बलेवा : चैत्राष्टमीको केही दिनअघि नवलपुर उद्योग वाणिज्य संघको समुह बागलुङका धार्मिक तथा पर्यटकीय स्थलको भ्रमणमा निस्कियो । त्रिवेणीधामबाट शुरु भएको यात्रा मुक्तिनाथ पुगेर फर्किएपछि सकियो । झण्डै एक साताको यात्रामा निस्किएको समुहले एक दिन जिल्लामा बितायो । जिल्लाको कालिका मन्दिर, संसारकै लामो पुल, शालिग्राम संग्राहलय, पञ्चकोट लगायतका पर्यटकीय स्थलमा पुग्न समुहले छुटाएन ।
यही वैशाख ७ गते चैतेदशैंका दिन बागलुङ कालिका भगवतीको मन्दिरमा झण्डै १५ हजार दर्शनार्थी पुगेको कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष राजु खड्का बताउनुहुन्छ । सोही दिन लामो पुल र पञ्चकोटमा पनि आन्तरिक पर्यटकको घुईंचो थियो । कोरोना महामारी सुरु भएको झण्डै एक वर्षपछि बागलुङका धार्मिक तथा पर्यटकीय स्थलहरुमा चहलपहल शुरु भएको थियो ।
चहलपहल सुरु भएको केही समयमै कोरोना महामारीको दोस्रो लहरले बागलुङका पर्यटकीय क्षेत्र पुनः सुस्ताएका छन् । दिनमै हजार बढी आन्तरिक पर्यटक पुग्ने पञ्चकोटमा अहिले कठिनले एक सय जना त्यहाँ पुग्छन् । लामो पुलमा ओहोरदोहोर गर्नेको संख्या निकै घटेको छभने बलेवाको बञ्जी र बलेवा कालभैरवको पुजाआजाका लागि पुग्नेहरु देखिनै छाडेका छन् ।
यहाँका मठमन्दीर प्रवेशमा रोक लगाइएको छ । महामारी र बन्दाबन्दीको मारमा परेका साना–ठूला होटल पाहुनाले भरिभराउ हुँदै थिए । कोरोनाले थलिएर धीमा गतिमा चलेको बागलुङको पर्यटनले लय समात्ने होटल व्यवसायीमा आशा जगाएको थियो । तर, एक महिना नबित्दै पर्यटकको सङ्ख्या ओरालो लागेको छ ।
कोरोना महामारी तीव्र गतिमा फैलिएपछि जिल्लाका पर्यटकीय स्थलहरु पुनः सुनसान हुन थालेका छन् । पोखरा, काठमाडौंलगायतका ठूला सहरमा लगाइएको आंशिक र पूर्ण निषेधाज्ञाको प्रभावले बागलुङका पर्यटकीय स्थलमा असर मात्रै गरेको छैन् बागलुङमै देखिएका संक्रमितका कारण पर्यटन क्षेत्रमा उथलपुथल ल्याएको पर्यटन विकास समितिका अध्यक्ष राजु खड्का बताउनुहुन्छ ।
पछिल्लो साता बागलुङ घुम्न आउने पर्यटकको संख्या ह्वात्तै घटेको खड्काले बताउनुभयो । उहाँका अनुसार फाट्टफुट्ट पर्यटक घुम्न आएका छन् । होटलमा बास बस्ने गरी आउने कमै छन् । ‘नयाँ वर्षमा सोचेभन्दा बढी पर्यटक आएका थिए । त्यतिबेलाको चहलपहल देख्दा सुस्ताएको पर्यटनले लय समात्छ भन्ने आश थियो’, उहाँले भन्नुभयो, “कोरोनाको संक्रमण फेरि देखिन थालेपछि अहिले सुनसान बढ्दै छ ।”
असोजबाट पर्यटन व्यवसाय खुल्न थाल्यो । उत्साहजनक रूपमा पाहुना नआए पनि विस्तारै पाहुना बढ्दो क्रममा थिए । यहाँका यातायात व्यवसायीलाई पनि निकै आशा थियो । महामारीको दोस्रो लहर चलेपछि यातायत क्षेत्रमा समेत ठूलो असर परेको ट्याक्सी व्यवसायी कमल गाउँले बताउनुहुन्छ् ।
“जिल्लामा साना सवारीका लागि यहाँका धार्मिक तथा पर्यटकीय स्थल मुख्य स्रोत हुन्”, उहाँ भन्नुभहुन्छ, “छोटो दुरीका सवारी समेत चल्न छोडेकाले हामी निकै मारमा छौं, दिनभर कुर्दा एक दुई जना यात्रु पाउन मुस्किल छ ।”
योगाभ्यास र गुर्जो खोज्दै सर्वसाधारण
“अम्बाको पात त हामीसँग प्रशस्तै छ नि ! तातोपानीमा हलुका नुन, काँचो बेसार मिसाएर कुल्ला गर्दा त्यसको फाइदा धेरै हुन्छ ”, धौलागिरी आयुर्वेद औषधालयका प्रमुख सरोजकुमार रायले भन्न रासससँग कुरा गर्दै भन्नुभयो, “हामीसँग प्रशस्त जडिबुटी छन्, प्रमाणित औषधि त होइनन् तर प्रतिरक्षात्मक काम गर्छन् भन्ने कुरा प्रयोगले सिद्ध गरेको छ । ”
बेलौंतीको पात खस्रो गुण भएको हुन्छ । कोरोना भाइरसको बासस्थान ¥यालमा हुन्छ । खस्रो गुण भएको बेलांैतीले कुल्ला गर्नाले मुख, नाक वा घाँटीमा भाइरसको बासस्थान रहेका ठाउँहरु नष्ट गर्न सहयोग पुग्ने भएकाले यो उपयोगी रहेको उहाँ जिकिर गर्नुहुन्छ ।
“कुल्ला गर्नु गाइडलाइनले पनि भनेको छ”, उहाँले भन्नुभयो “बासस्थान मास्न सके भाइरसले थप असर गर्दैन ।” आयुर्वेदले शास्त्रीय औषधिहरुको प्रयोग गर्छ । सयौं वर्षदेखि प्रयोगमा रहेका औषधिहरुको खोजी महामारीको समयमा धेरै हुने गरेको दमेक आयुर्वेद औषधालय जैमिनी नगरपालिका २, दमेकका प्रमुख डा. लक्ष्मी प्रसाद शर्माले बताउनुभयो ।
कोरोना फैलिँदै गर्दा बागलुङमा आयुर्वेदिक चिकित्सा विधिमा सर्वसाधारणको चासो बढेको छ । बागलुङ बजार, दमेक, जैमिनीको बेलबगर, काठेखोला गाउँपालिकाको बिहुँ र ढोरपाटन नगरपालिकाको बुर्तिबाङमा रहेको औषधालयमा सर्वसाधारण आयुर्वेदिक औषधि र सल्लाहका लागि पुग्ने गरेका छन् ।
“गुर्जोको निकै प्रचार भयो, खोज्न आउनेहरु धेरै भए”, डा. उहाँ भन्नुहुन्छ “हामीले प्रतिरक्षात्मक क्षमता बढाउने उपाय र औषधिहरु दिने गरेका छौं ।” दमेक आयुर्वेद औषधालयले स्थानीय स्तरमै गुर्जोको खोजी र वितरण समेत गर्ने गरेको छ । जैमिनीका अधिकांश ठाउँमा बस्ती नजिकैका जंगलमा गुर्जो पाइन्छ । शास्त्रीय औषधिलाई विभिन्न २० गुणमा विभाजन गरिएको छ । आयुर्वेदका २० गुणमध्ये रुक्षे गुण भएका औषधिहरुको प्रयोग बढाउँदा भाइरसको संक्रमण रोकथाममा सहयोग पुग्ने शर्मा बताउनुहुन्छ । असोकागन्धा चुर्ण, एसपी मधु, गुर्जोलगायतका औषधिय गुण भएका जडिबुटीहरु औषधालयले उपलव्ध गराउँछन् । यो औषधालयले अन्य रोगहरुका लागि उपयोगी हुने झण्डै १ सय २० प्रकारका शास्त्रीय औषधि उत्पादन समेत गर्ने गरेको छ ।
“पहिलो चरणको महामारीमा हामीले गिलोय चुर्ण र च्यवनप्रास क्वारेण्टिनमा बसेकालाई वितरण गरेका थियौं, हाम्रो नगरमा आइसोलेसनमा बसेकालाई मान्छे गणना गरेरै औषधि उपलव्ध गरायौं”, डा. शर्मा भन्नुहुन्छ “अहिले पनि कार्यालयमा खोज्न आउने र फोनबाट जानकारी लिने धेरै छन् ।” घाँटी खसखस गर्दा वा शंका लागेमा चिकित्सकको सल्लाह लिएर कुल्ला गर्ने विधि अपनाउन उहाँले आग्रह समेत गर्नुभयो ।
सदरमुकाममा रहेको औषधालयले नियमित योगाभ्यास गराउने गरेको थियो । भाइरसको संक्रमणबाट बच्न र संक्रमणपछि शरीरको प्रतिरक्षात्मक क्षमता बढाउन योगले सहयोग गर्ने डा. राय बताउनुहुन्छ । योगमा सर्वसाधारणको चासो भएपनि अहिले औषधालयले भर्चुअल माध्यामबाट योगको अभ्यास गराउन सिकाउने गरेको छ । “हामी बिरामीको साथमै रहेर सहयोग गर्न चाहन्छौं, हरेक दिन बिहान ५ः३० बजे जुम मिटिङ एपमार्फत् चाहना भएकालाई योगाभ्यास गराईरहेका छौं” उहाँले भन्नुभयोे ।