पाल्पाको रामपुरमा साइलेज उत्पादन थालिएको छ । बन्दाबन्दीको समय लम्बिँदै गएपछि बन्द उद्योग पुनः शुरु गरिएको छ । पोषणतत्व कायमै रहने गरी हरियो घाँसलाई सुकाएर राख्ने प्रविधिले बाह्रैमास हरियो घाँस पशुलाई उपलब्ध गराउन सहयोग पुग्नेछ । पशु आहारका लागि राम्रो मानिने साइलेज जिल्लाको रामपुर नगरपालिकामा उद्योग नै सञ्चालन गरी उत्पादन थालिएको हो ।
साइलेज पशुलाई खुवाएमा दूध उत्पादन वृद्धि हुने र पशुको नश्ल सुधार हुन्छ । दैनिक दुई किलो साइलेज पराल र दानापानीमा मिलाएर पशुलाई खुवाउन सकिन्छ । एक हप्तादेखि यहाँ उद्योग सञ्चालन भएपछि दैनिक सातदेखि दश स्थानीय कामदारले रोजगारी पाएका छन् । मकै काट्ने, बोक्ने, यन्त्रमा राख्ने र उत्पादित साइलेज भण्डारण गर्ने काम पाएपछि स्थानीय कामदार उत्साहित भएका छन् ।
साइलेज बनाउन मकैको बोट तयार भएकाले बन्दाबन्दीमा पनि उद्योग सञ्चालन गरिएको सञ्चालक रामप्रसाद पोखरेल बताउनुहुन्छ । कोरनाको कहरले वैदेशिक रोजगारीबाट गाउँ फर्कनुभएका कालिका गुरुङ अहिले गाउँकै उद्योगमा काम गर्न पाउँदा खुशी हुनुहुन्छ । उहाँ भन्नुहुन्छ, “कोरोनाले विश्वलाई नै आक्रान्त बनायो, अब विदेशतिरभन्दा गाउँमै रहेका उद्योगधन्दामा काम गर्न ठीक हुन्छ ।”
रामपुरस्थित विभिन्न क्षेत्रमा काम गरेर जीवन धान्ने रिमाकान्ती सोमैले बन्दाबन्दीपछि घरमै बेरोजगार हुनुभएकामा अहिले गाउँमै उद्योग सञ्चालन हुँदा बिहानदेखि साँझसम्म दैनिक आठ घण्टा काम गर्ने अवसर पाउनुभएको छ । उहाँ उद्योगमा मकै काट्ने, बोक्नेलगायत काम गरेबापत एक घण्टाको रु ७५ ज्याला बुझ्नुहुन्छ ।
एक हप्तामा यहाँ करीब २० टन साइलेज उत्पादन भइसकेको छ । दुई सय ५० रोपनी जग्गा भाडामा लिएर लगाइएको मकैबाट यस पटक करीब २५० टन साइलेज उत्पादन गरिने छ । यसअघि दुई पटक उत्पादित करीब ८० टन साइलेज सदरमुकाम तानसेन, रुपन्देही, कास्की, स्याङ्गजा, तनहुँलगायत जिल्लाका शहरमा खपत भइसकेको छ । प्रतिकिलो रु १२ मा उद्योगबाटै बेच्ने गरिएको छ । जिल्लामै पहिलो पटक रामपुरमा साइलेज उद्योग एक वर्ष अघिदेखि सञ्चालनमा आएको हो ।
प्रदेश नं ५ भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय पशुपक्षी तथा मत्स्य विकास निर्देशनालयको रु २५ लाख र कामधेनु गाईफार्मको रु २५ लाख लगानीमा साइलेज उत्पादन शुरु गरिएको हो । सो उद्योगमा हालसम्म करीब रु एक करोड लगानी परेको छ । रामपुरमा नै साइलेज उत्पादन हुन थालेपछि पशु आहारा आपूर्तिका लागि सहज भएको अगुवा भँैसीपालक कृषक कृष्णकुमार अर्याल बताउनुहुन्छ ।
अर्याल यसअघि आफ्नै ढुवानीमा प्रतिकिलो रु १५ मा भारतको पञ्जाबबाट साइलेज खरीद गरेर पशुुलाई खुवाउने गर्नुहुन्थ्यो । अहिले गाउँमै कम मूल्यमा गुणस्तरीय साइलेज खरीद गर्न पाउँदा आर्थिक भार कम परेको उहाँको भनाइ छ । साइलेज उत्पादन शुरु गर्न थालिएपछि अब यस क्षेत्रमा बाँझिएका जग्गा सदुपयोगमा आउन थालेका छन् । साइलेजको माग स्थानीयभन्दा बाहिरी जिल्लामा बढ्दो रहेको सञ्चालक वेदप्रसाद बञ्जाडे बताउनुहुन्छ ।
आर्थिक वर्ष २०७५÷०७६ मा प्रदेश सरकारले रुपन्देहीको तिलोत्तमा नगरपालिकामा सञ्चालित उत्तम साइलेज उद्योग, देवदह नगरपालिकामा सञ्चालित शुभारम्भ एकीकृत कृषिफार्म र पाल्पाको कामधेनु गाईफार्मलाई रु २५÷२५ लाख गरी रु ७५ लाख अनुदान उपलब्ध गराएको थियो । प्रदेशका १२ जिल्लामै सानासाना यन्त्रबाट साइलेज उत्पादन गरिँदै आए पनि ठूलो उद्योगका रुपमा भने रुपन्देही र पाल्पामा मात्र शुरु भएको छ ।