दोहा । गैर आवासिय नेपाली संघ (एनआरएनए), राष्ट्रिय समन्वय परिषद् कतार- साहित्य विभागले यहि शुक्रबार साहित्यिक कार्यक्रम आयोजना गरी कोरोना बारे सूचना तथा सन्देश प्रवाह गर्ने भएको छ ।
जुम नामक अनलाइन एप प्रयोग गरी हुने कार्यक्रममा कतारमा रहेका अगुवा, साहित्यकार तथा नेपालमा रहेका साहित्यकार समेतको सहभागीता रहनेछ ।
कतारको समय अनुसार जुन २६ तारिक दिउँसो १ः३० बजेदेखि सुरु हुने गैर आवासिय नेपाली संघ कतारका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानले जानकारी दिनुभएको छ । कार्यक्रमकाे प्रत्यक्ष प्रसारण गैर आवासिय नेपाली संघ (एनआरएनए) कतारकाे फेसबुक पेजबाट लाइभ हेर्न सक्नुहुनेछ । कार्यक्रममा एनआरएनए कतारले कोरोनाको महामारीका बेला कतारमा गरेको उद्धारको कार्य, राहत वितरणको अवस्था लगायत आगामी दिनमा गर्ने कार्यक्रमको बारेमा जानकारी समेत गराइनेछ ।
एनआरएन कतारका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानका अनुसार कोरोना संक्रमणले पुरै विश्वलाई नै ठूलो असर पारिरहेको बेला डिप्रेसन भएर धेरैले आत्महत्या समेत गरेको समाचार बाहिरीन थालेपछि नेपालीहरुमा पनि डिप्रेसनको समस्या देखा परेको बताउनुभयो । उहाँले यस्तो बेलामा सतर्क भएर बस्दा कोरोनाले कसैलाई केही नहुने आत्माविश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा कोरोनाको संक्रमणलाई जितेर आफ्नो काममा फर्किएकाहरुको समेत सहभागीता हुने र उहाँहरुको अनुभव समेत सबैलाई सुनाइने छ ।
सूचना, सन्देश र साहित्य नाम दिइएको कार्यक्रममा साहित्यकारहरुका विभिन्न प्रस्तुतीले सकारात्मक उर्जाका साथ मनोरञ्जन समेत प्रदान गर्ने एनआरएनए कतारले जनाएको छ । जसकालागी नेपालबाट चर्चित कवि मनोज भण्डारी, गजलकार प्रदीप रोदनको सहभागीता रहनेछ ।
त्यस्तै कर्मथलो कतारबाट कवि तिर्थ संगम राई, कवि रुप रसाइली, कवि सिताराम थापा, कवि दिप मिलन त्यस्तै गजलकार प्रेमप्रसाद भट्टराई, गजलकार विन्दा लामा, गजलकार शेखर बस्नेत तथा गजलकार टिका खड्काको सहभागीता रहनेछ ।
एनआरएनए कतारका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमान, नेपाल पत्रकार महासंघ कतारका अध्यक्ष करिम बक्स मिया लगायतले कार्यक्रममा विशेष सम्बोधन गर्ने कार्यक्रम सञ्चालक एनआरएन कतारका साहित्य विभाग उप संयोजक खेम सुवेदीले बताउनुभयो ।