मोरङ : प्रदेश नं १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले सरकारले खेलकूदलाई उच्च महत्व दिएको बताउनुभएको छ । प्रदेश नं १ को चर्चित फुटबल प्रतियोगिता ‘विराट गोल्ड कप’को आज साँझ विराटनगरको शहीद रङ्गशालामा आयोजित समापन समारोहमा उहाँले प्रतियोगिताको माध्यमबाट यस क्षेत्रका नयाँ युवापुस्ताका खेलाडीलाई आफ्नो खेल कौशल प्रदर्शन गर्ने अवसर प्राप्त भएकामा खुशी व्यक्त गर्नुभयो । प्रदेश प्रमुख अधिकारीले यस क्षेत्रमा उत्कृष्ट प्रतियोगिता सञ्चालन गरेबाट जनतालाई उत्साह जगाउनका साथै खेलकूदप्रतिको आकर्षण वृद्धि गर्न सहयोग पु¥याएको धारणा राख्नुभयो ।
उहाँले प्रतियोगिता सफल एवं व्यवस्थित बनाउन सबैको सहयोग प्राप्त भएकामा प्रशंसा व्यक्त गर्नुभयो । प्रदेश प्रमुख अधिकारी कोरोना पराजित गर्न आवश्यक सुरक्षा सतर्कता अपनाउन सबैलाई आग्रह गर्नुभयो ।
विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले शहीद रङ्गशालालाई अन्तर्राष्ट्रियस्तरको बनाउन प्रदेश सरकारको सहयोग आवश्यक रहेकामा जोड दिनुभयो । एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पाले यस क्षेत्रमा आगामी दिनमा अन्तर्राष्ट्रिय प्रतियोगिता सञ्चालन गर्ने आश्वासन दिनुभयो ।
विराट गोल्ड कप ट्रष्टका अध्यक्ष सन्तोष बाँनिया, राष्ट्रिय खेलकूद परिषद्का सदस्य हरि खड्का, आयोजक समितिका संयोजक मनोजविक्रम शाहले फुटबलको विकासका लागि प्रदेश र महानगरपालिकाको सहयोगको प्रशंसा गर्नुभयो ।
गत चैत २६ गतेदेखि सञ्चालन भएको प्रतियोगितामा स्वदेश र विदेशका गरी १० क्लबको सहभागिता थियो । प्रतियोगितामा नेपाल पुलिस क्लब, सशस्त्र प्रहरी बलको (एपिएफ), विराटनगर महानगरपालिका–११, मच्छिन्द्र क्लब, गोर्खा ब्वाइज रुपन्देही, सङ्कटा क्लब, भारतको युनाइटेड सिक्किम, पञ्जाब पुलिस, वेष्ट बङ््गाल–११ तथा अफ्रिकन रुट्स एशोसिएशन क्यामरुम टोलीको सहभागिता थियो ।
गोल्डकप विजेता टिमले रु १५ लाख १५ हजार र उपविजेता टिमले रु सात लाख ५१ हजार नगद र आकर्षक शिल्ड प्राप्त गर्ने फुटबल आयोजक समितिका संयोजक मनोजविक्रम शाहले जानकारी दिनुभयो । प्रतियोगिताको सर्वोउत्कृष्ट खेलाडीलाई मोटरसाइकलसहित पदक प्रदान गरिनेछ । प्रतियोगिता प्रत्येक दिन साँझ ६ः३० बजेदेखि सञ्चालन हुँदै आएको थियो । प्रतियोगिता अवलोकनका लागि प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई, सङ्घीय सांसद, प्रदेशसभा सदस्यहरूको सहभागिता छ ।