काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको प्रमुख कर्तव्य नागरिकको जीवन रक्षा गर्नुभएको बताउनुभएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज आयोजित विशेष समारोहमा प्रधानमन्त्री ओलीले देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूको सुख, शान्ति र समृद्धिको कामना गर्दै कोभिड–१९ को महामारीबाट सबैलाई सुरक्षित रहन आग्रह गर्नुभयो ।
“सरकारको नागरिकको जीवन रक्षा गर्नु पहिलो कर्तव्य हो, सरकारका लागि जनताको जीवन पहिलो हो”, प्रधानमन्त्री ओली भन्नुभयो, “जनताको जीवन बचाउन सकियो भने शिक्षालयहरू चल्ने छन्, अर्थतन्त्रभन्दा पनि जीवन पहिलो हो, उद्योग कलकारखाना चल्ने छन् तर नागरिकको जीवन रहेन भने कुनै पनि कुरा चल्न सक्दैन ।” उहाँले नागरिकहरू सुरक्षित रहेमा बाँकी विषय हुँदै जाने बताउनुभयो ।
प्रधानमन्त्री ओलीले जीवन सुरक्षालाई प्राथमिक महत्वमा राखरे काम गरिरहेको र महामारीका कारण तुलनात्मक रूपमा असर परे पनि कम क्षति भएको बताउनुयभो । महामारीका बीचमा पनि कृषिलाई राम्रो र व्यापार घाटाको अन्तर कम गर्न सफल भएको बताउनुभयो ।
“हिंसाको बाटोमा हिँडेकालाई शान्तिपूर्ण धारमा ल्याउने काम गरियो, अब हिंसा गर्ने कुनै समूह छैन”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “अब जनतामा सार्वभौमसत्ता छ, जनता र जनताको मन र अभिमत छ, त्यो नै राजनीतिको निर्धारक तत्व हो, यस सन्दर्भ ठूला सफलताहरू प्राप्त गरेका छौँ ।” उहाँले २०७७ सालमा धेरै सभागृह निर्माण गरेको बताउनुभयो । प्रधानमन्त्री ओलीका अनुसार गतवर्ष लुम्बिनीमा पाँच हजार क्षमताको ध्यानकेन्द्र, गोदावरीमा तीन हजार क्षमताको सभाहल सम्पन्न भएको छ भने अन्य थुप्रै ठाउँमा सभागृहहरू निर्माण भइरहेका छन् ।
जनप्रतिनिधित्वको युगमा आइपुग्दा पनि जनप्रतिनिधि बसेर छलफल गर्ने निर्णय गर्ने थलो संसद् भवन नभएको हुँदा गतवर्ष नै त्यो काम अगाडि बढाएका उहाँले जानकारी दिनुभयो ।
जनतामा आशा जागेको छ
प्रधानमन्त्री ओलीले सरकारले २०७७ सालमा जनतामा आशा जगाउने गरी काम गरेको बताउनुभयो । “जनताको आशा जगाउने काम हामीले गरेका छौँ, भविष्यमा आशा र विश्वास जनाउने काम लगातार ग¥यो”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “प्रतिदिन साढे पाँच किलोमिटर बाटो बनेको छ, एक दिनमा कम्तीमा १२ वटाका दरले आवासहरू तयार भएका छन्, विभिन्न आठ प्रकारका सामाजिक सुरक्षा भत्ता पाउनेको सङ्ख्या ३० लाख ६० हजारभन्दा बढी छ ।” उहाँले महिनाको रु १०० बाट शुरु भएको सामाजिक सुरक्षा भत्ता आज दिनको रु १०० मा पुगेको र आउँदो बजेटमा वृद्धि गरिने जानकारी दिनुभयो । योगदानमा आधारित सामाजिक सुरक्षा २०७५ मङ्सिर ११ गतेबाटै शुरु गरेकोसमेत उहाँले बताउनुयभो ।
दैनिक पुलहरू बनिरहेका र पूर्वदेखि पश्चिमसम्म पुलहरू निर्माण भइरहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले नाकाहरू खोल्नुका साथै मध्यपहाडी राजमार्ग तीव्रतर ढङ्गले बनिरहेको बताउनुभयो । उहाँले मदनभण्डारी राजमार्ग निर्माण तीव्र रहेको, पूर्वपश्चिम राजमार्ग चौडा बनाउने काम भइरहेको र हुलाकी राजमार्ग केही ठाउँमा मात्र निर्माण बाँकी रहेको सुनाउनुभयो ।