चलचित्रका लेखक तथा निर्देशक ,Ray,s of hope Nepal का सल्लाहकार छेतन गुरुङको आज बुधबार निधन भएको छ ।
गुरुङको बुधबार बिहान २ बजे राजधानीको महाराजगञ्ज स्थित मेट्रो अस्पतालमा उपचारको क्रममा निधन भएको ठमेल पर्यटन बोर्डका उपाध्यक्ष तथा Ray,s of hope Nepal का अध्यक्ष गिता गुरुङले मुग्लानी खबरलाई जानकारी दिएकी छिन।
४२ बर्षका गुरूङ लिभर समस्याका कारण बिरामी थिए भने अचानक स्वास्थ्य समस्या बढेपछि सोमबार गुरुङलाई अस्पताल भर्ना गरिएको थियो ।
दिनेश राउत निर्देशित सन् २०१४ को चलचित्र नोभेम्बर रेनको कथा, पटकथा र संवाद लेखेर उनी चलचित्र क्षेत्रमा भित्रिएका थिए । तत् पश्चात उनले सन् २०१५ को चलचित्र आभाषमा गीत लेख्नुका साथै एक गीतमा संगीत समेत दिएका छन् । गुरुङले चलचित्र क्लासिक, डायरी र ए मेरो हजुर २ लेखेका गुरूङले डमरुको डण्डिबियो को कथा लेखन तथा निर्देशन समेत गरेका थिए । उनले लेखन, निर्देशन गरेको अर्को चलचित्र प्रेमगीत ३ प्रदर्शनको लागि तयारी अवस्थामा छ । पछिल्लो समय छेतन हुतुतु नामक चलचित्रको लेखनमा व्यस्त थिए ।
छेतन गुरुङ मनाङ जिल्लाका उदयमान पहिलो लेखक तथा निर्देशक साथै राइज अफ होप नेपाल का सल्लाहकार हुन। डेब्यु चलचित्र नोभेम्बर रेनबाट नै उत्कृष्ट लेखकका रुपमा आफुलाई उभ्याउन सफल थिए । उनले सोही चलचित्रबाट २०७१ सालको एनएफडिसी राष्ट्रिय चलचित्र पुरस्कारमा उत्कृष्ट लेखकको अवार्ड समेत प्राप्त गरेका थिए।
गुरुङको निधनले चलचित्र क्षेत्रमा ठुलो क्षति पुगेको टुरिजम ठमेलका उपाध्यक्ष साथै Ray,s of hope Nepal का अध्यक्ष गिता गुरुङ लगायत टिमले एक महान अभिभावक गुमाएको बताउदै गहिरो दुख व्यक्त गरेका छन।