प्रदेश नं ५ को प्रदेशसभाका सदस्यले कोरोना भाइरसबाट प्रभावित जनतालाई उत्पादनमा जोड्ने गरी बजेट विनियोजन गर्न माग गर्नुभएको छ । प्रदेशसभाको छैटौँ अधिवेशनको सातौँ बैठकमा आज आर्थिक वर्ष २०७७÷७८ को प्रदेश विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै सदस्यले विदेशबाट फर्केका युवालाई केन्द्रमा राखेर कृषिलाई आत्मनिर्भर र उत्पादनमा सुनिश्चिता हुने गरी बजेट निर्माण गर्न माग गर्नुभयो ।
प्रदेशसभा सदस्य कमलराज श्रेष्ठले कोरोनाका कारण कृषिमा आकर्षण बढेकाले युवालाई देशमै रोजगारीको अवसर सिर्जना गर्नुपर्ने बताउनुभयो । सदस्य चेतनारायण आचार्यले कोरोनाका कारण विदेशबाट फर्केका युवालाई स्वरोजगार र उत्पादनसँग जोड्ने गरी विधेयक आएको बताउँदै यही आधारमा बजेटको व्यवस्था गर्न माग गर्नुभयो ।
सदस्य कल्पना पाण्डेले प्रदेशमा भ्रष्टाचार निर्मूल गरी सरकारका काम प्रभावकारी बनाउन परिणाममुखी बजेटमा ध्यान दिनुपर्ने बताउनुभयो । सदस्य हरिप्रसाद रिजालले बजेटमा रोजगारीलाई नै प्राथमिकता दिएर प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो । सदस्य सन्तोषकुमार पाण्डेले कोरोना नियन्त्रणका लागि प्रदेश र स्थानीय सरकार सक्रियताका साथ लाग्नुपर्ने बताउनुभयो । सदस्य इन्द्रजीत थारुले क आधुनिक कृषि प्रणालीलाई बजेटमा प्राथमिकता दिएर अघि बढ्न सरकारलाई आग्रह गर्नुभयो ।
सदस्य भोजप्रसाद श्रेष्ठले आत्मनिर्भर प्रदेश निर्माणका लागि कृषि, स्वास्थ्य, शिक्षासँगै अन्य क्षेत्रको विकास आवश्यक रहेको विचार राख्नुभयो । यसैगरी प्रदेशसभा सदस्य फकरुद्दिन खान, दीपेन्द्रप्रसाद अधिकारी, तारा जिसी, सुरेन्द्रबहादुर हमाल, निर्मला क्षेत्री, खड्कबहादुर खत्री, कृष्णध्वज खडकालगायतले विधेयकका विषयमा बोल्नुभएको थियो ।
बैठकमा विनियोजन विधेयकमाथि सदस्यले उठाएका विषयको जवाफ दिँदै मुख्यमन्त्री शंकर पोखरेलले देशका युवा बाहिर जाँदा जमीन बाँझै रहे पनि पुःन हराभरा गराउन सकिने सम्भावना रहेको बताउनुभयो । मुख्यमन्त्री पोखरेलले कृषिमा परम्परागत प्रणाली प्रयोग गर्न नयाँ पुस्ता तयार नभएकाले आधुनिक उपकरण भित्र्या आवश्यक रहेको बताउनुभयो । “गएको वर्ष कृषिमा उल्लेख्य रकम खर्च गर्न सक्यौँ तर यस वर्ष अनुदानमा भएको अनावश्यक हल्लाले कम खर्च भएको छ”, उहाँले भन्नुभयो, कृषि अनुदानमा भ्रष्टाचार भयो भनेर हल्ला बाहिर आउँदा बजेट खर्च कम भयो जसले गर्दा किसानकोमा जानुपर्ने रकम जान सकेन ।”