सन् २०१९ मा एक लाख २० हजार पर्यटकले तनहुँको पर्यटकीय नगरी बन्दीपुरको भ्रमण गरे । सन् २०२० मा दुई लाख ५० हजार पर्यटक भित्र्याउने लक्ष्य थियो । सरकारले नेपाल भ्रमण वर्ष घोषणा गरेकाले पनि सन् २०२० मा उक्त सङ्ख्यामा पर्यटक भित्र्याउन सम्भव रहेको भन्दै व्यवसायीले तयारी शुरु गरे ।
विश्वव्यापीरुपमा फैलिएको कोभिड–१९ ले नेपाललाई पनि छाडेन । फलस्वरुपः चैत ११ गतेदेखि नेपालमा बन्दाबन्दी शुरु भयो । सन् २०२० मा पर्यटक भित्र्याउने लक्ष्यसहित तयारी शुरु गरेका यहाँका व्यवसायीको लगानी पनि खेर गयो । “जुन लक्ष्यका साथ लागेका थियौँ, कोरोनाले गर्दा लक्ष्य पूरा हुन सकेन”, बन्दीपुरस्थित होटल दरबार हिमालयका सञ्चालक वैश गुरुङले भन्नुभयो, “सन् २०२० लाई भनेर नयाँ होटल निर्माण भइरहेको थियो, व्यवसायीको सपना चकनाचुर भयो ।”
बन्दीपुर पर्यटन विकास समितिका अनुसार सन् २०२० को अवधिमा १५ हजार पर्यटकले मात्रै बन्दीपुर भ्रमण गरेका छन् । समितिका सचिव वसन्त पौडेलले कोरोनाका कारण सबै तयारी खेर गएको बताउनुभयो ।
नयाँ वर्षमा छैन कार्यक्रम
अङ्ग्रेजी नयाँ वर्षका अवसरमा विगत वर्षमा बन्दीपुरमा कार्यक्रम हुने गरे पनि यसपटक भने कार्यक्रम राखिएको छैन । “सबैको सल्लाहबमोजिम विगतका जस्ता स्टेज कार्यक्रम राख्न सकिएन”, होटल व्यवसायी वैश गुरुङले भन्नुभयो ।
नयाँ वर्षको अवसरमा बन्दीपुरमा पर्यटकको बाक्लो चहलपहल हुन्थ्यो । बन्दीपुरमा कोठा नपाएर राति नै फर्किनुपर्ने अवस्था सिर्जना हुने बन्दीपुरमा यस पटक भने आन्तरिक पर्यटक फ्याट्टफुट्ट देखिएका छन् । “नयाँ वर्ष मनाउनका लागि आन्तरिक पर्यटकको चहलपहल ठीकै छ, कतिपय होटलका कोठा दुई÷तीन दिन अगाडिदेखि नै बुकिङ छ”, हिमालय एक्सेस होटलका सञ्चालकसमेत रहनुभएका पर्यटन विकास समितिका सचिव पौडेलले भन्नुभयो ।
बन्दीपुरमा होटल सङ्घसँग आबद्ध साना ठूला गरी ७७ होटल सञ्चालनमा छन् । बन्दीपुरबाट अन्नपूर्ण, माछापुच्छे«, धौलागिरिलगायतका हिमश्रृङ्खला देखिन्छ । भक्तपुरे शैलीमा निर्माण गरिएको घर, टुँडीखेल, थानीमाई, तीनधारा, रानीवन, रामकोट, सुनखरी, खड्देवी मन्दिर, विन्ध्यावासिनी मन्दिर, महालक्ष्मी मन्दिर, सूचना केन्द्रलगायतका स्थल यहाँ आउने पर्यटकको आकर्षणको केन्द्रबिन्दु बन्ने गरेको छ ।