कविताको शीर्षक:नेपाल सरकारलाई पत्र
लेखक: बिन्देश्वर ठाकुर
हेल्लो सरकार!
विश्वको दुई अक्षांस र
देशान्तरमा अवस्थित
यो तेस्रो मूलुकबाट
एक अलपत्र युवाको
नमस्कार सहितको
अभिवादन स्वीकार गर्नुहोस्
अनि स्वीकार गर्नुहोस्
यिनले दिएका योगदान र
त्यागहरु पनि।
सम्झनुहोस् त सरकार!
जसले
आफ्नो शरीरको तातो रगत
मरुभूमीमा सुकाएर
जन्म र कर्मथलोलाई उर्बर बनाए
आफन्त कहाँ दुई गाँस पठाए
समाजलाई भलो चिताए अनि
देशलाई रेमिट्यान्स पठाए
हो हजुर म त्यै देशको एउटा
निवर्तमान रेमिट्यान्स मेशीन हुँ।
याद गर्नुहोस् न सरकार!
जसले
शीरमा सगरमाथा
आँखामा रारा -फेवा
अनि छातिमा
चन्द्र-सूर्य अंकित झण्डा बोकेर
आफ्नै स्वभिमानको खातिर
बर्षौसम्म खाड़ीमा भौतारिए
हो हजुर म त्यै एकजना
कर्मठ नेपाली हुँ।
सम्झनलाई त यो पनि छ सरकार!
मेरै जवानी बेचेर
कति गर्नुभो मन्त्रीमण्डलमा मोज?
मेरै पसीनामा पौडी खेलेर
कतिपल्ट नुहाउनुभो गंगा स्नान?
मेरै श्रमको बली चढाएर
कतिचोटी गर्नुभो विदेशको यात्रा?
भन्नुस् न हजुर, म त
हजुरकै सुख-सुविधाको लागि
काम आउने एक दुरुस्त श्रोत हुँ।
तर अहिले,
कोरोनाको कहरमा तड्पिएर
रोजगारी गुमाइसकेर
विश्वको तेस्रो मूलुकमा फसेर
घरदेश फर्कन मात्र के चाहेको हुँ
कहिले हवाइ टिकटको महंगीले तर्साउछ
कहिले कोरेन्टाइनको फी ले डराउछ
त कहिले सरकारी नितिले होसै उडाउछ
भन्नुहोस् सरकार!
म अलपत्र परेको नेपाली नागरिक
जिन्दगीभर रेमिट्यान्स तिरेको नेपाली नागरिक
भिक्षा मागेर नेपाल फर्कौ कि
अस्तित्व रक्षाका निम्ति
यै देशमा आत्महत्या गरौ???