अघिल्ला वर्षका वैशाख–जेठमा विवाहका कपडा सिलाउन व्यस्त भएका टेलरिङ व्यवसायी यसपालि कामबिहीन भएका छन् ।
बागलुङ बजारको हल्लनचोकका टेलरिङ व्यवसायी सुजन परियार लगनको महिनामा न त राम्रोसँग खान र सुत्न पाउँनुहुन्थ्यो । अझ वैशाख, जेठका लगन त झन् छोप्नै गाह्रो हुन्थ्यो । विवाहका लुगा सिलाउन आउनेदेखि नयाँ शैक्षिकसत्र शुरु भएसँगै विद्यालय पोशाकको चापले परियारलाई उठिखाऊँ कि बसीखाऊँको अवस्था हुन्थ्यो । उहाँसँगै काम गर्ने टेलरिङका मजदुरको अवस्था पनि उस्तै । काम चल्थ्यो र त कमाइ हुन्थ्यो । यो वर्षको शुरुकै लगनको महिना उनीहरुका लागि खेर गयो । विद्यालय बन्द रहेकाले शैक्षिकसत्र त केही ढिलो भए पनि शुरु होला तर वैशाख जेठमा हुने विवाह टरेकाले उनीहरुको आम्दानी लकडाउनले सक्यो ।
लकडाउनका कारण यो वर्षको वैशाखमा बागलुङमा बैदिक विवाह निकै कम भएका छन् । अत्यावश्यक मानिएका बाहेक रोक्न मिल्ने र लगन सारेर गर्न मिल्ने विवाह यो वैशाखमा भएनन् ।
“मङ्सिरमा पनि बिहे त होलान् तर अहिलेका बिहे खप्टिएर आउँदा के फाइदा होला र”, सुजन भन्नुहुन्छ, “वर्षभरि घरभाडा तिर्न पुग्ने कमाउने महिना हो तर आफँै सुतेर समय बिताएको छु ।” कोरोना भाइरस लक्षित लकडाउनको प्रत्यक्ष प्रभाव सिलाइ व्यवसायीमा परेको हो । हिजो काम गरेर ज्यालामा दैनिकी चलाएका मजदुरहरु आज सहकारीले दिएको ऋणकै भरमा गुजारा चलाएर बसेको परियार बताउनुहुन्छ । “श्रमिकको त बिचल्ली भएको छ, बजारमा महङ्गो घरभाडा तिरेर महङ्गो खाद्यान्न खाएर बसेका छन्”, परियार भन्नुहुन्छ, “अरु केही काम गरौँ भने पनि केही छैन ।”
मजदुरमात्रै होइन सञ्चित सम्पत्ति नभएका व्यवसायीलाई नै दैनिक कारोवार चलाउन कठिन भइरहेको अर्का व्यवसायी मीनकुमार दर्नाल बताउनुहुन्छ । “घरभाडा तिर्नैप¥यो, व्यवसाय गर्दा लिएको ऋणको व्याज बढ्दै छ”, दर्नालले भन्नुभयो, “मजदुर र साहु सबैको बिल्लीबाठ हुने भो ।” सिजनको काम धेरै चल्ने टेलरिङ व्यवसायले अरु महिनाभन्दा विद्यालय र विवाहका पोशाक बनाउने महिनामा धेरै आम्दानी गर्छन् ।
“यहाँ व्यवसाय गर्ने अधिकांश आफैँ पनि मजदुर हुन्, ऋणमा चलाएको व्यवसायमा अरु केही साथीहरु मिलेर काम हुन्थ्यो”, अर्का व्यवसायी धनबहादुर परियारले भन्नुभयो, “को मालिकको श्रमिक सबैलाई समस्या छ ।” बागलुङ बजारमा करिब ८० वटा सानाठूला टेलरिङ सेन्टर सञ्चालनमा छन् । व्यवसायिकरूपमा सञ्चालनमा आएकादेखि स्वरोजगारका लागि चलेका टेलरिङको क्षेत्रमा २५० भन्दा बढीले रोजगारी पाएका छन् ।
बजार बाहिरका पालिका मुकामका टेलरिङसमेत अहिले ठप्प छन् । उनीहरु के–कति स्वरोजगारीमा छन् भन्ने तथ्याङ्क छैन । ग्रामीण क्षेत्रमा छिटफुटरूपमा रहेको बालीघरे प्रथासमेत लकडाउनको कारण सङ्कटमा परेको छ । कल बोकेर घरघरमै सेवा दिने बालिघरे प्रथा कोरोना त्रासको कारण समस्या परेको व्यवसायी बताउँछन् । सिजन गुमाएको व्यवसायलाई सबै तहका सरकारले राहतको कार्यक्रम ल्याउनुपर्ने उनीहरुको माग छ ।
हिमालपारि ‘फाइबर टु द होम’ सेवा
नेपाल टेलिकमले हिमालपारिको जिल्ला मुस्ताङमा उच्चगतिको डाटा तथा भ्वाइस सेवा दिन शुरु गरेको छ । लकडाउनकै समयमा मुस्ताङमा अप्टिकल फाइबरमा आधारित ‘फाइबर टु द होम’ सेवा शुरु भएको हो । लकडाउनको समयमा मुस्ताङ जिल्ला प्रवेशमा लगाइएको रोकका बाबजुद नेपाल टेलिकम दूरसञ्चार कार्यालय बागलुङको प्राविधिक समूहले जोमसोम पुगेर काम थालेको थियो । दूरसञ्चार कार्यालय बागलुङका प्रमुख केशव शर्माले गत सातादेखि शुरु भएको फाइबर तार विस्तारको काम सकिएको बताउनुभयो ।
साविकको धवलागिरि अञ्चलका बागलुङ, पर्वत र म्याग्दीमा यो सेवा यसअघि नै सञ्चालन भइसकेको थियो । कार्यालय प्रमुख शर्मा नेतृत्वमा बागलुङबाट चार प्राविधिक र मुस्ताङ कार्यालयमा रहेका थप चार जना प्राविधिकले जोमसोम र ठिनीगाउँमा रहेको झण्डै नौ किलोमिटर दूरीमा फाइबर विस्तार गर्नुभएको थियो । फाइबरको मुख्य लाइन विस्तारको काम सकिएको र आगामी जेठदेखि ग्राहकका लागि डिभाइस र लाइन वितरणको काम थालिने शर्माले बताउनुभयो ।
स्थानीय प्रशासन, स्थानीय तह र सरोकारवालासँगको छलफलपछि मुस्ताङ पुगेको प्राविधिक समूहले काम थालेको थियो । तत्कालका लागि मुस्ताङका ४०० ग्राहकले फाइबर टु दि होम सेवा प्रयोग गर्न पाउने शर्माले बताउनुभयो । तामाको तारमा प्रावह भइरहेको डाटा तथा भ्वाइस भरपर्दो र कम गतिको भएको गुनासो आइरहेकाले लकडाउनको प्रवाह नगरी मुस्ताङमा काम गरिएको शर्माले बताउनुभयो ।
मुस्ताङका सरकारी तथा गैरसरकारी कार्यालय र होटल व्यवसाय उच्चगतिको इन्टरनेट प्रयोग गर्न नपाएका कारण सबैभन्दा धेरै मर्कामा थिए । फाइबरबाट आठ एबिपीएस गतिको इन्टरनेट सुपथ मूल्यमा उपलब्ध हुने भएकाले उपभोक्ताको गुनासो कम हुने टेलिकमले जनाएको छ । टेलिकम बागलुङका सुपरभाइजर केशव सापकोटा न्यूनतम रु ८०० प्रतिमहिना खर्च आउने यो प्याकेजबाहेक अझै उच्च क्षमताको इन्टरनेट उपभोक्ताको मागको आधारमा उपलब्ध गराउन सकिने बताउनुहुन्छ ।