नेपालगञ्जस्थित भेरी अस्पतालमा बहिरङ्ग सेवा आंशिकरुपमा सञ्चालनमा आएको छ । कोभिड–१९ सङक्रमण रोकथाम तथा नियन्त्रणको केन्द्र बनेको भेरीमा झण्डै दुई महिनापछि सो सेवा सञ्चालनमा आएको हो । अस्पतालद्वारा जारी सूचनानुसार अन्य आकस्मिक सेवाबाहेक बहिरङ्ग सेवा आंशिकरुपमा सञ्चालनमा आएको छ ।
आकष्मिक, ज्वरो क्लिनिक, प्रसूति सेवा तथा अन्य आकस्मिक सेवाबाहेक अन्य नियमित बहिरङ्ग सेवा सञ्चालन गर्न लागिएको हो । दैनिक सयौंँ बिरामीको सेवा गर्दै आएको भेरीमा सञ्चालनमा आएको बहिरङ्ग सेवा शुरुमा ४० जनालाई मात्र दिन लागिएको सूचनामा उल्लेख छ । अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा प्रकाशबहादुर थापाका अनुसार हाल प्रत्येक ओपिडीमा प्रतिदिन नयाँ ३० र फलोअपका १० नबढ्ने गरी सेवा प्रवाह गरिनेछ । कोरोना भाइरस सङ्क्रमणको जोखिम कम गर्दै सेवा प्रवाहित गर्नुपरेकाले आवश्यक सतर्कतासहित आंशिक सेवा सञ्चालन गरिएको उहाँले बताउनुभयो ।
भीडभाड कम गर्न विशेष सतर्कता अपनाइएको मेसु डा थापाले जानकारी दिनुभयो । उहाँका अनुसार अन्य सेवा पनि विस्तार गर्दै लैजाने योजना छ । टिकट काट्न घण्टौंँ काउन्टरमा लाइन लाग्नुपर्ने अवस्थाको अन्त्य गर्न इ–टिकेटिङ्ग सेवा शुरु गर्न लागिएको अस्पतालका वरिष्ठ चिकित्सक डा बद्री चापागाईंले जानकारी दिनुभयो ।
भारतीयसहित क्वारेन्टाइन बस्ने बढ्दै
लुम्बिनी– रुपन्देहीका विभिन्न पालिकामा निर्माण भएका ६१ क्वारेन्टिनमा अहिलेसम्म ८८ भारतीयसहित दुई हजार ६५२ जना छन् । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले ती क्वारेन्टिनमा सरकारी मापदण्डानुसार विदेशबाट आएका तथा कोरोना पोजिटिभको सम्पर्कमा आएकाहरुलाई राखिएको हो । जिल्लाको नीमा प्रतिमान कलेज भैरहवाको क्वारेन्टिनमा ८८ भारतीय छन् भने बाँकी ६० क्वारेन्टाइनमा नेपाली छन् ।
भारतबाट फर्किएका प्रवासीको कारण जिल्लाका सबै क्वारेन्टिन भरिने निश्चित देखिएको छ । रुपन्देहीका टोलटोलमा क्वारेन्टाइन बनाउनुपर्ने देखिन्छ । यसै हप्ता मात्रै बेलहिया नाकाबाट आएका एक हजार २०९ प्रवासीलाई जिल्लाका विभिन्न क्वारेन्टाइनमा राखिएको छ । रुपन्देहीमा अहिलेसम्म स्वाब परीक्षण ६६९ जनाको भएको छ । तीमध्ये ५९२ को परिणाम आएकामा २८ जनामा पोजेटिभ देखिएको छ ।
जिल्लामा बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालअन्तर्गतको कोरोना विशेष अस्पाताल र भैरहवाको भीम अस्पतालअन्तर्गतको कोरोना विशेष अस्पतालमा ५८ जनाको उपचार भइरहेको छ । त्यसमध्ये मर्चवारको पहिलो सङ्क्रमित एक जना पूर्ण रुपमा निको भएर फर्किसकेका छन् ।
तथ्याङ्क सङ्कलन गर्दै स्थानीय तह
प्युठान– यहाँका स्थानीय तहले भारत र तेस्रो मुलुकमा रहेकाहरुको तथ्याङ्क संकलन गर्न थालेका छन् । महिला स्वास्थ्य स्वयंसेविका, स्वयंसेवक, जनप्रतिनिधि र स्वास्थ्यकर्मी परिचालन गरेर स्थानीय तहले भारतसहित तेस्रो मुलुकमा भएका नागरिकको तथ्याङ्क संकलन गरेका हुन् । सम्पर्कमा आएमा गाउँपालिकाले नै ल्याउने माण्डवी गाउँपालिकाका अध्यक्ष श्रीधर रोकाले जानकारी दिनुभयो । हालसम्म विश्वका करीब ३६ देशमा करीब ३८ हजार प्युठानी रहेको स्थानीय तहले संकलन गरेको तथ्याङ्कले देखाएको छ ।
प्युठानबाट भारतसंँगै युएई, कतार, कुवेत, बहराइन, ओमान, दक्षिण कोरिया, अष्ट्रेलिया, जापान, अफगानिस्तान, क्यानडा, नर्वे, बेलायत, पोर्तुगल, डेनमार्क, साइप्रस, इराकलगायत तीन दर्जनभन्दा बढी मुलुकमा पुगेको पाइएको सरुमारानी गाउँपालिकाका अध्यक्ष झगबहादुर विश्वकर्माले जानकारी दिनुभयो ।
भारतबाट आएका ३७ क्वारेन्टाइनमा
झिमरुक– भारतबाट कृष्णनगर नाका हुँदै नेपाल भित्रनु भएकालाई प्युठानका स्थानीय तहले पालिका क्षेत्रका क्वारेन्टाइनमा राखेका छन् । माण्डवी गाउँपालिकाले वडा नं ५ का १५ र वडा नं २ का १७ जनालाई वडा नं ३ माण्डवी माध्यमिक विद्यालयको क्वारेन्टिनमा राखेको अध्यक्ष श्रीधर रोकाले जानकारी दिनुभयो । कपिलवस्तु विजयनगर गाउँपालिकाका अध्यक्ष गोपाल थापाको समन्वयमा भालुवाङसम्म सवारी साधन पठाएर पालिका क्षेत्रमा ल्याई उनीहरुलाई क्वारेन्टाइनमा राखिएको अध्यक्ष रोकाको भनाइ छ ।
माण्डवी गाउँपालिकाले भारतका विभिन्न मुलुकबाट नेपालसम्म आएका व्यक्तिलाई आपसी समझदारी गरेर ल्याउने र क्वारेन्टिनमा बसाल्ने योजना बनाएको पालिकाका स्वास्थ्य शाखा प्रमुख धु्रवकुमार पोख्रेलले बताउनुभयो । ऐरावती गाउँपालिकाले पनि भारतका विभिन्न ठाउँबाट कपिलवस्तुको सिमानामा आएका १२ जनालाई ल्याएको छ ।
दुई जना नगरपालिकाको क्वारेन्टिनमा बसे पनि १० जना पालिकाले बनाएको विभिन्न क्वारेन्टिनमा राखिएको गाउँपालिकाका अध्यक्ष नबीलविक्रम शाहले बताउनुभयो । त्यस्तै ऐरावती क्षेत्रका २३ व्यक्ति कपिलवस्तु क्षेत्रमा आएकाले पालिका क्षेत्रमा ल्याउनका लागि आपसी समझदारी भइरहेको अध्यक्ष शाहको भनाइ छ ।
आज बिहानसम्म जिल्लामा ३७ व्यक्ति भारतबाट आएका छन् । सोअनुसार माण्डवीका १७, ऐरावती गाउँपालिकाका १२, मल्लरानी गाउँपालिकाका तीन, प्युठान नगरपालिकाका तीन र झिमरुक गाउँपालिका दुई जना भारतका विभिन्न ठाउँबाट नेपाल आएपछि जिल्ला प्रशासन कार्यालयको समन्वयमा पालिका क्षेत्रका क्वारेन्टिनमा छन् ।