले भन्नुभयो, “यो योजनालाई देशका प्रमुख पर्यटकीय ठाउँका होटलमा संयुक्तरुपमा लैजानुपर्छ भन्ने सोचको विकास भएको छ ।” यसले खाली हुने कोठा बुकिङ हुने र अग्रीम भुक्तानी हुँदा सञ्चालनमा सहयोग पुग्ने उहाँको भनाइ छ ।
कोभिडका कारण पर्यटन क्षेत्र प्रभावित भएको छ । यस अभियानले केही हदसम्म सहयोग पु¥याउने घिमिरे बताउनुहुन्छ । असारभित्र भौचर लिने ग्राहकमध्ये एक जनाले काठमाडौँ–भरतपुर–काठमाडाँै हवाई टिकट, विमानस्थलबाट होटलसम्म गाडीको व्यवस्था र तीन रातसम्म पेयपदार्थ पुरस्कारस्वरुप पाउनेछन् । यसरी बुकिङ गरेका धेरैले खाना होटलमा नै खाने अपेक्षा गरिएको छ । कोभिडसँगै गत वैशाख १५ गतेदेखि बन्द भएका सौराहाका होटल असार २४ गतेदेखि आंशिक खुलेका छन् ।