जिल्लाको लालबन्दी नगरपालिका–१ नवलपुरस्थित उष्ण प्रदेशीय बागवानी केन्द्रको लिची लकडाउनका कारण हालसम्म ठेक्का लाग्न सकेको छैन । केन्द्रले प्रथमपटक रु १४ लाख १० हजार ३०२ मूल्य राखेर बढीबढाउ प्रक्रियामा गत २४ वैशाखमा १५ दिने सूचना जारी गरेको थियो । सो अवधिमा आवेदन नपरेपछि केन्द्रले फेरि दोस्रोपटक सूचना जारी गरेको छ ।
सूचनामा केन्द्रले ठेक्का मूल्य करिब आधाले घटाएको छ । यसपटक ठेक्का मूल्य रु सात लाख ९२ हजार ८१८ मात्र कायम गरेको केन्द्रका प्रमुख डा रवीन्द्रनाथ चौबेले जानकारी दिनुभयो । गत वर्ष करिब रु २२ लाखमा ठेक्का लागेको थियो । सवारी साधनको आवतजावतमा रोक तथा बजार बन्द रहेका कारण आवेदन पर्ने सम्भावना न्यून रहेको केन्द्रले जनाएको छ ।
बजार तथा यातायातका साधन नखुल्ने भएपछि लिची बिक्री–वितरण गर्न नसकिने भएकाले पनि ठेक्का आवेदन नपरेको हुनसक्ने केन्द्रका प्रमुख उहाँले बताउनुभयो । “ठेक्का लिएर पनि लकडाउनले गर्दा व्यापारीलाई बिक्री गर्न समस्या छ, समयमै बिक्री गर्न सकिएन भने ठेक्का डुब्ने डरले पनि कसैले ठेक्का नहालेको हुनसक्छन्”, उहाँले भन्नुभयो ।
बगैँचामा लिची पाक्न शुरु भएको दुई हप्ताभित्रमा ठेक्का र बिक्री सम्पन्न गर्नुपर्ने बाध्यता रहेको छ । “पाकेको लिची बोटमा धेरै दिन राख्न सकिँदैन । समयमै टिप्न भ्याइएन भने कुहिएर झर्छ, ठेक्का आह्वान गरेको पनि दोस्रोपटक भइसक्यो, कुनै ठेकेदारले ठेक्का हालेका छैनन्”, उहाँले भन्नुभयो । पन्ध्र बिघा क्षेत्रफल बगैँचामा १६ देखि २० लाख दाना लिची फलेको केन्द्रको अनुमान छ ।
त्यसैगरी केन्द्रले बगैँचामा रहेको आँपको ठेक्काका लागि १५ दिने बोलपत्र आह्वान गरेको छ । आँपमा पनि केन्द्रले गत वर्षभन्दा आधाले मूल्य घटाएर ठेक्का आह्वान गरेको हो । आँपको उत्पादन वृद्धि भए पनि लकडाउनका कारण बिक्री नहुने देखिएकाले केन्द्रले गत वर्षको भन्दा आधाले मूल्य कम गरेको जनाएको छ ।
यस वर्ष आँपको न्यूनतम ठेक्का मूल्य रु १० लाख ११ हजार ५६० तोकिएको उहाँले बताउनुभयो । केन्द्रले १२० बिघा क्षेत्रफलमा आँप उत्पादन गर्दै आएको छ । यो बागवानी दक्षिण एशियाकै ठूलो बागवानी केन्द्रका रूपमा परिचित रहेको छ । तर यस वर्ष गत वर्षको तुलनामा लिची तथा आँप कम फलेको केन्द्रले बताएको छ ।