विगतका वर्षमा मौसम परिवर्तन हुँदा यहाँका स्वास्थ्य संस्थामा बिरामीको भीड लाग्थ्यो । स–साना बालबालिकादेखि वृद्धासम्म सुकसुकाउँदै स्वास्थ्य संस्थामा आउँथे । तर यो वर्ष जिल्लाका कुनै पनि स्वास्थ्य संस्थामा गम्भीर प्रकृतिको ज्वरोका बिरामी आएका छैनन् ।
“दिनमै ५०÷६० बच्चाको ज्वरो जाँचेर औषधि चलाउँथे तर यो पटक दैनिक मुस्किलले पाँच–सात जना आउँछन्”, बागलुङ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामप्रसाद खनालले भन्नुभयो, “जाँचका लागि आउने बच्चाहरुमा ज्वरो कमै छ, अरु सामान्य समस्या देखिन्छन् ।” ज्वरो र रुघाखोकीका बिरामीले स्वास्थ्य संस्था भरिभराउ हुने समय हो यो । गर्मी मौसम शुरु भएसँगै बरेङ गाउँपालिका र जैमिनी नगरपालिकाको स्वास्थ्य शाखा तयारी अवस्थामा थियो भने बागलुङ नगरले औषधिको उपलब्धता खोज्दै थियो ।
रुघाखोकी र ज्वरोजस्ता मौसमी समस्या भएर पनि सर्वसाधारण स्वास्थ्य संस्थामा नआएका भने होइनन् । जिल्लामै रहेर लामो समय काम गरेका स्वास्थयकर्मीको लागि यो वर्षको गर्मी मौसम आश्चर्यको विषय बन्यो । “हाम्रो स्वास्थ्य संस्थामा बिरामीको चाप छैन, स्वास्थ्य स्वयंसेविकाहरुले गर्नुभएको रिपोटिङमा गाउँका कसैलाई ज्वरो आएको छैन”, बरेङ गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख पदमबहादुर पुनले भन्नुभयोे, “मौसम परिवर्तन हुँदा पनि बिरामी नआउँदा नौलो लाग्यो ।”
कोरोना भाइरसबाट बच्न सावधानी अपनाउन भइरहेको प्रचारप्रसारले यस वर्ष बागलुङमा ज्वरो र रुघाखोकीका बिरामी कम छन् । बन्द रहेका विद्यालय, सार्वजनिक स्थान, यातायात तथा धेरै मान्छेको जमघट कम हुनुले पनि सरुवा रोग ज्वरोका बिरामी घटेको जैमिनी नगरपालिका–९ पैञ्युथन्थाप स्वास्थ्य चौकीका प्रमुख लक्ष्मी शर्माले बताउनुभयो ।
“विद्यालय जाँदा बालबालिकामा रुघाखोकी एकअर्कामा सर्ने गरेको थियो, विद्यालय बन्द हुँदा त्यो सम्भावना रहेन”, शर्माले भन्नुभयो, “कमजोर स्वास्थ्य अवस्था भएकाहरुमा एकाध देखापरेको भए पनि सरेको देखिएन ।” कोरोनाबाट बच्न नियमित हात हुने, राम्रोसँग पकाएको खाने, हात नमिलाउने र सामाजिक दूरी कायम गर्नेबारे भइरहेको प्रचारलाई सर्वसाधारणले प्रयोगमा ल्याएका छन् ।
नियमित सरसफाइकै कारण रुघाखोकी र ज्वरोको सङ्क्रमणसमेत नियन्त्रणमा रहेको जैमिनी नगरका स्वास्थ्य शाखा प्रमुख गोविन्द आचार्यले बताउनुभयो । कोरोनाका मिल्दाजुल्दा लक्षणहरु मौसमी रुघाखोकीमा देखिने भए पनि त्यो खालका समस्या जिल्लामा नरहेको स्वास्थ्य कार्यालय बागलुङका सूचना अधिकारी घनश्याम सापकोटाले बताउनुभयो । “यो बेला मौसमी ज्वरो आएको भए पनि हल्ला ठूलै हुन्थ्यो तर कहीँकतैबाट त्यो खालको सूचना आएको छैन”, उहाँले भन्नुभयो, “कोरोनाका कारण परेको यो सकरात्मक प्रभाव हो ।”
नियमित सरसफाइमा ध्यान दिँदा मात्रै मौसमी सरुवा रोगहरुबाट बच्न सकिने पाठ कोरोनाले सिकाएको स्वास्थ्यकर्मी बताउँछन् । कोरोनाको सङ्क्रमण नियन्त्रण र रोकथामका लागि तयारीमा रहेका स्वास्थ्य संस्थालाई मौसिमी रोगका बिरामी नआउँदा समय दिन सहज भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
लघुजलविद्युतले दियो एक महिनाको महसुल छुट लकडाउनको समयमा समस्यामा परेका लाभग्राहीका लागि यहाँको एक लघुजलविद्युत् परियोजनाले विद्युत महसुल छुट दिएको छ । बागलुङको गलकोट नगरपालिका–१ काफलठुटामा रहेको गौदीखोला दोस्रो लघुजलविद्युत् परियोजनाले आफ्ना लाभग्राहीलाई एक महिनाको महसुल छुट दिएको हो । परियोजनाले चैत महिनाको कुनै पनि शुल्क आफ्ना ग्राहकले तिर्नु नपर्ने निणर्य गरेको छ ।
आफ्ना लाभग्राहीलाई राहतस्वरुप एक महिनाको विद्युत् महसुल छुट गर्ने निर्णयमा पुगेको परियोजना उपभोक्ता समितिका पूर्वअध्यक्ष हिराबहादुर काउचाले बताउनुभयो ।यो परियोजनाबाट काफलठुटा आसपासका १७२ परिवारले विद्युत् उपभोग गर्दै आएका छन् । महसुल छुट गरेको परियोजनाले उपभोक्तालाई एक दिन श्रमदान गर्न भनेको छ । विद्युत् परियोजनाको नहर मर्मतका लागि सबै उपभोक्तालाई श्रमदानका लागि आग्रह गरिएको काउचाले बताउनुभयो ।