रुपन्देही : कोरोना भाइरस सङ्क्रमण नियन्त्रण तथा सङ्क्रमितको उपचार प्रभावकारी बनाउन लुम्बिनी प्रदेशका स्थानीय तहले आइसोलेशन निर्माणको कामलाई तीव्र बनाएका छन् । प्रदेशका अस्पतालमा अक्सिजन अभावका कारण कोरोना भाइरस सङ्क्रमित बिरामीको उपचारमा समस्या हुन थालेपछि स्थानीय तहले आआफ्ना पालिकामा अक्सिजन सिलिण्डर सहितका आइसोलेशन निर्माण गरेका छन् । प्रदेशमा अहिलेसम्म नौ जिल्लाका पालिकाले ६० आइसोलेशन सेण्टर तयार गरेका छन् । ती आइसोलेशनमा एक हजार ८३ शय्या राखिएका छन् ।
अस्पतालबाहेक रुपन्देहीमा १३, कपिलवस्तुमा सात, दाङमा दश, बाँकेमा १४, गुल्मीमा चार, अर्घाखाँचीमा पाँच, प्युठानमा आठ र रुकुम(पूर्व)मा एक आइसोलेशन सेण्टर सञ्चालनमा छन् । बाँकी जिल्लामा पनि आइसोलेशन निर्माणको तयारी गरिएको छ ।
प्रदेशका आठ जिल्लाका स्थानीय तहका आइसोलेशन सेण्टरमा मात्रै ३४२ सङ्क्रमितको उपचार भइरहेको छ । यीबाहेक प्रदेशमा चार विशेष कोरोना आइसोलेशन अस्पतालसहित १२ आइसोलेशन अस्पताल छन् । प्रदेशमा होम आइसोलेशनमा १४ हजार ४३६ जना कोरोना सङ्क्रमित छन् ।
रुपन्देहीको बुटवल उपमहानगरपालिकाले कोरोना सङ्क्रमण नियन्त्रण र उपचार प्रक्रियालाई प्रभावकारी बनाउ समुदायस्तरमा कोरोना परीक्षण गर्नाका साथै अक्सिजन बैंक सञ्चालन गरेको छ । नगरपालिकाले अहिलेसम्म अस्पतालमा शय्या नपाएका १२९ जनालाई अक्सिजन सिलिण्डरको व्यवस्था गरेको प्रवक्ता रामप्रसाद रेग्मीले जानकारी दिनुभयो । अस्पताल बिरामीले भरिएपछि नगरपालिकामा अक्सिजनको माग धेरै भएको उहाँको भनाइ थियो ।
जिल्ला प्रशासन कार्यालयले अस्पतालका लागि प्राथमिकता दिन ग्यास उद्योगलाई परिपत्र गरेपछि बैंकमा पर्याप्त अक्सिजन नभएको प्रवक्ता रेग्मीले बताउनुभयो । नगरपालिकाले बुटवलको एन्फा एकेडेमीमा आइसोलेशन सेण्टर सञ्चालनमा ल्याएको छ भने वडा नं ११ र १३ का भवनमा थप आइसोलेशन सेण्टर बनाउने तयारी गरेको छ ।
तिलोत्तमा नगरपालिकाले शंकरनगरमा ४० शय्या क्षमताको एक तहको अस्पतालको सुविधा रहेको आइसोलेशन सेन्टर सञ्चालनमा ल्याएको तथा वडा नं. ९ को केवलानीमा थप ६० शय्याको आइसोलेशन सेन्टर बनाउन तयारी थालेको नगर प्रमुख वासुदेव घिमिरेले जानकारी दिनुभयो ।
तिलोत्तमाले कोरोना सङ्क्रमितको उपचारका लागि आइसोलेशन सेन्टरमा पर्याप्त अक्सिजन सिलिण्डरको व्यवस्था मिलाउन अक्सिजन सिलिण्डर सहजीकरण तथा व्यवस्थापन समिति गठन गरेको छ । नगरस्तरीय कोभिड—१९ संकट व्यवस्थापन केन्द्रको बैठकले नगर उपप्रमुख जागेश्वरी चौधरीका संयोजकत्वमा राजनीतिक दल, व्यवसायिक संघसंस्थाका प्रतिनिधि, कर्मचारी सहभागी रहेको समिति गठन गरेको हो ।
नगर प्रमुख घिमिरेका अध्यक्षतामा बसेको सिसिएमसीको सचिवालय बैठकले आइसोलेशन सेन्टरमा पर्याप्त अक्सिजन सिलिण्डरको व्यवस्थापन गर्न नगर क्षेत्रभित्र रहेका उद्योगी, व्यापारी, संघसंगठनलाई संस्थागत हिसाबले अनुरोध गर्ने निर्णय गरेको छ ।
सैनामैना नगरपालिकामा कोरोना भाइरसविरुद्ध कोरोना अस्थायी आइसोलेशन अस्पताल सञ्चालनमा आएको छ । सैनामैना १ स्थित पदमपाणि योग तथा प्राकृतिक चिकित्सालयमा कोरोना विशेष अस्थायी आइसोलेशन अस्पताल निर्माण गरी सञ्चालनमा ल्याइएको नगर उपप्रमुख विना रानाले बताउनुभयो । नगरपालिकाले समुदायस्तरमा समेत कोरोना परीक्षण शुरु गरेको छ । यही वैशाख २७ गतेसम्म्म नगरका सबै वडामा स्वाब संकलन र परीक्षणको काम गरिने नगरपालिकाले जनाएको छ ।
यस्तै देवदह नगरपालिकामा अक्सिजनसहितको २० शय्याको आइसोलेशन सेण्टर सञ्चालन गरिएको छ । देवदह –७ मा रहेको मगर समाजका भवनमा आइसोलेशन सेण्टर सञ्चालन गरिएको नगर उपप्रमुख विद्यालक्ष्मी गुरुङले बताउनुभयो । नगरपालिकाले समस्या देखिएका नगरवासीको निःशुल्क कोरोना परीक्षणसमेत शुरु गरेको उहाँले बताउनुभयो ।
सिद्धार्थ नगरपालिकाले बसपार्कमै आइसोलेशन सेण्टर सञ्चालनमा ल्याएको छ । सेण्टरमा अक्सिजन सिलिण्डर सहितका २० शय्या रहेको नगर उपप्रमुख उमा काफ्लेले जानकारी दिनुभयो । सिद्धार्थ नगरले सङ्क्रमितको मनोबल बढाउन होम आइसोलेशनमा मनोपरामर्श दिने कामसमेत गरिहेको उहाँले बताउनुभयो ।
लुम्बिनी सांस्कृतिक नगरपालिका १० मा अक्सिजन सहितको २० शय्याको आइसोलेशन सञ्चालन गरिएको छ । नगरमा कोरोना सङ्क्रमण देखिएका बिरामीलाई आसोलेशनमा राख्ने र थप समस्या देखिए अस्पताल पठाउने गरिएको नगर प्रमुख मनमोहन चौधरीले जानकारी दिनुभयो । बिरामीको सेवाका लागि दक्ष स्वास्थ्यकर्मी र एउटा एम्बुलेन्सको समेत व्यवस्था गरिएको उहाँको भनाइ थियो । लुम्बिनीले कोरोनाको रोकथामका लागि आइतबारदेखि समुदायस्तरमा कोरोना परीक्षणसमेत गर्न लागेको छ ।
रोेहिणी गाउँपालिकाले पनि कोरोना सङ्क्रमितको उपचारका लागि पाँच शय्याको आइसोलेशन सञ्चालन गरेको छ । रोहिणी–३ मा रहेको धकधई प्राथमिक स्वास्थ्य केन्द्रमा सङ्घीय सरकारको रु १० लाख सहयोगमा आइसोलेशन तथा कोरोना विशेष अस्पताल सञ्चालमा ल्याइएको प्रमुख प्रशासकीय अधिकृत रोमनाथ न्यौपानेले जानकारी दिनुभयो ।
शुद्धोधन गाउँपालिकाले पनि मोतीपुर स्वास्थ्य केन्द्रको स्तरोन्नति गरी पालिकाका नागरिकलाई सेवा दिएको छ । पाँच शय्याको स्वास्थ्य केन्द्रलाई १० मा पु¥याएर कोरोना सङ्क्रमितको उपचारलाई प्रभावकारी बनाउन लागिएको प्रवक्ता राजेन्द्र कँडेलले जानकारी दिनुभयो ।
जुटे दाङका स्थानीय तह
दाङमा कोरोना सङ्क्रमितको संख्या दिनहुँ बढेसँगै स्थानीय तहले अक्सिजनसहितको आइसोलेशन कक्ष निर्माण गर्न थालेका छन् । स्थानीय सरकारले १५ देखि २० शय्यासम्मको आइसोलेशन कक्ष निर्माण गरेका छन् ।
घोराही उपमहानगरपालिकाले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग समन्वय गरेर कोरोना सङ्क्रमितको उपचार थालेको छ । जिल्ला कोरोना संकट व्यवस्थापन समितिको निर्णयअनुसार उपमहानगरपालिकाले अक्सिजनसहितको ४० शय्या बनाउने निर्णयअनुसार प्रतिष्ठानसँगको सहकार्यमा बिरामीको उपचार थालेको हो । प्रतिष्ठानमा अहिले २५ शय्या बनिसकेकोे प्रबन्धक राजेन्द्र न्यौपानेले जानकारी दिनुभयो ।
तुलसीपुर उपमहानगरपालिकाले वडा नम्वर ८ को अस्वारामा ५० शय्या तयार गरेको छ । उपचारका अभावमा कुनै पनि नागरिकले अनाहकमा ज्यान गुमाउन नपरोस् भनेर हेलीप्याड बनाइएको प्रमुख घनश्याम पाण्डेले बताउनुभयो । साथै एम्बुलेन्स सेवाका लागि नौ अटोरिक्सालाई एम्बुलेन्सका रुपमा प्रयोगमा ल्याइएको छ ।
लुम्बिनी प्रदेश सरकारले सञ्चालनमा ल्याएको कोरोना विशेष अस्पताल बेलझुण्डीमा एक सय शय्या सञ्चालनमा आएको छ । अस्पतालका व्यवस्थापक द्रोण ओलीका अनुसार यसअघि ४२ शय्या मात्रै सञ्चालनमा थिए । अहिले थप भएर सय शय्या छन् ।
गढवा गाउँपालिकाले पुरानो गाउँपालिकाको भवनमा २० शय्याकोे आइसोलेशन अस्पताल तयार गरेको छ । सामान्य बिरामीलाई आइसोलेशन सेन्टरमा उपचार गर्ने र जटिल प्रकारका बिरामीलाई देउखुरी क्षेत्रका चार पालिकाले लमही अस्पतालमा अक्सिजनसहितको शय्याको व्यवस्था गरेको हुँदा बिरामीलाई लमही रिफर गर्ने गरिएको गढवा स्वास्थ्य शाखा प्रमुख कैलाशचन्द्र चौधरीले जानकारी दिनुभयो ।
राजपुर गाउँपालिकाले अक्सिजनसहितको २५ शय्याको आइसोलेशन अस्पताल सञ्चालन गरेको छ । पाँच सिलिण्डरसहितको उपचार केन्द्रमा अहिले नौ जनाले उपचार सेवा लिइरहेको राजपुर स्वास्थ्य शाखा प्रमुख कमल रोकायले जानकारी दिनुभयो ।
बंगलाचुली गाउँपालिकाले २५ शय्याको आइसोलेशन सञ्चालनमा ल्याएको छ । गाउँपलिकामा नौ सङ्क्रमितमध्ये दुई जना पालिका बाहिर उपचाररत र अन्य घरमै आइसोलेसशमा रहेको गाउँपलिका उपाध्यक्ष यमुना थापाले जानकारी दिनुभयो ।
बबई गाउँपालिकाले अक्सिजनसहितको ३० शय्याको अस्पताल सञ्चालन गरेको छ । हापुरे प्राथमिक अस्पतालमा सेवा शुरु गरिएको बबई गाउँपालिकाका अध्यक्ष भुवनेश्वर पौडेलले जानकारी दिनुभयो ।
दंगीशरण गाउँपालिकाले १० शय्याको आइसोलेशन सञ्चालनमा ल्याएको छ । श्रीगाउँ प्राथमिक स्वास्थ्य केन्द्रमा आइसोलेशन बनाइएको पालिका अध्यक्ष भागिराम चौधरीले बताउनुभयो । पश्चिम दाङको शान्तिनगर गाउँपालिकाले वडा नं ६ को स्वास्थ्यचौकीमा कोभिड उपचार आइसोलेशन अस्पताल सञ्चालन गरेको छ । २० शय्याको अक्सिजनसहितको उपचार सेवा दिइएको स्वास्थ्य शाखा प्रमुख हरिबहादुर पुन मगरले जानकारी दिनुभयो ।
रामपुरले २५ शय्याको आइसोलेशन बनाउँदै
पाल्पाको रामपुर नगरपालिकाले विभिन्न वडामा १५ तथा रामपुर अस्पतालमा १० गरी २५ शययाको आइसोलेशन कक्ष निर्माण गर्ने भएको छ । रामपुर अस्पतालको समन्वयमा अक्सिजनसहितको १० शययाको आइसोलेशन कक्ष निर्माण गरिने छ । पालिकाका वडा नम्बर १ , ९ र १० नम्बरमा यही वैशाख २६ गतेदेखि सेवा प्रदान गर्ने गरी अक्सिजनसहितको पाँचपाँच शय्याको आइसोलेसन निर्माण गरिने, प्रत्येक हप्ता बुधबार र शनिबार एन्टीजेन तथा पिसिआर परिक्षणका लागि स्वाब सङ्कलन गरिने नगर प्रवक्ता हुमनाथ न्यौपानेले बताउनुभयो ।
नगरपालिकाले कोभिड–१९ सङ्क्रमण भएका नागरिकलाई अस्पतालसम्म पु¥याउन निःशुल्क एम्बुलेन्स सेवा दिने तथा कोभिडको कारण ज्यान गुमाउनेको परिवारलाई रु ३० हजार दिने भएको छ ।
अग्रभागमा काम गर्ने स्वास्थ्यकर्मीलाई नेपाल सरकारले तोकबमोजिमको भत्ता उपलब्ध गराउने तथा सञ्चार, स्वास्थ्य र सुरक्षाकर्मीलाई अक्सिजनसहितको निःशुल्क आइसोलेशन कक्ष निर्माण गरिदिने निर्णय भएको छ । विपद्का समयमा हुने कालोबजारी नियन्त्रणका लागि अनुगमन गरी स्वास्थ्य र खाद्य सामग्री तथा दैनिक उपभोग्य वस्तुमा कालोबजारी गरेको पाइएमा कडा कारवाही गरिने नगर प्रमुख रमणबहादुर थापाले बताउनुभयो ।